७ वैशाख २०८१ शुक्रबार
अर्थ

माथिल्लो तामाकोसीको जटिल काम सकिँदै

कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यको लकडाउनबीच माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अत्यन्तै जटिल मानिएको तल्लो ठाडो सुरुङको तीन सय ७३ मिटर पाइप जडान सकिएको छ ।  

लकडाउनले निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाको काम केही साता प्रभावित भए पनि पछि पुनः सुरु गरेर ठाडो सुरुङमा पाइप जडान सकिएको हो । ३१० मिटर लामो माथिल्लोे ठाडो सुरुङमा पनि दुई सय ६६ मिटर पाइप जडान भइसकेको छ । ४४ मिटर जडान बाँकी रहेको आयोजनाले जनायो ।  

प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लकडाउनकै अवधिमा तल्लो ठाडो सुरुङको तीन सय ७३ मिटर पाइप जडान सकिएको बताए । ‘सबैभन्दा जटिल काममध्ये तल्लो ठाडो सुरुङमा पाइप जडान सफलतापूर्वक सम्पन्न भएको छ,’ उनले भने, ‘माथिल्लो ठाडो सुरुङमा ४४ मिटर पाइप जडान बाँकी छ । त्यो पनि एक महिनाभित्रै सम्पन्न गर्नेछौं ।’ प्रवक्ता न्यौपानेले सुरुङमा पाइप जडान गरेपछि फिटिङको काम गरिने बताए ।

‘भारतबाट सुरुङको पाइप जडानमा आवश्यक पर्ने उपकरण र सामग्री आएको छैन, जसले गर्दा आयोजनाको काम प्रभावित हुने सम्भावना छ,’ उनले भने, ‘कोरोना संक्रमण केही कम हुने बित्तिकै उपकरण ल्याएर काम अघि बढाउनेछौं ।’  

कम्पनीले आगामी असारभित्रै एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काममा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अब माथिल्लो ठाडो सुरुङमा ४४ मिटर पाइप जडान गरेपछि आयोजनाको असजिलो काम सकिनेछ ।

प्रवद्र्धक कम्पनी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले नै गरिरहेको छ ।  

कम्पनीका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लकडाउनले गर्दा अत्यावश्यक उपकरण र सामग्री अभाव हुन थालेको बताए । उनले भने, ‘उत्पादक कम्पनीसँग बारम्बार सम्पर्क गरे पनि लकडाउनले उत्पादन सम्भव हुन नसकेको प्रतिक्रिया आएको छ ।’  

लकडाउनले गर्दा आयोजनाको काम चैत १० देखि २० सम्म प्रभावित भएको थियोे । त्यसैलाई मध्यनजर गर्दै कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको चैत २० को १६औं बैठकले मेलम्ची खानेपानी, माथिल्लो तामाकोसी लगायत राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अघि बढाउने निर्णय गरेको थियो । वैशाख २४ को मन्त्रिपरिषद् बैठकले आवश्यक सुरक्षा सतर्कता अपनाएर राष्ट्रिय गौरवका सहित विकासे आयोजना अघि बढाउन निर्देशन दिएको थियो ।  

मन्त्रिपरिषद् बैठकले सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत्, सिँचाइ, खानेपानी, विमानस्थल, सडक, पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण गर्न अनुमति दिएको छ । तर एक स्थानमा एकपटक अधिकतम १० जनामा नबढ्ने गरी सहरी पूर्वाधार निर्माणको काम गराउनुपर्नेछ । अहिले माथिल्लो तामाकोसी आयोजनामा करिब नौ सयजनाले काम गर्दै आएका छन् ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App