८ वैशाख २०८१ शनिबार
अर्थ

गुणस्तरहीन बिरुवामा नझुक्किन किसानलाई सुझाव

इलामको साखेजुङमा गत सिजनमा पाकेको किवी देखाउँदै किसान तथा प्राविधिक गंगा विष्ट। वैशाख–जेठमा चिचिला लाग्ने किवी कात्तिक–मंसिरमा फल पाक्छ। तस्बिर : भीम/नागरिक

इलाम - किवीफल भन्नेबित्तिकै जुन पायो त्यही बिरुवा नरोप्न अगुवा किवी किसान र प्राविधिकले नयाँ किसानलाई सचेत गराएका छन्। जिल्लामा किवीको गुणस्तरहीन बिरुवा उत्पादन भई बिक्रीसमेत भइरहेकाले गुणस्तरीय बिरुवा चिनेरमात्र खेती गर्न सुझाइएको हो।

जिल्लामा गुणस्तरीय बिरुवा पाइने भएपनि केही गाउँमा गुणस्तरहीन बिरुवासमेत बिक्री–वितरण हुन थालेको उनीहरूले बताए। ‘अहिले जरासँग छिप्पिएको हाँगा जोडेर बिरुवा उत्पादन गरिँदैछ,’ किवीका अगुवा किसान तथा प्राविधिक गंगा विष्टले भने, ‘छिटो पैसा कमाउने उद्देश्यले धेरैतिर गुणस्तरहीन बिरुवा उत्पादन र बिक्री भइरहेको छ। किसान सचेत हुने बेला भएको छ।’ केही किसानले आफूले जिल्लाकै सुलुबुङबाट किनेर लगेको बिरुवा गुणस्तरीन भएको भन्दै किवी जोनको कार्यालयमा निवेदन दिएका छन्। आफूले लगेको बिरुवा नजागेको, जागे पनि दुई वर्षमात्रै बाँचेको भन्दै किसानले गुनासो गरेको किवी जोन कार्यक्रम संयोजक देउकुमार राईले बताए। ‘किसानले ठगिएको गुनासो गरेपछि गाउँमा यस्तो बिरुवा उत्पादन भइरहेको थाहा भयो,’ उनले भने, ‘हामीले त्यस्तो थाहा पाएपछि अनुगमन गरी आइन्दा नगर्न चेतावनी दिएका छौं।’

केही किसानले किवीको बोटको जरा खनेर त्यहीं हाँगा जोडेर बिरुवा उत्पादन गरी बेचेको पाइएको हो। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रोजन खड्काले १२ नर्सरी अनुगमन गर्दा पाँचवटामा गुणस्तरहीन बिरुवा उत्पादन भइरहेको पाएको बताए। ‘सुलुबुङको तालगाउँमा नक्कली बिरुवा उत्पादन भइरहेको रहेछ,’ उनले भने, ‘यस्तो गर्नेलाई किवी जोनले दिने अनुदान कटौती गरिएको छ।’ यसरी उत्पादन गरेको बिरुवा रोप्दा हत्तपत्त नजाग्ने र जागिहाले पनि फल नलाग्ने उनले बताए। ‘फल लागेमा पातलो लाग्छ र बोट टिकाउ हुँदैन,’ खड्काले भने। यस्तो बिरुवा पनि किसानलाई साढे तीन सय प्रतिगोटासम्म बेचेको पाइएको खड्काले बताए।

प्राविधिकका अनुसार किवीको गुणस्तरीय बिरुवा उत्पादन गर्न दानाबाट बिरुवा उमारिन्छ। उम्रेको बिरुवा असारतिर अर्काे नर्सरीमा सारिन्छ। राम्रो फल्ने जातको हाँगा पुस–माघतिर बिरुवामा ग्राफ्टिङ गरिन्छ। करिब तीन वर्षपछि पेन्सिल आकारको भएपछि मात्र बिरुवा तयार हुन्छ। तर, बोटको जरामा सोझै हाँगा ग्राफ्टिङ गरेको बिरुवा एक वर्षमै तयार हुने भएकाले किसानले छिटो तर गलत बाटो रोजेको खड्काको भनाइ छ। ‘किसानलाई यस्तो तरिका कसरी सिक्नुभयो भनेर जिज्ञासा राख्दा आफैं जानेको भन्ने जवाफ आयो,’ उनले भने, ‘तर, कोही अगुवाले सिकाएरै किसानले यसरी छिटो कमाउने उद्देश्यले गुणस्तरहीन बिरुवा उत्पादन गरिरहेको हुनसक्छ।’

इलामकै माइमझुवाको खोर्साने र दोलखाका एक–एक किसानले जोनको कार्यालयमा गुणस्तरहीन बिरुवामा आफू ठगिएको भन्दै जोनको कार्यालयमा गुनासो गरेका छन्। ‘किवीको विज्ञ हुँ भनेर हिँड्नेले नै गुणस्तरहीन बिरुवा उत्पादन गरेपछि इलामकै बदनाम हुने भएकाले किसानलाई सचेत गराउनु जरुरी भएको छ,’ संयोजक राईले भने, ‘किसानले बिरुवा चिनेरमात्र किन्नु राम्रो हुन्छ, आफैंले नचिने प्राविधिक–विज्ञको सुझाव लिनुपर्छ।’ सरकारले किवी फलको व्यावसायिक खेतीका लागि परियोजना नै सञ्चालन गरिरहेको छ। परियोजनाअन्तर्गत जिल्लाको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका वडा नं १, २, ३ र ४ लाई ‘किवी जोन’ घोषणा गरी परियोजना चालू छ।

प्रकाशित: २ चैत्र २०७६ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App