७ वैशाख २०८१ शुक्रबार
अर्थ

करेलामा अज्ञात रोगले किसान मर्कामा

रोग लागेको करेला । तस्बिर : नागरिक

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँट र आसपास क्षेत्रको करेलामा अज्ञात रोग लागेको छ । ७२ परिवार किसानले दुई सय ६ रोपनीमा गरेको करेला खेतीमा पहेँलो पात हुने र मुन्टा ठिमुरिने रोग देखिएपछि किसान चिन्तित भएका छन् ।  

किसानले आफ्नोतर्फबाट गर्न सक्ने र एग्रोभेटले भित्र्याएका कडा विषादी प्रयोग गर्दा पनि रोकथाम नभएपछि गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई देखाएको आग्रामहेश संयुक्त कृषि फर्मका सञ्चालक केशव रुपाखेतीले बताए । ‘टिप्ने बेला भएको तरकारी लकडाउनले बारीमै कुहिँदैछ, अर्कोतिर फूल फुल्ने बेला भएको करेलामा रोग देखियो,’ रुपाखेतीले भने, ‘कस्तो रोग भनेर पत्ता लगाउन बाली रोग प्रयोगशाला हरिहर भवन पठाइएको छ ।’

गाउँमै केही गर्नुपर्छ भन्ने अठोट लिएर स्थानीय ६ युवाले सञ्चालन गरेको उक्त फर्ममा यो वर्ष २६ रोपनीमा करेला खेती छ । गत वर्ष ३४ हजार किलो करेला बेचेर १८ लाख आम्दानी भएको थियो । वार्षिक तीन लाखमा जग्गा भाडामा लिएर एक लाख लगानीमा करेला लगाएको फर्मका अध्यक्ष वतराज बिडारीले बताए । बजारमा बिक्री गर्नुपर्ने बेला करेलाको झाल धमाधम पहेँलो भएर मर्न थालेपछि लगानी नै डुब्ने चिन्तामा किसान छन् ।

हरेक बोटबाट यतिखेर ५–६ किलो करेला उत्पादन भइसकेको हुन्थ्यो । तर सबै करेलामा रोग लागेपछि किसान चिन्तामा छन् । हरेक वर्ष थाँक्रा फेरिरहनुपर्ने अवस्थाबाट मुक्त हुन फर्मले फलामको स्थायी पोलमा दुई लाख ५० हजार खर्चेको छ । दुई रोपनी जग्गामा करेला खेती गरेर बर्खे खर्च चलाउने सुरमा रहेका बलराम सुवेदीले ३० हजार खर्च गरिसकेका थिए ।  

थाक्रे गाउँपालिकाले वडा नं ११ मा १० ग्राम दरको एक सय ५८ पाकेट पाली जातको करेलाको बीउ वितरण गरेको गाउँपालिकाकी कृषि प्राविधिक राममाया रानामगरले बताइन् । रोगका कारण किसानको यस वर्ष करिब २१ लाख लगानी डुबेको छ ।  

करेलासँगै घिरौंला पनि रोगले मर्न थालेको छ । फर्मलाई संघीय सरकारको तरकारी ब्लक कार्यक्रम र बागमती प्रदेश सरकारको नमूना फर्म कार्यक्रमको सहयोग रहेको कृषि ज्ञानकेन्द्रका अधिकृत कमलराज शर्माले बताए ।  

कृषि प्राविधिकले तरकारीमा पाउडरीमिल्लु नामक रोगको प्रकोपले यस्तो भएको बताए । अत्याधिक वर्षाका कारण रोगको संक्रमण बढ्ने अनुमान प्राविधिकको छ । कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आए पनि बाली बिमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानको गुनासो छ ।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पत्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो । बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, खर्बुजाले उनले सोचेभन्दा राम्रो मूल्य पाएको थियो । गत वर्षको आम्दानी देखेका उनी यसपालि पनि हौसिए र १२ कट्ठा जमिनमा तरकारी लगाए । तरकारी राम्रै फल्यो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।  

गत वर्ष बारीबाटै ५० रुपैयाँ किलोमा गोलभेंडा बेचेको सम्झँदै उनले भने, ‘यसपालि १५ रुपैयाँ किलोमा पनि जान छाड्यो ।’ धनगढी बजारबाट उनको गाउँ पुग्न करिब नौ किलोमिटर छ । त्यो बाटो तय गरेर तरकारी किन्न व्यवसायी गाउँमा पुग्न नसक्दा बोटमै कुहिन थालेको उनले बताए ।  

प्रहरीको कडा चेकजाँचका कारण उनको बारीसम्म व्यवसायी आउनै मान्दैनन् । ‘धेरै व्यवसायीलाई सस्तोमै तरकारी लैजान भनें,’ उनले भने, ‘प्रहरीको कडा चेकजाँचका कारण व्यवसायी आउनै मान्दैनन् ।’  

गत वर्ष उनले काँक्रा २५ देखि ३० रुपैयाँ किलोमा बेचेका थिए । यसपालि १५ रुपैयाँ पनि पाएनन् । पोहोर ८० रुपैयाँ किलोमा बारीबाटै बेचेको खुर्सानीले यसपालि ५० रुपैयाँ पनि पाएन ।  

लालराम चौधरीको पनि काँक्रा र खुर्सानी खेती छ । काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएको भन्दै हौसिएका उनी यसपालि निराश छन् ।  

काँक्रा बारीमै पहेँलो हुन थालेको उनले जानकारी दिए । ‘पहेँलो काँक्रा बिक्री नहुने भएकाले गाई, गोरुलाई खुवाउन थालेको छु,’ उनले भने, ‘सस्तोमा बेच्न खोज्दा पनि कसैले लगेन ।’  

यहाँका सबै जसो व्यावसायिक किसान उब्जनीले बजार नपाउँदा चिन्तित छन् । अगुवा किसान रमेश भाट सरकारले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानको तरकारी बिक्ने वातावरण बनाइदिनुपर्ने बताउँछन् ।  

आफूहरुले व्यावसायिक किसानका समस्या समाधान गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तरकारी किसानलाई सहज रुपमा गाउँघर र टोलसम्म बिक्री गर्ने वातावरण मिलाउन आग्रह गरेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले बताए । ‘हामीले किसानलाई सहज होस् भनेर प्रशासनबाट पासको व्यवस्था पनि गर्न आग्रह गरेका छौं,’ उनले भने । 

प्रकाशित: ३ जेष्ठ २०७७ २०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App