coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

छुर्पीको अमेरिका निर्यात ठप्प

इलाम नगरपालिका– ५, बरबोटेस्थित नवरत्न पशुपालन उद्योगमा उत्पादन गरिएको छुर्पी । तस्बिर : भीम / नागरिक

झन्डै दुई महिनायताको लकडाउनका कारण जिल्लामा उत्पादित करोडौं रुपैयाँको छुर्पी (डग च्यु) निर्यात ठप्प भएको छ । कुकुरको आहारका लागि अमेरिका निर्यात हुने ठूलो परिमाणको छुर्पी बिक्री हुन नसक्दा किसान र व्यवसायी संकटमा परेका छन् ।  इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लाका डेरी उद्योगमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै थियो । 

अन्य छुर्पीको आन्तरिक खपत सन्तोषजनक रहेपनि बाहिरी देश निर्यात गरिने छुर्पी उत्पादक र व्यवसायीको मारमा परेको व्यवसाय नै ठप्प भएको छ । बर्सेनि उत्पादन भइनसक्दै विक्री भइसक्ने छुर्पी गत फागुनयता विक्री हुन छाडेको व्यवसायी बताउँछन् । निर्यात रोकिएकोमात्र होइन, अमेरिकाबाट अहिले छुर्पीको माग पनि आएको छैन् । गएका वर्षहरूमा यहाँको उत्पादनभन्दा तेब्बरसम्म माग आउने गरेको थियो ।

इलाम सदरमुकामका छुर्पी उत्पादक तथा व्यापारी मिलन खत्रीमार्फत् प्रत्येक महिना ८ हजार किलो हाराहारी छुर्पी अमेरिका निर्यात भइरहेको थियो । आफ्नै सेतो पहाड डेरी उद्योगमा उत्पादन भएको र जिल्लाका गाउँ–गाउँबाट संकलन भएको छुर्पी बेच्ने खत्री अहिले देशभित्रै बिक्री हुने छुर्पीको मात्रै कारोबार गरिरहेका छन् । ‘अमेरिका निर्यात हुने छुर्पीको व्यापार फागुनदेखि ठप्प छ,’ उनले भने, ‘मानिसले खानेभन्दा अमेरिका पठाइने छुर्पी छुट्टै गुणस्तरको हुने भएकाले त्यसको मूल्य पनि राम्रो थियो । तर, निर्यात ठप्प भएपछि उत्पादकलाई समस्या परेको छ ।’  

खत्रीले बर्सेनि २४ हजार किलो हाराहारी छुर्पीको कारोबार गर्छन् । लकडाउनका कारण अरू छुर्पीको व्यापारमा पनि ज्यादै समस्या भइरहेको उनको भनाइ छ । ‘सहजमा जस्तो थियो, अहिले त शून्यझैं भएको छ,’ उनले भने, ‘किसानले दिनहुँ दूध बेच्न नपाए उनीहरूको रोजीरोटी नै गुम्ने भएकाले पनि हामीले उनीहरूको उत्पादन त किन्नैपर्ने बाध्यता हुन्छ ।’  

लकडाउनकै कारण व्यापार शून्य भएपछि कतिपय डेरी उद्योग बन्द नै भएका छन् । लकडाउनमा दूध र दूधजन्य उत्पादनलाई खुला गरिएपनि कोरोना भाइरसको त्रासले उद्योग बन्द गर्नुपरेको सूर्याेदय नगरपालिकाका व्यवसायी दिनेश महत बताउँछन् । ‘महिनामा ८ सय किलोसम्म डग च्यु उत्पादन हुँदैथियो,’ उनले भने, ‘तर, लकडाउन सुरु भएको केही दिनपछिदेखि उद्योग नै बन्द गर्नुप¥यो ।’ उनले अहिले लकडाउन केही खुकुलो गरिएपनि उद्योग खुलाउन डर भइरहेकाले छुर्पी उत्पादन शून्य भएको बताए ।  

इलाम नगरपालिका–५, बरबोटेस्थित नवरत्न पशुपालन केन्द्रमा पनि हरेक महिना १ हजार ५ सयदेखि २ हजार किलोसम्म छुर्पी उत्पादन हुन्छ । यहाँको सबै उत्पादन अमेरिका निर्यात हुनेगरेको छ । तर, गत फागुनयता यहाँको उत्पादन भण्डारण गर्नुपरेको केन्द्र सञ्चालकमध्येका गौतम गुरुङले बताए । आफैं गाई पालनसमेत गरी छुर्पी उत्पादन भइरहेको यो सामूहिक केन्द्रमा छुर्पी नबिक्दा लगानी उठाउनै धौधौ हुँदैछ । ‘मुख्य उत्पादन नै निर्यात नभएपछि लगानी खेर गइरहेको छ,’ गुरुङले भने, ‘केही समयभित्रै निर्यात सहज नभए निकै समस्या पर्नसक्छ ।’  

इलामका डेरी उद्योगबाट प्रतिकिलो नाै सयदेखि साढे नाै सय रुपैयाँ प्रतिकिलोसम्ममा डग च्यु विक्री हुनेगरेको छ । तर, निर्यात ठप्प भएपछि हजारौं किसान समस्यामा परेको अर्का छुर्पी व्यापारी प्रेम गुरुङ बताउँछन् । ‘लकडाउनअघिसम्म यहाँबाट अमेरिका निर्यात गर्दा छुर्पीको ढुवानी भाडा प्रतिकिलो तीन डलर रहेकामा अहिले छिटफुट लैजाँदा पनि १० डलर लाग्छ भन्ने सुनेको छु,’ उनले भने, ‘तर, फागुनयता छुर्पीको व्यापार शून्य छ ।’  

इलाम, सूर्याेदय र देउमाई नगरपालिका तथा फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिकाका गाउँ–गाउँमा उत्पादन हुने डग च्यु अमेरिका निर्यात हुन्छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा दुइ सय २० डेरी उद्योगबाट दुइ सय ९८ मेट्रिक टन छुर्पी उत्पादन भएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App