coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेट कोरोनावरिपरि

फाइल तस्बिर

काठमाडौं - सरकारले तीन दशकदेखि पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बनाउँदै आएको थियो। यसपटक भने कोभिड १९ को महामारीका कारण सरकार प्राथमिकता फेर्न बाध्य भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले आइतबार संघीय संसद्को बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट मूलतःकोभिड १९ को सेरोफेरोमा केन्द्रित हुने जानकारी दिए। यसअघि २०७२ सालमा महाभूकम्पले तहसनहस बनाए पनि बजेटको प्राथमिकता फेरिएको थिएन। त्यति बेला पुुनर्निर्माण प्राधिकरण गठन गरेर निश्चित रकम विनियोजनमात्र गरिएको थियो।

२०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै सरकारले ल्याएका बजेटको पहिलो प्राथमिकता सडक, सिँचाइ, ऊर्जा, खानेपानी, भवन निर्माणलगायतको पूर्वाधार रहने गरेको थियो। त्यसैअनुसार बजेट विनियोजन हुन्थ्यो। अहिले भने महामारीका रुपमा फैलिएको कोभिड १९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिएको छ। यही कारण प्रभावलाई न्यूनीकरण गरी अर्थतन्त्रको पुनरुत्थान गर्न सरकार बजेटको प्राथमिकता फेर्न बाध्य भएको हो।

–तीन दशकयताको प्राथमिकता फेरियो
–स्वास्थ्य क्षेत्र र यसको पूर्वाधार निर्माणमा जोड
–रोजगारी सिर्जना गर्न तीनै तहमा सहकार्य हुने
–कोभिड प्रभावित क्षेत्रलाई विशेष सहुलियत
–अर्थतन्त्र पुनरुत्थान गर्ने कार्यक्रम
–सञ्चालित ठूला आयोजनालाई पर्याप्त रकम
–बजेट वैदेशिक सहयोगमा निर्भर हुने संकेत  

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको बहुपक्षीय असर न्यूनीकरण गर्न केन्द्रित रहेर आउने बताए। ‘आगामी बजेट मूलतः कोभिड १९ को कारणबाट परेको बहुपक्षीय असरको निराकरण, पूवार्धारसहितको गुणस्तरीय स्वास्थ्यसेवा विस्तार, निजी क्षेत्रका लागि प्रोत्साहनसहित आर्थिक पुनरुत्थान र राष्टिय पूँजी निर्माणमाप्रोत्साहन गर्ने किसिमले निर्माण हुनेछ’, अर्थमन्त्री खतिवडाले संसद्मा भने,‘रोजगारी सिर्जना, सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम पनि बजेटमा रहनेछन्।’

खतिवडाले कोभिड १९ महामारीविरुद्ध लड्न स्वास्थ्य क्षेत्र बलियो बनाउने, कोरोनाबाट प्रभावित क्षेत्रलाई सहुलियत दिने र अर्थतन्त्रको पुनरुत्थान गर्ने मुख्य प्राथमिकता राखेर आगामी बजेट निर्माण गरिरहेको जानकारी दिए। उनले योसँगै मुलुकमा सञ्चालनमा रहेका ठूला परियोजनालाई पर्याप्त रकम दिने तर अति आवश्यक नभई नयाँ योजना बजेटमा समावेश नगर्ने बताए।अर्थमन्त्री खतिवडालेसंघ, प्रदेश र स्थानीयतहको सहलगानीमा स्वास्थ्य पूर्वाधार र जनशक्तिको विकास एवं स्वास्थ्य बिमाका कार्यक्रम ल्याउने संकेत गरे।

संविधानमा जेठ १५ मा संघले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। त्यसैअनुसार अर्थमन्त्री खतिवडाले संसद्मा आइतबार आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्। आगामी जेठ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई पुनरुत्थान कार्यक्रममा समेटिनेछ। बेरोजगारलाई रोजगार र स्वरोजगार बनाउन कृषि, साना, घरेलु तथा मझौला उद्यम र सेवा क्षेत्रमा संलग्न हुनेगरी कार्यक्रम ल्याउने तयारी छ। रोजगारी सिर्जना गर्ने र न्यूनतम समय रोजगारी ग्यारेन्टीको कार्यक्रम तीनै तहको सहकार्यमा एकीकृत रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

यस्तै नेपाली अर्थतन्त्रको भरपर्दो माध्यम भनिएको कृषि उत्पादनमा अहिले टुटेको सम्बन्धलाई जोडेर कृषिमा क्रान्ति ल्याउने गरी पर्याप्त साधन र स्रोत परिचालन गर्ने अर्थमन्त्री खतिवडाको योजना छ।बजेटले निजी क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकता दिनेछ। कोभिड १९ का कारण सबैभन्दा प्रभावित होटल, रेस्टुरेन्ट, हवाई यातायात, ट्राभल, ट्रेकिड तथा पर्वतारोहणलगायत पर्यटन क्षेत्रको पुनरुत्थानलाई बजेटले विशेष प्राथमिकता दिने छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले चालेको कदम (बन्दाबन्दी) का कारण निजी क्षेत्रका व्यवसायमा परेको असर कम गर्न बजेटले कर सहुलियत दिने र मौद्रिक उपकरणबाट थप सहुलियत प्रदान गर्ने भनिएको छ।आगामी वर्ष सरकारलाई प्राप्त हुने आन्तरिक स्रोत (राजस्वलगायत) को कमी हुने भन्दै बजेट वैदेशिक सहायतामा निर्भर हुने संकेत गरिएको छ। चालु आवमा सरकारको लक्ष्यअनुसार राजस्वसंकलन हुन सकेको छैन। आगामी वर्ष पनि यस्तै समस्या रहने खतिवडाको अनुमान छ।

 

प्रकाशित: २९ वैशाख २०७७ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App