१६ जेष्ठ २०७७ शुक्रबार
अर्थ

आयोगको काममा शंका नगर्न आग्रह

डोल्पा- विकासे योजना तथा कृर्षि प्रवर्दनात्मक कार्यको नाममा भएको आर्थिक अनियमिततामा डोल्पाबाट परेका उजुरीमाथि अख्तियारले स्थलगत छानवीन सुरु गरेको छ। विगतमा विकासे योजनामा हुने नक्कली बील भरपाई तथा योजनाको नाममा हुने आर्थिक अनियमितता र आर्थिक खरिद ऐन विपरितका काम रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो चरणमा दण्डात्मक र निरोधात्मक कार्यलाई प्राथमिकतामा राखेर आयोगमा परेका उजुरीमाथि स्थलगत अनुसन्धान थालिएको बताएको छ।

डोल्पाबाट परेका उजुरीको स्थलगत अनुसन्धान गर्न शुक्रबार डोल्पा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उजुरीमाथिको स्थलगत छानवीन सुरु गरेको हो। त्रिपुरासुन्दरी नगरपालिका अन्र्तगत वडा नम्बर २ कुमारीकोटबगर हुँदै फोक्सुण्डो जाने प्रवेशद्वार मानिएको सुलिगाडसम्मको पदमार्ग निर्माणमा कामै नगरि १० लाख रुपैयाँ भुक्तानी गरेको सम्बन्धमा परेको उजुरीमा आयोगले स्थलगत अनुगमन गरि उपभोक्ता समितिका पदाधिकारी प्राविधिक र नगरका कर्मचारीहरुको प्रारम्भिक बयान समेत लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेशका शाखा अधिकृत मेगनाथ सापकोटाको नेतृत्वमा प्राविधिकसहितको तीन सदस्यीय टोली डोल्पामा पुगेर उजुरी परेका योजनाहरुको स्थलगत अनुगमन गरि सम्बन्धीत उपभोक्ता समितिका पदाधिकारी, निर्माण व्यवसायी र संलग्न कर्मचारीलाई सोधपुछ गर्नुका साथै तेस्रो पक्षबाट समेत जानकारी लिने गरेको छ। अख्तियारमा डोल्पाबाट सबै भन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकामा आर्थिक अनियमितता भएका उजुरीहरु परेका छन्। अख्तियारमा कृर्षि प्रवद्र्धात्मक र विकासे योजनाहरुमा आर्थिक अनियमितता सम्बन्धि परेका १८ ओटा उजुरीमाथि अनुसन्धान थालिएको आयोगले जनाएको छ।

अख्तियारका टोली संयोजक मेगनाथ सापकोटाले भौगोलिक विकटता, सिमित स्रोत साधन, यातायात र सञ्चारको असुविधाका कारण अख्तिायारले चाहेर पनि समयमै उजुरीमाथि अनुसन्धान गर्न नसकिरहेको बताए। उनले आयोग डोल्पामा आउना वित्तिकै उजुरी परेका ब्यक्तिलाई हत्कडी लगाओस भन्ने चाहना सर्वसाधारणमा हुनु स्वभाविक रहे पनि उजुरी प्रारम्भिक अनुसन्धानको आधार मात्र हुन्। कतिपय उजुरीहरु पूर्वाग्रहीसमेत रहेको पाइएकाले सम्पूर्ण अनुसन्धान आरोपितलाई कानुनी कारबाहीको प्रकृया सुरु हुने बताए।

यस्तै, उनले आयोग आफै कारबाही गर्ने निकाय नभएको र यसले अनुसन्धान तथा मुद्दाको लागि आवश्यक प्रमाण जुटाउने निकाय मात्र भएकाले अख्तियारले गर्ने अनुसन्धानमा दुविधा नहुन डोल्पालीलाई आग्रह गरेका छन्। केहि उजुरीहरु अन्तिम अनुसन्धानको चरणमा रहेकाले छुट्टै कारबाहीको लागि मुद्दा चालाइने छ।

डोल्पाका ठुलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला लगायतका केही गाउँपालिकामा आर्थिक अनियमितता सम्बन्धि परेका उजुरीमाथि स्थलगत छानबिन गर्न डोल्पामा आए पनि प्रतिकुल मौसम र भौगोलिक विकटता अनुसन्धानको बाधक बनिरहेको बताइएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ १७:५९ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App