१२ जेष्ठ २०७७ सोमबार
अर्थ

‘लकडाउन’को मारमा गाईभैसी पाल्ने किसान

तनहुँमा सञ्चालित भैसी फार्ममा दूध दुहुँदै कामदार । व्यवसायीक भैसीफार्ममा पालिएका दुहुनो भैसी । तस्बिर : विनोद/नागरिक

दुलेगौँडा (तनहुँ)- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन मुलुक दुई साताका लागि ‘लकडाउन’ गरिएको छ। यो अवधिमा अत्वाश्यक बाहेकका सबै क्षेत्र र सेवा बन्द छन्। कृषी प्रधान मुलुकमा किसानलाई लकडाउनले नराम्ररी थला पारेको छ।  

तनहुँमा दुग्ध उत्पादनमा लागेका किसान संकटमा छन्। कतिपय स्थानमा उत्पादित दुग्ध जन्य पदार्थले बजार पाएको छैन। एकातिर बजार छैन, अर्कोतिर गाईभँसीलाई खुवाउने दाना, चोक्कर र परालको अभावले किसान पिल्सिएका छन्। लकडाउनको अवधि दुई हप्ता लम्बिए गाईभैसीले खान नपाएर भोकै मर्ने अवस्था आउने किसान बताउँछन्।

झन्डै तीन दशकदेखि गाई पालन गर्दै आएका बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका किसान कृष्ण भट्टराईको ध्यान यतिबेला दाना, चोक्कर र पराल कसरी जोहो गर्ने भन्नेतर्फ छ। उनले भट्टराई मल्टीएग्रोमा दुई सय बढी गाई पालेका छन्। फर्ममा उत्पादित दूध पोखराको दूध कम्पनीले नियमित लैजान्छ। तर, दाना, चोक्कर र परालको अभावले गाईलाई पेटभरी खुवाउन नपाएको उनी बताउँछन्। त्यसो हुँदा दूध उत्पादन घटेको छ। दैनिक १२ सय लिटर उत्पादन हुनेमा लकडाउन सुरु भएपछि दानापानीको मात्रा घटाएर खुवाउँदा उत्पादन ८ सय लिटरमा झरेको भट्टराईले बताए।

‘दाना पराल त्यति धेरै स्टकमा राख्न सक्ने क्षमता छैन। पहिलाको जस्तै खुवाएको भए चार दिनमै सकिन्थ्यो। पु¥याउन थोरै दिँदा दूध उत्पादन घटेको छ’, उनी भन्छन्, ‘कम्पनीले पैसा नदिएसम्म दाना र पराल केही पठाउदिन भन्छन्। दूधको पैसा तत्काल आउदैन। साथमा भएको पैसा सकिसक्यो। बैंकको पैसा निकाल्न खुलेको छैन। अब गाईलाइ के खुवाएर पाल्ने भन्ने चिन्ता बढेको छ।’ २७ वर्षदेखि निरन्तर गर्दै आएको पेशा संकटमा परेको उनको भनाई छ। ‘दुई सातासम्म त जसोतसो धानौँला। त्यसपछि पनि लकडाउनको अवधि बढेमा के खुवाएर पाल्ने हो?’, उनको प्रश्न छ।

२०६२/०६३ को जनआन्दोलन र नाकाबन्दीको बेलामा पनि गाईभैसीलाई दानापानी खुवाउनै नसक्ने स्थिती नआएको उनले बताए। ‘त्यतिबेला दूध बेचेर कमाई हुन्थेन। तर गाईबस्तु पाल्नै नसक्ने अवस्था भएन। अहिले पेशाबाट हातै झिक्नुपर्ने स्थिती आउला जस्तो भयो’, नागरिकसंग उनले भने। तीन तहका सरकारले किसानको समस्यमा चासो नदेखाउँदा अन्यौल पैदा भएको भट्टराईले बताए।

भट्टराईलाई दानापानीको चिन्ता हो। यहाँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा युवाहरुले सामूहिक रुपमा सञ्चालन गरेको शुक्ला सुरौदी लाइभस्टक एग्रो प्रालीमा भने डेरीले दूध नलैजादा समस्या छ। एग्रोका अध्यक्ष ऋशेश्वर भुवाई (ऋतु) भन्छन्, ‘विहानको दूध गाउँमै बिक्री हुन्छ। साँझ डेरीले नलिँदा गाउँमै  निःशुल्क बाँड्ने गरेका छौँ।’ उनका अनुसार फर्ममा विहान बेलुका एक सय लिटर दूध उत्पादन हुन्छ। गाईभैसीलाई खुवाउने दानापानी अभाव भएपछि जंगलको स्याउला खुवाएर पालेको उनले बताए। ‘दानापानी सिध्यिएको छ। लकडाउनले तराईबाट आएको छैन। धन्न जंगल नजिक हुँदा स्याउला खुवाएर भए पनि पालेका छौँ’, उनले भने। दूध नदिने भैसीलाई चरणमा लैजाने गरेको बताए।

जिल्लामा पछिल्लो समय व्यक्तिगत, सामूहिक र सहकारीमार्फत व्यवसायीक गाईभैसी पालनमा लाग्नेहरु बढ्दै छन्।

तनहुँ जिल्ला दूधमा आत्मानिर्भर छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको गतवर्षको तथ्याङ हेर्दा यहाँ वार्षिक ४९ हजार ५ सय ४३ मेट्रिक टन दूध हुन्छ। वार्षिक २९ हजार ४ सय १९ मेट्रिक टन माग रहेको छ। मागको तुलनामा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढि उत्पादन हुने गर्दछ।

जिल्लामा खपत भएर बढि भएको दूध पोखरा पठाउने गरिन्छ तर, यतिबेला बजारमा माग नभएको बताउदै सहकारी, डेरीले दूध लिन मान्दैन। सधैभर विचौलियाको मारमा परेका किसान लकडाउनले दूध नै निःशुल्क बाँड्नुपर्ने अवस्था आउँदा चिन्तित छन्। सहकारी र प्राइभेट डेरीहरुले बजार नरहेको बताउदै दूध उठाउन मानेका छैनन्।

दुग्ध उत्पादक कृषी सहकारी संघ तनहुँका उपाध्यक्ष प्रेम पौडेल किसानद्धारा दूध उठाईरहेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो मातहातमा रहेका किसानले उत्पादन गरेको दूध संकलन गरेर पोखरा पठाउछौ। यतिबेला जिल्लामा बिक्री नहुने समस्या छ’, उनले भने। संघ मातहातमा नरहेको सहकारी र प्राइभेट डेरीले दूध नलिएको गुनासो आइरहेको उनको भनाई छ।

 

प्रकाशित: १९ चैत्र २०७६ १६:३९ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App