२८ असार २०७७ आइतबार
अर्थ

बहिनीको एक कलले स्वदेशमै व्यवसायी बनायो

व्यावसायिक चौरी पालक कृषक

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका व्यावसायिक चौरीपालक कृषक सेनाम नुर्पु घले । तस्बिर : हिमनाथ/नागरिक

२०५७ सालतिरको कुरा हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका सेनाम नुर्पु घले विदेश जान प्रयास गर्दै थिए । उनको बहिनी पहिलै विदेश गइसकेकी थिइन् । उनी यहाँ थोरै चौरी पालेर बसिरहेका थिए । यहाँ भन्दा विदेशमा राम्रो कमाइ हुने आशामा उनको मनले उनलाई विदेश तिर धकेल्दै थियो ।

राहदानी बनिसकेको थियो । जाने तयारी हुँदै थियो । एक दिन उनको बहिनीले फोन गर्दा उनले विदेश जाने आफ्नो योजना सुनाए । कुरा गर्दै जाँदा उनको बहिनीले भनिन् ‘विदेशमा दुःख हुन्छ नआउनुस् । आफ्नै ठाउँमा परिश्रम गरे सुख पाइन्छ ।’  

त्यसपछि उनले चौरी पालनलाई नै अगाडि बढाउने विचार गरे । चौरी थपे । आफूले जानेको सीपको उपयोग गरेर यही केही गर्दा फाइदा पुग्ने र परिवारसँग बस्न पाइने आशाले उनले यसलाई निरन्तरता दिए ।  

उनले चौरी पाल्न थालेको ३६ वर्ष भयो । उनीसँग अहिले ७२ वटा चौरी छन् । तीमध्ये ४० वटा दुहुनो छ । अहिले उनको गोठ सिङ्दप खर्कमा पुगेको छ । उनको गोठ यहाँ जेठ महिनाभरी रहन्छ । असार लागेपछि उनको चौरी गोठ फुलुङ खर्कमा पुग्छ । अहिले लकडाउनको कारण उनले दुध बिक्री गर्न पाएका छैनन् ।  

अहिले चीज उत्पादन केन्द्र बन्द भएका कारण उनले घिउ र दुर्खा बनाइरहेका छन् । दिनको तीन चार किलो उत्पादन हुन्छ । उत्पादन केन्द्र खुलेपछि दुध केन्द्रमा बेच्ने उनको तयारी छ । दुर्खाको बजार छैन । ‘मैले चौरी पाल्न थालेको करिब ३६ वर्ष भयो । सुरुमा थोरै मात्र चौरी पालेको थिएँ’, उनले भने, ‘केन्द्र आएर दुध लिन थालेपछि चौरी बढाएको हो ।’ अहिले केन्द्र बन्द हुँदा समस्या आएका छ । लकडाउनका कारण केन्द्र सञ्चालनमा नआएको हो । ‘विदेश भन्दा यही ठिक होला भनेर चौरी पालन सुरु गरेको हो’, उनले भने, यो भन्दा अघि त यस्तो समस्या आएको थिएन ।’ लकडाउनले गरेर केन्द्रले अहिलेसम्म दुध लिएको छैन ।  

पहिले केन्द्रले बैशाख १ गतेदेखि कार्तिक ८ गतेसम्म दुध लिन्थ्यो । फागुनबाट चौरीको सिजन सुरु हुने भएकाले बैशाखबाट दुध लिँदा ठिक हुन्छ । यसको बाह्रै महिना सिजन हुन्न । अहिले ओखलढुंगादेखि चौरी ल्याएर पालिरहेका छन् । पहिले बिक्रीको समस्या थिएन ।  

कृषकले दुध उपलब्ध गराएकै कारण केन्द्र चलेको बताउँदै उनले अहिले कृषकलाई समस्या पर्दा केन्द्रले हेर्न पर्ने बताए । ‘दुध, छुर्पी र घिउ बिक्री भए पो हामीले ज्यान पाल्ने हो’, उनले भने, ‘अब चौरी किनेको पैसा पनि कसरी उठाउने भन्ने समस्या छ ।’ लकडाउन अघि सबै चौरीको बिमा हुन्थ्यो अहिले बिमा पनि भएको छैन ।  

घिउको बजार भएपनि दुर्खाको बजार छैन । उनी अहिले ३८ वर्षको भए । उनी अहिले वार्षिक ५ लाखसम्म आम्दानी गर्छन् । विदेशमा गएर अर्काको काम गर्नुभन्दा आफ्नै काम गर्ने भनेर यो पेसा अंगालेको उनले बताए । धुन्चे क्षेत्रमा अहिले १५ वटा गोठ छ । रसुवाभरी अहिले सय चानचुन गोठ रहेको उनले बताए ।

खर्कमा घाँस कम हुँदै गयो

यसपाली धेरै हिउँ पर्‍यो । हावाहुरीका कारण धेरै रुखहरू ढल्यो । अहिले चौरी हिँड्ने बाटै छैन । भएका सबै गोठका मान्छे भएर पनि बाटो बनाउन सकिने अवस्था छैन । यो खर्कमा पानी पर्याप्त छैन । खानेपानी धेरै टाढा छ । जाने बाटो छैन । चौरी पाल्ने कृषक घट्छन् कि भन्ने उनलाई चिन्ता लागेको छ । पहिले धेरै खर्क थियो । अहिले खर्क घटेर गयो । रुख र काडाले खर्क छोपिँदै गयो । त्यसकारण खर्कमा घाँस पनि घट्दै गयो ।  

चौरीको संख्या भने बढ्दै गएको छ । उनी अहिले फुलुङ मानेचो व्यवसायी चौरी पालन समूहको अध्यक्ष छन् । यो समूहमा २५ जना सदस्य छन् । उनले यही समूह मार्फत युवालाई समेत आकर्षित गराएका छन् । 

प्रकाशित: ९ जेष्ठ २०७७ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App