coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाली चिया भारत निकासीमा अवरोध

भारतले नेपाली चिया निर्यातमा अवरोध गरेको छ । लकडाउन अवधिमा दुवै देशका कृषि उपजको आयात–निर्यातमा अवरोध नगर्ने भने पनि भारतले विभिन्न कारण देखाउँदै नेपाली चिया सीमा पार गराउन रोकेको हो ।  

निकासी रोकिँदा २६ हजार चिया उत्पादक किसान मारमा परेका छन् । भर्खरै पहिलो फ्लसको चिया उत्पादन सकिएको छ । वार्षिक दुई करोड ४० लाख किलो सिटिसी र तीन लाख किलो अर्थोडक्स चिया उत्पादन हुने तथ्यांकलाई आधार मान्दा अहिले पहिलो फ्लसमा त्यसको करिब २५ प्रतिशत चिया उत्पादन हुन्छ । हिमालय अर्थोडक्स टी प्रोड्युसर एसोसियसन (होट्पा) का अध्यक्ष समेत रहेका चिया व्यवसायी उदय चापागाईंले अहिले सिटिसी र अर्थोडक्स गरी ५० लाख किलोभन्दा बढी चिया उत्पादन भएको बताए । ‘उत्पदित चियामध्ये ८० प्रतिशत बजार भारत हो । तर निकासी रोकेसँगै बिक्री शून्य जस्तै छ,’ उनले भने, ‘तेस्रो मुलुक जाने चिया पनि हवाई मार्ग र भारत हुँदै जाने भए पनि दुवै बाटो बन्द हुँदा अर्थोडक्सको निकासी पनि रोकिएको छ ।’  

उनले यस्तै अवस्था रहे अर्को फ्लसमा व्यवसायीले चिया उत्पादन गर्न नसक्ने बताए । ‘भारतले आफ्ना व्यवसायीको हितको लागि चिया आयातमा रोक लगाएको छ । हाम्रो सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनेको नसुन्यै गरेको छ,’ चापागाईंले भने, ‘अहिले उत्पादन भएको चिया बिक्री नभए अर्को फ्लस टिप्न सक्ने अवस्था रहन्न ।’  

भारतले आफ्ना व्यवसायीको हितको लागि चिया आयातमा रोक लगाउँदा नेपालका २६ हजार किसान मारमा ।

केन्द्रीय चिया सहकारी संघका अध्यक्ष समेत रहेका चिया व्यवसायी गोविन्द दाहाल पछिल्लो उत्पादनको चिया एक ग्राम पनि भारत नगएको बताउँछन् । ‘लकडाउनमा सबैतिर समन्वय गरेर उद्योगसम्म त सञ्चालन गरियो तर उत्पादित चिया बिक्री गर्न नपाउँदा यत्तिकै बिग्रने सम्भावना बढ्यो,’ दाहालले भने, ‘हामीसँग व्यवस्थित गोदाम, वेयरहाउस छैनन्, हावा नछिर्ने गरी राख्न सके लामो समय राख्दा पनि फरक पर्ने थिएन । अब बिस्तारै गुणस्तर घट्दै जान्छ । सबै चिया नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ ।’  

उनले लकडाउन अवधिमा करिब १५ लाख किलो चिया उत्पादन हुने कच्चा पदार्थ निर्यात जोखिमका कारण नष्ट भएको बताए । ‘चिया उत्पादन भएपछि पनि फाल्नैपर्ने देखिएपछि किसानले उद्योगमा पठाएनन्,’ उनले भने, ‘सिटिसी र अर्थोडक्सको मूल्य फरक रहेकोले लगभग अहिले नै ६० करोडभन्दा बढी नोक्सान भइसकेको छ ।’ उनले अब केही समय निर्यात गर्न नसके उत्पादन भएको चिया र बिक्री गर्न नसके बाँकी फ्लसमा चिया टिप्न नसकिने बताए ।

कोभिड १९ को महामारीबीच चियालाई अत्यावश्यक खाद्य वस्तुको सूचीमा नरहेको भन्दै निर्यात रोकेको भनिए पनि दार्जिलिङ तथा सिक्किम क्षेत्रका चिया व्यवसायीको दबाबमा राज्य सरकारले चिया आयात रोकेको पाइएको छ । भारतमा प्रकाशित हुने द स्टेटमेन्ट पोस्टले दार्जिलिङ टी एसोसिएसनका अध्यक्ष संजय वंसलले पश्चिम बंगाल राज्यसभाका मुख्यसचिव राजिव सिन्हालाई नेपाली चिया आयात नियन्त्रण गर्न आग्रह गरेको उल्लेख गरेको छ ।  

भारतीय चिया व्यवसायीले त्यहाँको चिया बोर्डको बैठकमा लकडाउनका कारण बजार बिग्रेका बेला नेपाली चियाका कारण स्वदेशी उद्योग धराशयी हुने बताएका थिए । भारतले औपचारिक रुपमा निकासी रोकेको जानकारी नगराए पनि निकासी नियन्त्रणमा पश्चिम बंगाल राज्य सरकारको समेत संलग्नता रहेको ठानिएको छ । पश्चिम बंगाल राज्यसभा सदस्य शान्ता क्षेत्रीले राज्य सरकारलाई लेखेको पत्रमा नेपाली चियामा कडाइ गर्न आग्रह गरेकी छिन् । पत्रमा नेपालबाट चिया आइरहेको र चिया अत्यावश्यकभित्र नपर्ने भएकोले रोक्न अनुरोध गरिएको छ ।

उनले नेपाली चिया भारतीय खाद्य संरक्षण एवं मानक प्राधिकरण (एफएसएसएआई) ले तोकेको मापदण्ड विपरीत भएको र मानव स्वास्थ्य प्रतिकूल भएको बताएकी छिन् । भारतीय व्यवसायीले समेत राज्य सरकारलाई सर्वोच्च अदालतले चियालाई अत्यावश्यक वस्तुको सूचीमा नराखेको अवस्थामा पनि नेपालबाट चिया आइरहेकोमा आपत्ति जनाएका थिए । उनीहरुको दाबी छ, ‘नेपाली चिया आए भारतीय चियाको बजार धराशयी हुन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन नेपाली चियाको गुणस्तर मापदण्ड अनुरुप नभएको भन्ने भ्रामक कुरा मात्र भएको बताउँछन् । ‘हामीले पनि परीक्षण गरेर पठाउने गरेका छौं, गुणस्तरमा समस्या छैन,’ उनले भने ।

गत भदौदेखि चिया लगायत २७ खाद्य वस्तुको नेपाली ल्याब परीक्षणलाई मान्यता दिने सहमति भइसकेकोले सोहीअनुरुप भएको परीक्षणलाई भारतले रोक्न नहुने उनको तर्क छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड भने व्यवसायीले भनेजस्तो अवस्था नरहेको दाबी गर्छ । बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद भट्टराई अहिलेसम्म भारतीय पक्षले निकासी रोक्ने औपचारिक जानकारी नदिएको बताउँछन् । उनले व्यवसायी कै गुनासोका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस विषयमा सहजीकरण गर्न आग्रह गर्दै मंगलबार पत्र लेखेको बताए ।  

मन्त्रालयका सहसचिव नवराज ढकाल यस विषयमा अहिलेसम्म जानकारी नआएको बताउँछन् । उनले भने, ‘यस विषयमा मैले नै हेर्दै आएको छु । अहिलेसम्म केही जानकारी छैन । के भएको रहेछ, बुझ्छु ।’

भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे पनि अहिलेसम्म चिया निकासीमा समस्या भएको जानकारी नआएको बताउँछन् । ‘चिया निकासी हुने काँकडभिट्टा नाकाबाट हो । अहिले चियामात्र हैन पश्चिम बंगाल सरकारले एक महिनादेखि सबै खालको आयात रोकेको छ,’ घिमिरेले भने, ‘कतिपय व्यवसायीले विराटनगर फर्काएर निकासी गर्दै आएका छन् ।’

प्रकाशित: १ जेष्ठ २०७७ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App