१६ चैत्र २०८० शुक्रबार
अर्थ

खरिद १० रुपैयाँ प्रतिकिलो, बिक्री ७० रुपैयाँ !

किसानको पसीना, बिचौलीयाको रजाईँ

देउखुरी बनगाउँमा तरकारी टिप्दै बनगाउँकी शोभापती चौधरी र उनका श्रीमान ।

दाङ- लमही नगरपालिका वडा नम्बर ४ घुम्नाका रञ्जीत चौधरीको १७ कठ्ठा जमिनमा लटरम्म तरकारी फलेको छ । करेला, बोडी, भिण्डि लगाएतका तरकारी फलाएका रञ्जीत आफ्नो उत्पादन विक्री गर्न बजार सम्म पुग्न सक्दैनन् । कारण— लकडाउन । जिल्लाका बिभिन्न बजारहरुबाट तरकारी व्यापारीहरु उनको बारीमै तरकारी खरिद गर्न पुग्छन् । तर रञ्जीतले आफूले उत्पादन गरेको तरकारीको मूल्य तोक्न पाउँदैनन् । उनै ब्यापारिहरुले मूल्य तोकिदिन्छन् ।  

लकडाउनका कारण बजार सम्म तरकारी पुर्याउन नसकेका रञ्जीतको अप्ठ्यारो बुझेका ब्यपारीहरुले तरकारीको मूल्य प्रतिकिलो १० रुपैयाँ तोकिदिन्छन् । जबकी उनै ब्यापारिहरुले उहि तरकारी बजार ल्याएर ७ गुणा बढि मुल्य ७० रुपैयाँ किलोसम्म विक्री गर्ने गरेका छन् । ‘हामीहरुलाई परेको लकडाउनको समस्यामा ब्यापारीहरु राम्रोसंग खेल्न पाएका छन्, हाम्रो उत्पादनको मूल्य उनिहरुले निकै सस्तो तोकिदिन्छन्,’ उनले भने ‘१० रुपैयाँ किलोको भाउमा तरकारी बेच्नु परिरहेको छ, ब्यापारिहरु यो भन्दा एक रुपैयाँ पनि बढ्न मान्दैनन् ।’ बिगतका बर्षहरुमा यहि समयमा रञ्जीतले ४० देखि ५० रुपैयाँ किलोका दरले तरकारी बिक्री गर्दै आएका थिए । लकडाउनका कारण किसानहरुबाट मनग्य लाभ लिन सकेका ब्यापारिहरुकै कारण आफ्नो लगानी यसपाला चौपटै हुने रञ्जीतले दुखेसो गरे । ‘बीस हजार रुपैयाँ त बिउमा मात्रै लगानी भएको छ, यहि रकम पनि उठेको छैन,’ उनले भने ‘अँझ जोतभोग, मल लगाएतको खर्च त चोखै छ ।’

हिँजोआज १० रुपैयाँ प्रति किलोका दरले तरकारी खरिद गर्दै आएका व्यापारिहरुले अँझ मूल्य झार्ने मनसाय बनाईरहेका छन् । लकडाउनका लम्बीँदै गए तरकारीको मूल्य १० रुपैयाँ भन्दा पनि तल झर्ने भन्दै रञ्जीतले भने ‘१० रुपैयाँ भन्दा पनि मूल्य तल झर्यो भने त बारीमै खेर जाओस्, विक्री गर्दैन ।’

घुम्ना गाउँकै कालीचरण चौधरीले लकडाउन खुल्ने आशमा गाउँमा पुगेका व्यापारिहरुलाई लामो समय सम्म तरकारी विक्री गरेनन् । १४ कठ्ठा जमिनमा फलेको तरकारी छिप्पीँदै जान थाल्यो, लकडाउन झनै लम्बिँदै गयो । अन्ततः लकडाउनको मौका छोपेर सस्तो मूल्यमा तरकारी खरिद गर्न पुग्ने ब्यापारिहरुका अगाडी उनि पनि झुक्नै पर्‍यो । अन्ततः उनको पसिनाको मूल्य पनि ब्यापारिहरुले तोकिदिए ‘प्रति किलोको १० रुपैयाँ ।’ उनले तरकारीको मूल्य थोरै भएपनि बढ्न व्यसायिहरुलाई अनुरोध गरे । तर ब्यापारिहरुले फिटिक्कै मानेनन् । ‘हाम्रो पसिनाको मूल्य बिचौलीयाहरुले गर्छन्, पसिना हाम्रो तर नाफा उनिहरुले लिईरहेका छन्,’ कालीचरणले भने ‘१० रुपैयाँ भन्दा थोरै माथि गैदिनुस् भन्दा पनि दिने भए दिनुस् नत्र कर छैन भनेर ठूलो कुरा गर्छन्, अनि बारीमै तरकारी खेर जान दिनु भन्दा ठिकै छ त भनेर त्यहि १० रुपैयाँ प्रतिकिलोको दरमा बेचिरहेको छु ।’

सोही गाउँका शेरवहादुर चौधरी लकडाउनका कारण यसपाला लगानी डुब्ने पिरलोमा छन् । बजार पुगेर तरकारी विक्री गर्न पाउने अवस्थै रहेन । ६ कठ्ठा जग्गामा फलेको भिण्डी छिप्पीँदै जान थाल्यो । १/१ कठ्ठामा लगाएको बोडी र करेला पनि खेरै जाने अवस्था आउन थाल्यो । बारीमै पुगेका व्यपारीहरुले तरकारीको मूल्य तोकिदिए । ‘१० रुपैयाँ किलो तरकारी बिक्री गरेर त हाम्रो लगानी पनि उठ्दैन,’ उनले भने ‘तर बारीमै तरकारी खेर जानु भन्दा १० रुपैयाँ किलोकै दरले भएपनि बेच्न बाध्य भएँ ।’

लमही नगरपालिका वडा नम्बर ३ बनगाउँकी शोभापती चौधरी बिहानै तरकारी बोकर लमही बजार तर्फ लाग्छिन् । गाउँमा १० रुपैयाँ प्रतिकिलोका दरले तरकारी बिक्री गर्नुभन्दा आँफै बजारसम्म पुग्दा महंगो मूल्य पार्न सकिएला भनेर । लमही बजारमा पुग्दा प्रति किलोको मूल्य २० रुपैयाँ सम्म पार्छिन् उनि । तर लकडाउनको उलंघन गरेर बजार सम्म पुग्ने उनलाई तरकारी विक्री गर्न सहज पनि छैन । ‘सस्तोमा के विक्री गर्ने भनेर आँफै विहानै तरकारी बोकेर लमही बजार सम्म पुग्छु,’ उनले भनिन् ‘प्रहरीसंग लुकेर हिँड्नु पर्छ, धेरै पटक त हामीलाई प्रहरीले लखेटेका पनि छन् ।’ थोकमा बारीमै खरिद गर्न जाने ब्यापारिहरुले दिने अति कम मूल्यले आफ्नो लगानीनै नउठ्ने भन्दै लकडाउन छिचोलेर बजार सम्म पुग्नु उनि आफ्नो बाध्यता सुनाउँछिन् । ‘थोकमा विक्री गरेर घाटा हुने नै हो,’उनले भनिन् ‘त्यो भन्दा आफै तरकारी बोकेर बजारका टोलटोलका घरघरमा पुगेर विक्री गर्ने गरेकी छु ।’ उनले ६ कठ्ठा जमिनमा तरकारी खेती गरेकी छिन् ।  

देउखुरीको बनगाउँ, सीसहनीयाँ, गढवा, घुम्ना लगाएतका क्षेत्र लामो समय देखि तरकारी पकेट क्षेत्रका रुपमा स्थापित भएका छन् । व्यवसायिक तरकारी खेती गर्दै आएका यहाँका किसानहरुले उबाजेको तरकारीमा जहिल्यै स्थानीय व्यापारिहरुको मनमौजी चल्ने गर्दछ । तथापी अहिले लकडाउनका कारण यि किसानहरु थप मारमा परेका छन् । किसानको बारीमा फलेको तरकारीमाथि यिनै ब्यापारिहरुको बोलबाला चल्ने गर्दछ । ‘बिगतका बर्षमा पनि बिचौलीयाहरुले आँफै मूल्य तोकिदिन्थे, र हामीहरुले उनिहरुले भनेकै मुल्यमा बिक्री गर्दै आयौँ,’ देउखुरीका किसानहरुको दुखेसो छ ‘तर विगत भन्दा अहिले त लकडाउनको कारण देखाएर निकै सस्तो मूल्य लगाईदिएका छन्, हामीहरुलाई लकडाउनले साह्रै मर्कामा पार्‍यो ।’ गाडी लिएरै किसानको बारीसम्म पुग्ने व्यापारिहरुले किसानहरुबाट खरिद गरेको तरकारी बजार पुर्‍याएर भने निकै महंगोमा विक्री गर्दै आएका छन् ।

करेला, भिण्डी , बोडी प्रति किलो १० रुपैयाँका दरले खरिद गर्ने ब्यापारिहरुले उहि तरकारी बजार पुर्‍याएर प्रतिकिलो ६० देखि ७० रुपैयाँ सम्म बिक्री गर्दै आएका छन् । यसैगरी ५ रुपैयाँ किलोका दरले किसानबाट खरिद गरेको लौका व्यापारिहरुले बजार पुर्‍याएर  ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री गर्दै आएका छन् ।  

 

  

 

प्रकाशित: १ जेष्ठ २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App