८ वैशाख २०८१ शनिबार
अर्थ

सिमेन्ट अभाव हुँदा काम रोकियो

रसुवागढी जलविद्युत आयोजना

लकडाउनका कारण सिमेन्ट आपूर्ति गर्न नसक्दा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । आयोजनामा सिमेन्ट ढुवानी गर्न नसकिएपछि बाँधस्थल बाहेक अन्य क्षेत्रको काम यसअघि नै रोकिएको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।  

नगरी नहुने काम बाहेक अन्य काम रोकिएको आयोजना प्रमुख छबि गैरेले बताए । ‘बर्खा अगाडि नै बाँधस्थलको काम सकाइसक्नु पर्ने भएकाले जसोतसो यसको काम गरिरहेको हो, उनले भने, सिमेन्ट ल्याउन सकिएन भने पुरै काम रोकिन्छ । आयोजनाको बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रको निर्माण कार्यमा पहिलेदेखि नै समस्या आइरहेको छ ।  

सन् २०१९ जुन २० मा आएको सुख्खा पहिरोका कारण काममा अवरोध भएकोमा डिसेम्बर १८ देखि कामले निरन्तरता पाएको थियो । यसको काम पनि बर्खा अगाडि नै नसकिएमा आयोजनामा बाढीले क्षति पुर्‍याउने देखिन्छ ।

आयोजनामा कामदारको अभाव नभए पनि तर सामग्रीको अभाव भएको छ । साइटमा अहिले करिब ५ सय नेपाली र १ सय ६० चिनियाँ कामदार छन् । आयोजनामा डिजेल तथा डण्डीको अभाव छैन । तर आयोजनामा सिमेन्ट पर्याप्त छैन । सिमेन्टको आपूर्ति नियमित हुन नसकेमा आयोजनाको काम रोकिने उनले बताए ।  

आयोजनाका अनुसार ६ सय ६० मिटर टेलरेसमध्ये ७० मिटर खन्ने काम बाँकी छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहँदै आएको आयोजनाले जनाएको छ । यसको काम बर्खा अगाडि नै सकाउनुपर्छ । कमजोर भौगोलिक अवस्था भएका कारण काम सुस्त गतिमा भइरहेको छ ।  

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले सुरुङ निर्माण गरेको हो ।  

मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथि तिरको १ हजार ८ सय ८२ मिटर खण्ड गत वर्षको वैशाख ६ गते पूरा भएको थियो । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पु¥याउँदै आएको छ । १११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो ।  

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो ।  

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ ।  

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App