१५ चैत्र २०८० बिहीबार
अर्थ

पर्यटनका २५ हजार मजदुर विस्थापितको चिन्ता

गण्डकी प्रदेशभित्र पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा कार्यरत मजदुरको संख्या झन्डै २५ हजार छ । ती बाहेक अप्रत्यक्ष काम गर्नेको संख्या पनि यही हाराहारीमा रहेको अनुमान छ । कोरोना भाईरस त्रासका कारण मुलुक झन्डै दुईमहिनादेखि लकडाउन हुँदा ती सबै मजदुर कामविहीन भएका छन् ।  

संक्रमण घट्दै गएर लकडाउन खुलेपनि तत्कालै यी मजदुरले काम पाउने छैनन, किनकी तत्काल पर्यटक आउने सम्भावना नभएकोले मजदुरले लामो समय काम नपाउने निश्चित रहेको पर्यटन व्यावसायीको भनाई छ । लामो समय कामविहीन हुनुपर्दा पर्यटन क्षेत्रका हजारौं मजदुर बिस्थापित हुनसक्ने जोखिम बढाएको व्यावसायी बताउँछन् । कतिपय मजदुर सधैंका लागि बिस्थापित हुने जोखिम रहेको पनि व्यावसायीको भनाई छ ।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन, ‘लकडाउन खुलेपनि तत्काल पर्यटक आउँदैनन । पाहुना नआउँदासम्म पर्यटनका मजदुरले काम पाउने अवस्था रहन्न ।’ व्यावसायीको अनुमानमा अझै दुईवर्ष नेपालमा विदेशी पर्यटक आउने छैनन् । आन्तरिक पर्यटकको आगमन हुन महिनौ लाग्नेछ । त्यसले गर्दा पर्यटन मजदुर लामो समय कामविहीन हुने र त्यसले पर्यटन क्षेत्रबाटै बिस्थापित गराउने उनले बताए ।  

‘प्रतिष्ठानले मासिक पारिश्रमिक दिएर धेरै मजदुर पाल्न सक्ने अवस्था रहन्न । किनकी आम्दानी बिनाको खर्च धान्न सकिन्न,’ तुलाचनले भने, ‘अनिश्चित समयसम्म मजदुर पाल्न सहज छैन ।’ कोरोनाको त्रास विश्वव्यापी बढ्दै गएर पाहुना आगमन घट्न थाल्दै गर्दा यहाँका पर्यटन क्षेत्रमा कार्यरत मजदुर बिदा बस्न थालेका थिए । नेपाल लकडाउन हुँदासम्म धेरै मजदुर बिदा बसिसकेका थिए ।

‘पाहुना घट्न थालेपछि धेरै मजदुर कामविहीन भएका थिए  । जब लकडाउन सुरु भयो, त्यसपछि त सबै मजदुर कामविहीन भईहाले,’ तुलाचन भन्छन, ‘अहिले होटल, रेस्टुरेन्ट नियमित सरसफाई गर्ने र सुरक्षाका केही कामदार बसेका छन् । लकडाउनका कारण घरसम्म फर्किन नसकेका कामदार बाहेक अरु छैनन् ।’  

पर्यटन क्षेत्रमध्ये पनि होटल, रेस्टुरेन्ट, पदयात्रा, ट्राभल क्षेत्रमा अधिक मजदुर कार्यरत छन् । प्रयाप्त पाहुना भित्रिएमात्र ती सबै पाहुनाले काम पाउँनेछन् । ‘अहिले बिस्थापित भएका मजदुर पछि पर्यटन सहज हुँदा पनि नपाउन सकिन्छ । दक्ष कामदार गुमाउने त्रास छ,’ उनले भने । प्रतिष्ठानले  लकडाउन अवधिसम्म कामचलाउ रुपमा कामदारलाई राखेपनि त्यसपछि के गर्ने भन्ने अहिल्यै निर्णय नगरेको उनले बताए । ‘पर्यटनमा अनुभवि सबै मजदुर बैकल्पिक पेशामा ‘फिट’ नहुन सक्छन । बैकल्पिक पेशा आजको भोलि हुन सक्दैन,’उनले भने, ‘ती कामदारबारे सोच्ने बेला भएको छ ।’  

पर्यटन व्यावसायीको अनुमानमा नेपालमा विदेशी पर्यटक भित्रिने मूल श्रोत मानिएका मुुुलुक (अमेरिका, बेला, फ्रान्स, जर्मन, चीन, स्पेन लगायत) मा कोरोनाले बढी क्षति पु¥याएको छ । त्यसले गर्दा ती मुलुकबाट तत्कालै पाहुना आउने छैनन् । आम्दानी घटेकोले आन्तरिक पाहुना पनि तत्कालै घुमघाममा निस्किन सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ ।  

‘यतिबेला सबैको आय कमजोर भएकोले आन्तरिक पाहुना पनि तत्कालै घुम्न आउने छैनन । विदेशीको आम्दानी पनि घटेको छ,’ तुलाचन भन्छन, ‘भूकम्प पछि पर्यटन क्षेत्र तत्कालै उकासिएको थियो । तर, अहिले त्यो अवस्था छैन । भूकम्पले नेपालका केही क्षेत्रमा मात्र नोक्सान पु¥याएको थियो । कोरोनाले त विश्वव्यापी तहसनहस पारेको छ ।’  

पर्यटन क्षेत्रमा कार्यरत करिब ८० प्रतिशत मजदुर पोखरा बाहिरका छन् । अहिले बिस्थापित भएका मजदुर पछि गएर नपाउने चिन्ता पनि उत्तिकै रहेको उनले बताए । ‘फेरि यिनै मजदुर नपाउन सकिन्छ । पर्यटनबाट बाहिरिएका मजदुर पछाडि पाइएला भन्न सकिन्न,’ उनले भने, ‘दक्ष जनशक्ति विस्थापित भए पर्यटनमा अर्काे चुनौती थपिनेछ ।’

पर्यटन व्यावसायी दिनेश प्रसाइँ लकडाउनपछि कृषि, उत्पादनमुलक उद्योग, यातायात, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा तत्कालै मजदुरले काम पाउने भएपनि पर्यटनमा भने लामो समय ‘ग्याप’ रहने बताउँछन् । ‘पर्यटन बाहेकका क्षेत्रमा तत्कालै काम सुरु हुनसक्छ । त्यसबाट छोटो समयमै प्रतिफल पाइन्छ,’ प्रसाइँ भन्छन, ‘तर पर्यटन क्षेत्र पाहुना नआएसम्म काम पाइन्न ।’  

तत्कालै अन्तर्राष्ट्रिय पर्यटकलाई बोलाउन नसकिने र ती पर्यटकले ट्राभल प्लान बनाउन नमान्ने अवस्था पनि रहेको उनले बताए । ‘अबका केही समय त पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्डको विषय उठ्न सक्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्न नसके त्यो बेलामा थप मार खेप्नेछन् ’ पर्यटनको मोडालिटि नै के हुन्छ भन्न सक्ने अवस्था नरहेको उनले बताए ।  

केही समय उद्यमी र सरकारले सघाएर भएपनि मजदुरलाई जोगाउनुपर्ने उनले बताए । ‘पर्यटनमा खटिएका हजारौं कामदार लामोसमय कामविहीन हुँदा उनीहरुमा निराशा आउन सक्छ,’ प्रसाइँले भने, ‘ती मजदुरबारे तत्कालै योजना बनाउनुपर्छ । मुलुकभरका पर्यटक मजदुर समस्यामा पर्ने निश्चित छ ।’  

नेपाल टे«किङ, ट्राभल र्याफ्टिङ, एयरलाईन्स मजदुर यूनियन (यूनिट्राभ)का गण्डकी अध्यक्ष विजय केसीले पर्यटन क्षेत्रका मजदुरले अझै कम्तिमा डेढवर्ष काम नपाउने भएकोले उनीहरुको व्यवस्थापनबारे सरकारले बेलैमा सोच्नुपर्ने बताए । ‘होटल तथा रेस्टुरेन्टले आन्तरिक पाहुनाबाट केही राहत पाउन सक्छन् । तर, पदयात्रा क्षेत्र बढी मर्कामा पर्छ,’ केसीले भने, ‘किनकी पदयात्रा जाँदा आन्तरिक पाहुनाले सहयोगी लैजाँदैनन । विदशी नआएको खण्डमा पदयात्रा मजदुर बिस्थापित हुनेछन् ।’ उनका अनुसार गण्डकी प्रदेशमा मात्र पदयात्रा क्षेत्रमा करिब १५ सय मजदुर प्रत्यक्ष काम गर्छन ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले बनाएको पर्यटन ‘रिकभर’ समितिका सदस्य समेत रहेका पर्यटन व्यावसायी टिकाराम सापकोटा सबै पर्यटन गन्तव्यमा कार्यरत हजारौं कामदार कोरोनाका कारण प्रभावित हुने बताउँछन् । ‘पर्यटन क्षेत्र उकासिन समय लाग्ने हुँदा महिनौंसम्म मजदुरले काम पाउने छैनन,’ उनले भने, ‘अरु उत्पादनमुलक क्षेत्र भन्दा पर्यटन फरक छ । किनकी यो सेवामुलुक क्षेत्र हो । पाहुना नै आएनन भने मजदुरले सेवा दिन पाउँदैनन् ।’  

पर्यटन क्षेत्रका मजदुरलाई ‘रिकभर’ गर्न चुनौती रहेको उनले बताए । ‘लकडाउन खोल्नासाथ पर्यटक आउने अवस्था छैन,’ पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटाले भने, ‘आन्तरिक पर्यटक पनि तत्कालै आउन सक्दैनन् । त्यसैले मजदुरले काम नपाउने अवस्था छ । रोजगारदाताले पनि कामविहीन अवस्थामा कामदारलाई लामो समय धान्न सक्दैनन् । असंगठित मजदुर बढी समस्यामा पर्नेछन ।’

उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी सरकारले व्यावसाय बचाउने हो भने मजदुर बच्ने बताउँछन् । ‘व्यावसायी नै बिस्थापित भए झनै भयावह अवस्था आउनेछ,’ मुल्मीले भने, ‘अब सरकारले व्यावसायी बचाउनुपर्छ । व्यावसायीलाई बचाउन नसके निजी क्षेत्रले योगदान गरेको रोजगार पनि बच्दैन । त्यसले अर्थतन्त्र ध्वस्त हुनेछ ।’

प्रकाशित: ३ जेष्ठ २०७७ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App