४ वैशाख २०८१ मंगलबार
अर्थ

होटल हायात बन्द, अन्यमा छलफल

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावले काठमाडौंस्थित पाँचतारे होटल हायात रिजेन्सीले आफ्नो सेवा बन्द गरेको छ। होटल व्यवस्थापनले बिहीबार सूचना जारी गरी वैशाख ९ सम्मलाई होटेलका सेवा बन्द गरेको जानकारी गराएको छ। होटलमा पाहुना कम हुँदै गएको र बुकिङ समेत नरहेकाले सेवा बन्द भएको सूचनामा उल्लेख छ। उक्त समयमा होटलले कुनै प्रकारका कोठा बुकिङ नगर्ने र रेस्टुरेन्टबाट दिँदै आएका सेवासमेत बन्द राख्ने जनाइएको छ। सभा, सम्मेलन तथा पार्टीका लागि आएका बुकिङसमेत रद्द भएको होटलले जनाएको छ।

युरोपका सबै मुलुकका नागरिकलाई वैशाख ३ सम्म नेपाल प्रवेशमा सरकारले रोक लगाएपछि काठमाडौंका अन्य होटलले पनि आफ्नो सेवा बन्द गर्ने देखिएको छ। व्यवसाय सञ्चालन वा बन्द गर्ने निर्णय लिन सक्ने अधिकार होटलहरुलाई नै दिइसकेको होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले जानकारी गराइन्। ‘होटलको अकुपेन्सी शून्यमा आयो भने बन्द गर्न सकिने निर्णय गरेको छौं’, उनले भनिन्।

अर्काे पाँचतारे होटल सोल्टीले समेत आफ्नो अकुपेन्सी १० प्रतिशतमा झरेको जानकारी दिएको छ। होटलसम्बद्व एक अधिकारीका अनुसार सोल्टीमा रहेका तीन रेस्टुराँमध्ये एकमात्र सञ्चालनमा छ। बिहीबारसम्म होटलले सेवा बन्द गर्ने निर्णय नगरेपनि शुक्रबारदेखि युरोपेलीलाई नेपाल आगमनमा रोक लगाइएका कारण होटलले उपयुक्त निर्णय लिन सक्ने स्रोतको दाबी छ।

तीर्थालुबीच एक मिटर दूरी राख्न आग्रह
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उ·यन मन्त्री योगेश भट्टराईले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक स्थलमा एकपटकमा २५ जनाभन्दा बढी दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। त्यस्ता स्थलमा लामबद्ध हुने दर्शनार्थीबीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्। मन्त्रालयमा मातहतका निकायका विभागीय प्रमुुखको बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकका निर्णय कार्यान्वयन थाल्न निर्देशन दिएका थिए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब वैशाख १८ सम्म बन्द गर्ने लगायतका निर्णय बुधबार गरिसकेको छ। उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

पर्यटन मन्त्रालयको जिम्मेवारीमा परेका कामलाई तत्काल कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै मन्त्री भट्टराईले पर्यटन मन्त्रालयअन्तर्गतका सबै सांस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय चैत मसान्तसम्म बन्द गर्ने जानकारी गराए। यसैगरी सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानका सभाहल र प्रेक्षालयमा चैत मसान्तसम्म कुनै कार्यक्रम आयोजना नगर्न र पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगन गर्न निर्देशन दिइएको छ।

बैठकले पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेस्टुरेन्ट एवं बारले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसैगरी मन्त्रालय र अन्तर्गतका निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाइ गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्य ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पर्यटक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न नगराउनसमेत निर्देशन दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई विमानस्थलबाट आउने यात्रुलाई स्वस्थताको प्रमाणपत्र अनिवार्य भर्न लगाई स्वास्थ्य जाँच गर्ने व्यवस्था चुस्त बनाउन मन्त्री भट्टराईले निर्देशन दिएका छन्। आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको जनाइएको छ।

विदेशबाट आएका स्वदेशी तथा विदेशी यात्रुलाई १४ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय, अध्यागमन विभागसमेतको समन्वयमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आवश्यक सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ। विदेशबाट नेपाल आउने पर्यटकलाई सेल्फ क्वारेन्टाइन अवधिपछि मात्र ट्राभलर ट्रेकिङ अनुमति प्रदान गर्ने र सो सम्बन्धी व्यवस्थाको जानकारी पर्यटकले विमानस्थलमै पाउने व्यवस्थासमेत मिलाउन निर्देशन दिइएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App