coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लकडाउनमै मदन भण्डारी लोकमार्ग को काम सुचारु

असारभित्रै गाईघाट कालोपत्रे भईसक्ने

लकडाउनले रोकिएको मदन भण्डारी लोकमार्गको गाईघाटमा काम सुचारु गर्दै मजदुर । तस्बिर : महेश्वर/ नागरिक ।

कोरोना भाइरस (कोभिड –१९) को जोखिम नियन्त्रण गर्नका लागि लकडाउन सुरु भएको ६३ दिनदेखि रोकिएको राष्ट्रिय महत्वको योजना मदन भण्डारी लोकमार्गको उदयपुर सदरमुकामको काम मंगलबारदेखि सुचारु भएको छ । चैत ११ देखि लकडाउन सुरु भएसँगै अवरुद्ध सडक कालोपत्रेकाको काम  लकडाउनकै बीचमा सुचारु भएको हो ।  

पश्चिमतर्फ बोक्से जाने प्राथमिक आँखा उपचार केन्द्रदेखि पूर्वतर्फ बरुवा खोलाको पुलसम्म १.२ किलोमिटर खण्डको अवरुद्ध काम सुचारु भएको हो । सो दूरीभित्र बिभिन्न ५ ठाउँमा अलग–अलग छरितो संख्यामा मजदुर खटाएर सामाजिक दूरी कायम गर्दै काम सुचारु भएको मदन भण्डारी लोकमार्ग कार्यालय गाईघाटका प्रमुख (डिई) बेलबहादुर भुजेलले बताए ।  

लकडाउनले लामो समयदेखि काम रोकिदा राज्य र ठेकेदार दुवैलाई घाटा भएकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रोटोकल अनुसार निश्चित दूरी कामय गरी, सानो संख्याका मजदुर समूह परिचालन गर्दै काम सुचारु गरिएको डिई भुजेलले बताए । उनका अनुसार एक्कासी लकडाउन सुरु भएपछि निर्माणाधीन सडकको काम तत्काल रोक्नुपर्दा ढुंगा, गिटी, बालुवाजस्ता कच्चा पदार्थ तथा मेसिन उपकरणहरु जहाँको त्यहीँ अलपत्र छाड्नु पर्दा बजारमा हिडडुलमा समस्या पर्नुका साथै बजार कुरुप देखिएको छ ।

वर्खायाम सुरु भईसकेकाले पानी पर्दा पुरै सडक र बजार डुबान हुने हुनाले लकडाउनमै पनि काम सुचारु गर्न स्थानीयले चर्को दबाब दिदै आएका छन् । १५ दिनअघि नै काम सुचारु गर्न निर्माण कम्पनी र लोकमार्ग कार्यालयले तयारी गरे पनि संक्रमणको जोखिम कम नभएको भन्दै प्रशासनले काम गर्न अनुमति दिएको थिएन । पछिल्लो साता बजारबासीको प्रतिनिधिमण्डल प्रशासन गएर तत्काल काम सुचारु गर्न माग गर्दै अन्यथा वर्षाले गर्ने क्षतिपूर्ति बेहोर्नुपर्ने माग गरेपछि काम सुचारु गर्ने अनुमति दिएको हो ।  

आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्म बजारक्षेत्रमा पोल गाड्ने काम महिनादिनअघि नै सकिइसकेको छ भने ४ ठाउँका कल्भर्टमध्ये पुरानो गाईघाट (पिजी) चोकको बाहेक अरु बनिसकेको निर्माण कम्पनी जेडआईईसी÷लामा÷शर्मा जेवीले जनाएको छ । पश्चिमतर्फ सेतो पुल र मुख्य चोक तथा मध्येभागको असारीलाईनको कल्भर्ट लकडाउनअघि नै बनिसकेका छन् भने पिजी चोकको कल्भर्टको स्ल्याब हाल्न मात्र बाँकी छ । नाला निर्माण र कालोपत्रेअघि भर्नुपर्ने माटो पिजी चोकलाई बाँकी राखेर पुलसम्मै सकिइसकेको छ । पिजी चोकमा भने २० मिटर चौडाईबारे स्थानीयबीच बिबाद हुँदा पोल र नालाको काम २÷३ महिना पछि धकेलिएको छ । लामो छलफलपछि सहमति जुटे पनि अहिलेसम्ममा सकिइसक्ने काम त्यतिबेलै लकडाउन सुरु भएर अलपत्र परेको हो ।  

फागुनभित्रै कालोपत्रे गरिसक्ने लक्षयसहित अघि बढेको काम चौडाई बिबादले झण्डै ३ महिना ढिला हुँदैगर्दा कोरोना महामारी आईलागेपछि धमाधम भईरहेको काम रोकिएको हो । निर्माण कम्पनीका परियोजना व्यवस्थापक (पिएम) सीताराम दाहालले दुई महिनाको लकडाउनले करोडौंको क्षति पुगेको बताए । २०७७ कात्तिकभित्र सक्ने सम्झौता रहेको परियोजनाअन्तरगत गाईघाटपूर्व र पश्चिमतर्फको कालोपत्रेको काम यसअघि नै सकिइसकेको छ ।  

पूर्वतर्फ गाईघाट–बसाहा खण्डको कालोपत्रे गत मंसिरभित्रै र गाईघाट–नेपालटारसम्मको कालोपत्रे पनि माघभित्रै सकिएको छ । लकडाउनकै बीच गतसातादेखि नेपालटार–कटारी–सिन्धुली खण्डको कालोपत्रेको काम पनि सुचारु भईरहेको छ । नेपालटार–कटारी खण्डको दनुवारबेंसी र बकपतिक्षेत्रमा प्रिपिचको काम भईरहेको छ भने रिस्कुको सोमबारेदेखि कटारीबीचको खण्डमा पनि कालोपत्रे काम अन्तिम चरणमा पुगेको दाहालले बताए ।  

कोरोना प्रभाव र मौसम अनुकुल भए बजारक्षेत्रको कालोपत्रे काम असारभित्र झण्डै सकिने निर्माण कम्पनीले जनाएको छ । उदयपुर–सुनसरी सीमास्थल चतारादेखि बसाहा हुँदै सप्तरीको कन्चनपुर जोड्ने नदाहा–कन्चनपुर सडकसँग जोडिएको मदन भण्डारी सडक बसाहादेखि गाईघाट कालोपत्रे भईसककाले अव गाईघाट–सिन्धुली खण्डमा मात्र कालोपत्रे बाँकी छ । गाईघाट–भिमान खण्डको १ सय ४ किलोमिटर दूरीमध्ये हालसम्म ९० किलोमिटर सडक कालोपत्रे भईसकेको आयोजना कार्यालयले जनाएको छ ।  

प्रकाशित: १३ जेष्ठ २०७७ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App