दैलेख– कोटेशनविनै आफूखुसी ३० लाखको सामान नारायण नगरपालिकाले खरिद गरेको छ । ११ वडामा खाद्य सामग्री तथा औषधि खरिदमा कोटेशनविनै खरिद गरेको हो ।
बजारमुल्यभन्दा धेरै विल पेश गरेर खाद्यान्न सामग्रीको भुक्तानी गरिएको छ । नगरपालिकाकै कर्मचारीबाट विल मिलाएर पेश गर्न ब्यापारिलाई सहजीकरण गरेको खुलेको छ । ४२ रुपैयाँ प्रतिकेजी पर्ने चामलको मूल्य ५० रुपैयाँसम्म विलमा मिलाइएको एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताए । ९ सय ५४ परिवारका लागि खरिद भएको खाद्यान्न तथा स्वास्थ्य चौकीका लागि खरिद भएको किटनाशक औषधिमा समेत विल बढाएर पेश गरिएको छ ।
श्रोतका अनुसार पैसा भुक्तानी गरिसकेपछि विलहरु नगरपालिकामा मिलाएर पेश गरिएको छ । अति विपन्न परिवारलाई दिइएको राहतमा पसलैपिच्छे फरक फरक विल आएपछि खर्च भएको राहत रकममा विवाद आएको थियो । नगरपालिकामै कर्मचारीकै संलग्नमा कोटेशन नलिई ३० लाख रकम आफूखुसी चर्को मूल्यमा सामान खरिद गरि अनियमितता गरेको आरोप जनप्रतिनिधिहरुले लगाएका छन् । प्रकृया ख्यालै नगरि आफूखुसी मनपरि रुपमा ३० लाख रकम राहतका नाममा विल बढाएर खर्च भएको भन्दै अहिले जनप्रतिनिधिहरुले विरोध समेत गरेका छन् ।
भ्याट दर्ता नभएका पसलहरुमा नगरपालिकाले २० हजारदेखि मुनिका खुद्रा विलहरु बनाउन लगाएर भुक्तानी गरेको छ । ठूलो कारोवार गर्ने ब्यापारिहरु भ्याट छल्नका लागि पानामा दर्ता भई सञ्चालनमा रहेका छन् । जसले राज्यलाई भ्याट छल्ने गरेको छ । महालेखा परीक्षणको कार्यालयले भ्याट विलमै काम गर्न कार्यालयहरुलाई सुझाव दिएको छ । कोटेशनविनै राहतका लागि खाद्य सामग्री खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले स्विकार गरेका छन् ।
छिटो चाहिने भएकाले सूचना तथा कोटेशन निकाल्ने अँझै धेरै काम समय अपुग भएकाले ब्यापारिहरु कहाँ पुगेर खाद्यान्न सामग्री उठाइएको नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेपालीले बताए ।
प्रकाशित: ८ वैशाख २०७७ १३:२६ सोमबार