१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

बोटमै हुर्कियो करोडौंको ‘फस्ट फ्लस’

इलाको साखेजुङमा टिपाइ ढिलो हुँदा हुर्किएको चियाको मुना । तस्बिर : नागरिक

इलाम- निर्यातमा महत्वपूर्ण हिस्सा ओगटेको चियाको हरियोपत्ती टिप्न नपाउँदा करोडौं रुपैयाँको नोक्सान भएको छ। मुख्य उत्पादन हुने सिजनमै ‘लकडाउन’ भएका कारण वर्षकै गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस) नहुँदा हजारौं किसानको बगानमा हरियोपत्ती हुर्किएर गएको हो।

फस्ट फ्लसको सिजन फागुन तेस्रोदेखि चैत दोस्रो सातासम्ममा सुरु हुन्छ। र, यो करिब १ महिना रहन्छ। यो वर्ष कोरोना भाइरस (कोभिड–१९)को त्रासले चियामा काम गर्न नपाउँदा वर्षभरकै सर्वाेत्कृष्ट गुणस्तर खेर गएको हो। कोरोना त्रासले भिडभाड र कामदारहरू नजिकै रहेर काम गर्न नहुने भएकाले अहिले किसानले चिया टिपेका छैनन्। प्रशोधन उद्योग सबै बन्द छन्। उद्योगी र किसानका अनुसार चियाको हरियोपत्ती समय पुग्नेबित्तिकै टिप्नुपर्छ। तर, यो पटक फस्ट फ्लसको समय घर्किन लागेकाले अब टिपेको पत्तीमा समेत पहिले टिप्दाको जस्तो गुणस्तर आउँदैन। चियामा मात्रै आश्रित हजारौं किसान वर्षभर खाने–लाउने समस्या आउनसक्ने चिन्तामा छन्।

उत्पादनका हिसाबले फस्ट फ्लसको परिमाण वर्षभरको एक चौथाई मात्रै हो। तर, यही टिपाइको चियाले उद्योगी–किसानको वर्षभरको लगानी बेहोरेको हुन्छ। उद्योगीहरूले देश–विदेशका विभिन्न व्यापारीलाई उच्च गुणस्तरको नमुना पठाउने चिया पनि यहीबेला उत्पादन हुन्छ। तर, यो पटक न बगानमा चिया टिपाइ सुरु भएको छ, न कसैले नमुना नै मगाएको÷पठाएको छ। विश्वभर फैलिएको कोरोना त्रासले नेपालको चियामा बेहोर्नै नसकिनेखालको क्षति पु¥याएको किसान–उद्योगीको गुनासो छ।

पहाडी जिल्लामा उत्पादन हुने गरेको उच्च गुणस्तरीय अर्गानिक अर्थाेडक्स चिया जर्मनी, फ्रान्स, अमेरिका, चीन, रुस, जापान, नेदरल्यान्डलगायत दर्जनौं मुलुकमा निर्यात हुन्छ। केही आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ठूलो परिमाणको तयारी चिया चाहिँ भारत निकासी हुन्छ। इलाम, पाँचथर र धनकुटाबाट ठूलो परिमाणको अर्गानिक अर्थाेडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ।

चियाको राजधानी मानिने इलामको सूर्याेदय नगरपालिकामा रहेका साढे ५ दर्जन हाराहारी चिया प्रशोधन उद्योग अहिले बन्द छन्। १ नम्बर प्रदेशका सबै चिया उद्योग बन्द भएपछि प्रशोधन शून्य छ। सूर्याेदय नगरपालिकास्थित सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटमा बर्सेनी ७० हजार किलो तयारी चिया उत्पादन हुँदैथियो। २ सय ६० किसान र आफ्नो हरियो चिया प्रशोधन गर्ने उद्योग यो वर्ष चल्न पाएको छैन। उद्योगमा गतवर्षको यही बेला दिनहुँ १ हजार २ सय किलो हरियो चियापत्ती प्रशोधन हुनेगरेको थियो। ‘जम्मा उत्पादनको २५ प्रतिशत फस्ट फ्लस नै हुन्छ,’ उद्योग सञ्चालक उदय चापागाईं भन्छन्, ‘तर, फस्ट फ्लस नै वर्षभरको खर्च धान्ने आम्दानी हुने गरेपनि यो वर्ष सबै नष्ट भएको छ।’

उद्योगहरूले किसानलाई हरियोपत्तीको सबैभन्दा बढी मूल्य दिने बेला पनि फस्ट फ्लस नै हो। तर, यहीबेलाको चिया टिप्न नपाउँदा उद्योगलाई भन्दा पनि किसानलाई चाहिँ बढी नोक्सान भएको चापागाईं बताउँछन्। बेलामा नटिपेको पत्तीको गुणस्तर नहुने र फस्ट फ्लस नै टिप्न नपाएपछि बोटमा वर्षैभर राम्रो र समयमा पत्ती नपलाउँदा किसानलाई वर्षभरि नै घाटा हुने उनले जनाए।

इलाम नगरपालिका–१, साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिमा ५ सय किसानले हरियोपत्ती प्रशोधनका लागि ल्याउँथे। यो वर्ष मुख्य सिजनमै उद्योग बन्द भएपछि किसानले चिया टिप्न नपाएको उद्योग सञ्चालक कमल मैनाली बताउँछन्। उद्योगले बर्सेनी १ लाख २० हजार किलो तयारी चिया उत्पादन गथ्र्यो्। किसानलाई हरियो चियाको मूल्य प्रतिकिलो ५५ देखि ५ सय ५० रुपैयाँसम्म दिनेगरेको उद्योगले हरियो चियाको मूल्य किसानलाई वर्षमा ५ करोड रुपैयाँ भुक्तान गथ्र्यो। मैनालीले भने, ‘फस्ट फ्लसमा मात्रै १ करोड ४० लाख रुपैयाँ भुक्तान हुन्थ्यो, यो पटक फस्ट फ्लस नै नहुँदा किसानको हातमा त्यो रकम पुगेन।’ उद्योगमा हरियोपत्ती ल्याउनेमध्ये सय हाराहारी किसान चियामा मात्रै निर्भर छन्। उद्योगमा रहेका २० कामदार पनि अहिले कामविहीन भएको उनले बताए।

पाँचथर फिदिमको कञ्चनजंघा टी स्टेटले प्रशोधन गर्ने हरियोपत्ती हरेक फागुन २२ मा फस्ट फ्लस सुरु हुन्थ्यो। चैत १० सम्म केही चिया प्रशोधन गरेको उद्योग अहिले ठप्प छ। ‘फस्ट फ्लस समयमा टिपाइ नहुँदा अरू टिपाइ आफैं ढिलो भएर जान्छ, पत्ती बाँझी बस्यो भने बोटमा रोगसमेत लाग्छ,’ उद्योग प्रबन्धक निरानन्द आचार्य भन्छन्, ‘अब यो वर्षको चिया सकियो भनेर बुझ्दा पनि फरक नपर्ने भो।’ फस्ट फ्लस नहुँदा उद्योगलाई ५२ लाख र बाँकी किसानलाई गरी ९२ लाख रुपैयाँको नोक्सान भएको उनले बताए। ‘यो त अहिले देखिएको घाटा मात्रै हो,’ उनले भने, ‘वर्षभर पत्ती ढिलो हुँदा र यही कारणले बोटमा रोग लाग्दाको हिसाब जोडिएको छैन।’

कञ्चनजंघामा १ सय १२ किसानले हरियोपत्ती प्रशोधनका लागि ल्याउँछन्। उद्योगमा ल्याउनेबाहेक पनि फिदिम आसपास ५ सयभन्दा बढी किसानको चिया अर्गानिक प्रमाणित भएको उनले बताए। कञ्चनजंघाले बर्सेनी ७५ टन तयारी चिया उत्पादन गर्ने गरेकामा फस्ट फ्लस नै १५ टन हुन्थ्यो। गतवर्षको यतिबेला उद्योगमा दिनहुँ ३ हजार किलो हरियोपत्ती प्रशोधनका लागि आउने गरेको थियो।

केही उद्योगले गतवर्ष उत्पादन गरेको तयारी चियासमेत बिक्री गर्न बाँकी नै थियो। यो साल बिक्री गर्नलाई राखिएको चियासमेत लक डाउनका कारण थन्किँदा दोहोरो घाटा हुने अवस्था आएको उद्योगी बताउँछन्। गतवर्ष चीनमा निकासी गर्न लागिएको ८ हजार किलो चिया अहिलेसम्म भण्डारमै रहेको जस्बिरे चिया उद्योगका सञ्चालक सरद सुम्बा बताउँछन

उद्योगले गतवर्ष १ सुइरोमात्र भएको पत्तीको मूल्य प्रतिकिलो १ हजार ५ सय र १ पात १ सुइरोको मूल्य प्रतिकिलो ६० रुपैयाँ किसानलाई दिएको थियो। इलाम, पाँचथर, धनकुटा, तेह«थुम, झापालगायत जिल्लाका किसानले सहकारी नै गठन गरेर पनि चिया उत्पादन गरिरहेका छन्। तर, यो वर्ष कसैले हरियोपत्ती टिप्न नपाएको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउँछन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार १४ जिल्लाका ९ हजार २ सय ३६ किसान चियाको व्यावसायिक उत्पादन गर्छन्। इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन्। बोर्डका अनुसार देशभर १ सय ८ ठूला चिया उद्योग र बगान छन्। चिया खेती गर्ने किसानको संख्याका आधारमा इलाम देशमै पहिलो हो। तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुन्छ। अध्ययनअनुसार इलाममा ५ हजार ५ सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन्। झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै यसैबाट भइरहेको छ।

चिया क्षेत्र ठप्प हुँदा यसमा आश्रित हजारौं श्रमिकको रोजीरोटीसमेत धरापमा छ। इलाममा ४ र झापामा ३ चिया बगान सरकारी स्वामित्वमा छन्। यी बगानमा ६ सय चिया श्रमिक स्थायी छन्। दैनिक ज्यालादारीमा काम गर्नेको संख्या त्योभन्दा ठूलो छ। आफ्ना सातै बगान सरकारले २०५७ सालमा त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि लिजमा दिएको छ। देशभर सरकारी र निजी गरी ३० लाख ९५ हजार २ सय ८४ जनाले चिया क्षेत्रमा रोजगारी पाएका छन्। तीमध्ये ३ हजार २ सय ४४ स्थायी श्रमिक छन्। बाँकी अस्थायी रूपमा काम गरिरहेका छन्।

मापदण्डसहित उद्योग खुलाउने प्रयास
स्थानीय तह र प्रदेश सरकारको पहलमा इलामका चिया उद्योग खुलाउने प्रयास भइरहेको छ। तर, कोभिड–१९ संक्रमणबाट जोखिएर चिया टिप्न र प्रशोधन गर्न कसरी सकिन्छ भन्ने छलफलमा जनप्रतिनिधि, उद्योगी र किसान जुटेका छन्।

१ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले चिया उद्योग खुलाउनेबारे पहल भइरहेको बताए। ‘फस्ट फ्लस टिपाइ नहुँदा चियामा सबैभन्दा बढी घाटा हुन्छ र त्यसलाई १ दिन ढिलो गरेर पनि टिप्न नहुने भएकाले हरियोपत्ती निकै महत्वपूर्ण हुन्छ भन्ने थाहा छ,’ गृहजिल्ला इलाम नै भएका मन्त्री रानामगरले नागरिकसँग भने, ‘संघीय सरकार र स्थानीय तहहरूसँग छलफल चलिरहेको छ, कुनै प्रावधान बनाएर चिया उद्योग र बगान सञ्चालन गर्नुपर्छ ।’ उनले १ नम्बर प्रदेशमा मुख्य उत्पादन हुने चियाको बगान र उद्योग नखुल्दा अर्बाैंको अर्थतन्त्र ध्वस्त हुनेमा आफू गम्भीर रहेको पनि बताए।

सूर्याेदय नगरपालिकाले कामदार सुरक्षित भएर चिया बगान र उद्योग सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको छ। ‘नगरको मुख्य आम्दानीको स्रोत रहेको चिया सबैभन्दा महत्वपूर्ण सिजनमै ठप्प भएपछि हजारौं किसानलाई प्रत्यक्ष नोक्सानी भएको छ,’ मेयर रणबहादुर राईले भने, ‘कोरोना संक्रमणबाट जोखिने उपयुक्त मापदण्ड बनाएर बगान–उद्योग खुलाउन छलफल गर्दैछौं।’ मेयर राईले कोरोनाबाट जोगिनु नै सबैभन्दा चुनौती रहेकाले नगरले निश्चित मापदण्ड बनाएरमात्र उद्योग–बगान खोल्ने वातावरण बनाउने जनाए।

 

प्रकाशित: १९ चैत्र २०७६ १७:०४ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App