८ वैशाख २०८१ शनिबार
अर्थ

कटहरीको तरकारी बजार सञ्चालनमा, किसान र उपभोक्तालाई राहत

तरकारी संकलन र बिक्री वितरणका लागि तरकारी बजारमा राखिएको गाडी । तस्बिर/नागरिक

विराटनगर- किसान र उपभोक्तालाई लकडाउनको समयमा राहत दिने उद्देश्यले प्रदेश १ को सरकारले मोरङको कटहरीस्थित तरकारी बजार सञ्चालनमा ल्याएको छ । बजारको सोमबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर राना (मगर)ले सुभारम्भ गरे ।

लकडाउनको समयमा तरकारी नबिकेर हैरान बनेका सुनसरी र मोरङका किसानलाई तरकारी बिक्रिको वातावरण मिलाउने र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने उद्देश्यले तरकारी बजार सञ्चालनमा ल्याइएको हो । मोरङको कटहरीस्थित थोक तरकारी बजार हाल जिल्ला सहकारी संघको अगुवाइमा प्रदेश सरकारले सञ्चालनमा ल्याएको हो । किसानको खेत, वारीबाटै तरकारी किनेर थोक बजारमा ल्याउने व्यवस्था मिलाइएको छ ।

यस्तै किसानबाट खरिद गरेर ल्याएको तरकारी थोकबजारमा ग्रेडिङ गरी उपभोक्ताको घर, आँगनमै पुर्‍याउने व्यवस्था पनि मिलाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता राजेन्द्र उप्रेतिले जानकारी दिए । उप्रेतिका अनुसार हाललाई मोरङ र सुनसरीका किासनबाट तरकारी खरिद गरी विराटनगरमा बिक्री गर्न थालिए पनि क्रमशः प्रदेश भरीकै किसानको तरकारी खरिद गर्ने र देशका अन्य प्रदेशका शहरहरूमा पनि लिंक गरी प्रदेश १ बाट तरकारी निर्यात गर्ने योजना मन्त्रालयको छ । ‘सुरुवातमा मोरङ र सुनसरीका किसानबाट तरकारी खरिद गरी विराटनगरभर बिक्री वितरण गर्न थालिएको छ’ उप्रेतिले भने ‘क्रमशः प्रदेश भरकै किसानबाट खरिद गरेर काठमाडौं लगायतका अन्य शहरमा पनि निर्यात गर्ने योजना मन्त्रालयको छ ।’

किसानको खेतबाट कटहरीस्थित थोकबजारमा तरकारी ल्याउन र उपभोक्ताको घर दैलोमा तरकारी बिक्रीका लागि पुर्‍याउन ४ वटा गाडिको व्यवस्था गरिएको छ । सोमबार तीन वटा गाडीको व्यवस्था गरिएकोमा मंगलबारदेखि ४ वटा गाडीबाट तरकारी संकलन र बिक्री वितरण गर्ने प्रबन्ध मिलाइएको  जिल्ला सहकारी संघ मोरङका अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनका अनुसार सहकारीले किसानबाट खरिद गरेको तरकारी नाफा नगरी लागत मूल्यमै उपभोक्तालाई उपलब्ध गराउन थालेको छ । जसका कारण उपभोक्ताले हाल बजारबाट खरिद गर्दा भन्दा ५० प्रतिशत सस्तोमा तरकारी पाउने पोखरेलको दाबी छ । पोखरेलले भने‘ बजार मूल्य भन्दा सहकारी मार्फत घर दैलोमा पुर्‍याइने तरकारीको मूल्य आधा नै सस्तो पर्छ ।’

कटहरीस्थित थोक बजार सञ्चालनमा आएपछि तीन वटा पक्षलाई फाइदा भएको पोखरेलले बताए । उनका अनुसार किसानको तरकारीले बजार पाएको छ । उपभोक्ताले सस्तो मूल्यमा ताजा तरकारी उपभोग गर्न पाएका छन् र भारतबाट आयात हुने तरकारीबाट कोरोना फैलिने त्रास पनि हट्ने छ । सहकारीले गाडिबाट मात्रै नभई रिक्सा र ठेलामा तरकारी बिक्री वितरण गर्दै आएका खुद्रा बिक्रेतालाई पनि कटहरीस्थित थोक बजारबाट तरकारी बिक्री गर्ने छ ।

तर, खुद्रा बिक्रेतालाई निश्चित मार्जिन राखेर मात्रै तरकारी बिक्रि गर्न दिइने पोखरेलले बताए । ‘ठेला रिक्साहरूले बढी नाफा लिएर तरकारी बेच्न पाउने छैनन् । तर, उनिहरूलाई बिक्री नभएको तरकारी फिर्ता ल्याउन पाउने व्यवस्था भने गरिएको छ । ‘ठेला रिक्साहरूले तरकारीमा धेरै नाफा लिन पाउनेछैनन्’ पोखरेलल भने‘ठेला रिक्सामा तरकारी बेच्नेलाई घाटा नहोस् भनेर नबिकेको तरकारी सहकारी संघले नै फिर्ता लिने व्यवस्था मिलाइएको छ ।’  

प्रकाशित: ९ वैशाख २०७७ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App