७ वैशाख २०८१ शुक्रबार
अर्थ

किसानको बारीमा कुहिँदै तरकारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, हासिवाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ। उनी चैत ११ गतेदेखि नै घरभन्दा टाढा जान पाएकी छैनन्। घर वरपर घाँसपात काटेर दैनिकी टार्दैछिन्। लकडाउनअघि र लकडाउनपछिको उनको दैनिकी फरक छ।

लकडाउनअघि घरदेखि झण्डै १४ किलोमिटर टाढा जिल्ला सदरमुकाम खलंगामा तरकारी बेच्ने उनको मुख्य काम थियो। बिहान ३ बजे उठेर तरकारीको डोको बोकेर उज्यालो नहुँदै सदरमुकाम तरकारी पु¥याउने उनको मुख्य काम हो। कोरोना भाइरस फैलने त्रासका कारण सरकारले लकडाउन गरेपछि उनको तरकारी बारीमै छ। न उनले उक्त तरकारी टिप्न पाएकी छिन्, न टिपेको बेच्न नै।

ओली मात्रै होइन, हासिवाङका साथै मुसीकोट नगरपालिका वडा नं ३, १२, १३ र १४ का किसानको दैनिकी पनि फेरिएको छ। उनीहरुको अरु बजार छैन। गाउँघरमा तरकारी बिक्री हुँदैन। तरकरी बिक्री गरेर दैनिकी चलाउने तथा आयआर्जन गर्नेहरुका लागि लकडाउनले असजिलो बनाइदिएको छ। महामारी नफैलियोस् भनेर गरिएको लकडाउनले केही सहज भए पनि आफूहरुको तरकारी भने बारीमै रहेको किसानले गुनासो गरेका छन्।

बारीको तरकारी छिप्पिने, छिप्पिएको कुहिने तथा खानका लागि अयोग्य हुँदै गएको ओलीले बताइन्। ‘तयार भइसकेको तरकारी बिक्री नहुँदा त्यो बिग्रने भइहाल्यो,’ उनले भनिन्, ‘लकडाउन भएपछि जिल्लाका पसल पनि बन्द भए र तरकारी बिक्री गर्न पाइएको छैन।’

यी क्षेत्रका अधिकांश किसानको आम्दानीको स्रोत ताजा तरकारी नै हो। हाल किसानको बारीमा काउली, बन्दा, केराउ, मुला, टमाटर, लसुन, प्याज, रायोलगायत ताजा तरकारी छ।

कति किसानले चैत ११ का लागि भनेर १० गते नै बिक्री गर्ने तयारी गरिसकेका थिए। तर ११ गते तरकारी बिक्री नभएपछि त्यो खेर गएको छ। ‘टिपेको मात्रै होइन, टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने हो कि भन्ने चिन्ता बढेको छ,’ मुसीकोट नगरपालिका–३ का भीमबहादुर खड्काले भने, ‘लकडाउन लम्बिएसम्म बजार खुल्ने र तरकारी बेच्ने अवस्था देखिन्न।’

खड्काले यस बीचमा बारीमा थप काम गर्न पाइए पनि बारीको तरकारी बजार पु¥याउन नपाउँदा भने अफ्ठ्यारो भइरहेको बताए। महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सतर्क आफू पनि रहनुपर्ने बाध्यतालाई पनि बुझेको किसानको भनाइ छ।

जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार भनेको सदरमुकाम खलंगा नै हो। खलंगा बजार पूर्ण लकडाउन छ। अत्यावश्यकीय पसल खोल्ने भनिए पनि पहिलाको सबै तरकारी पसल खुल्दैनन्। तरकारी  बोकेर सबै किसान लहरै लागेर बजार पुग्न पनि मिल्दैन।

लकडाउनले सबैतिर समस्या भएको मुसीकेट नगरपालिका प्रमुख देविलाल गौतमले बताए। ‘यो समयमा भाइरसबाट बच्नु मुख्य भएको छ, अरु सहायक भएका छन्,’ नगरप्रमुख गौतमले भने, ‘यसको जोखिम कम भएपछि फेरि दैनिकी उसैगरी फर्कने आसमा बस्न अनुरोध गरिएको छ।’ कोरोना भाइरसका कारण समस्या बेहोर्नुपर्नेका लागि केही राहतको व्यवस्था गर्न सकिन्छ कि भनेर पनि छलफल भइरहेको गौतमले बताए ।

प्रकाशित: १० जेष्ठ २०७७ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App