८ वैशाख २०८१ शनिबार
अर्थ

भिसा रोकेका ८ देशबाट ३४ हजार आए

काठमाडौं - अध्यागमन विभागले नोवेल कोरोना भाइरस संक्रमणलाई आधार मान्दै अन अराइभल भिसामा रोक लगाएका आठ देशबाट ३४ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। सन् २०२०को पहिलो दुई महिनामाती मुलुकबाट हवाई मार्ग हुँदै ३४ हजार चार सय ४५ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको अभिलेखले देखाउँछ।

मार्च ६ देखि चीन, जापान, दक्षिण कोरिया,इरान, र स्पेनका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको सरकारले गतसोमबारदेखि फ्रान्स र जर्मनीलाई समेत उक्त सूचीमा राखेको छ। कोरोनाभाइरसको संक्रमण गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलोपटक देखिएको हो। संक्रमण अवधि–– जनवरी र फेब्रुअरी––मा चीनबाट १५ हजार चार सय ५४ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्।अर्को संक्रमित मुलुक जापानबाट चार हजार पाँच सय ३४, दक्षिण कोरियाबाट पाँच हजार एक सय ५७, इटालीबाट १२ सय ६९, इरानबाट दुई सय २१, फ्रान्सबाट दुई हजार नौ सय ३१, जर्मनीबाट तीन हजार सात सय ३४ र स्पेनबाट ११ सय ४५ पर्यटक नेपाल भित्रिएको सरकारी तथ्यांकले देखाउँछ।

कोरोना संक्रमण रोक्न छिमेकी मुलुक भारतले कुनै पनि मुलुकका नागरिकलाई १५ अप्रिलसम्मभिसा नदिने निर्णय गरेको छ। भारतका संघीय स्वास्थ्यमन्त्री हर्ष बर्धनको नेतृत्वमा बुधबार सम्पन्न विभिन्न मन्त्रीहरुको बैठकले कूटनीतिज्ञ, राष्ट्रसंघीय निकायका अधिकारी र आफूलाई नभई नहुने परियोजनाका विदेशी कर्मचारी बाहेकलाई १५ अप्रिलसम्म भिसा नदिने निर्णय नयाँ दिल्लीले गरेको हो। संयुक्त राज्य अमेरिकाले बेलायत र आयरल्यान्ड बाहेक युरोपका कुनै पनि देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ। उत्तरको छिमेकी चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणमा नजान तथा सामान निर्यातमा समेत रोक लगाएको छ। उसले पनि कोरोना विस्तार रोक्न यो कदम चालेको हो।नेपालले भने भाइरस संक्रमित देशका नागरिकले आफूमा संक्रमण नभएको सर्टिफिकेट लिएर आए सहजै प्रवेश दिइरहेको छ।

अन्य मुलुकले भने कारोना भाइरस संक्रमण फैलिएका मुलुकबाट आउनेलाई प्रवेश नै रोकेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नोवेल कोरोनाभाइरसको संक्रमण एक सय २५ भन्दा बढी देशमा फैलिइसकेको जनाउँदै यसलाई ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ। डब्लुएचओले कोरोना संक्रमणलाई हल्का र लापरवाहीपूर्वक नलिन आग्रह गरेपनि नेपाल आउने पर्यटकले भने थर्मल स्क्यानर (सामान्य ज्वरो तथा रुधा–खोकी जाँच) को आधारमा खुलेआम प्रवेश पाइरहेका हुन्। सरकारले गत फागुन ४ गते चीनबाट नेपाल ल्याइएका एक सय ७५नेपालीसहित उनीहरुलाई लिन चीन गएको नेपाल वायुसेवा निगमका जहाजका कर्मचारीलाई १४ दिन क्वारेन्टाइनमा राख्यो। तर संक्रमित मुलुकबाट आउने अन्य हवाई यात्रुलाई भने आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छैन। संक्रमित देशबाट आउने पर्यटक कोरोनामुक्त भएका कारण उनीहरुले सहजै प्रवेश पाइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ।

हाल भाइरस संक्रमण फैलिएका देशसँग हवाई सम्पर्क कायमै रहेकाले सर्वसाधारणमा भाइरसभित्रिने त्रास कायमै छ। सरकारी अधिकारी भने आवागमन बन्द गरेर समस्या समाधान नहुने बताउँदै विमानस्थलमा उच्च सतर्कता बढाएको र प्रभावित देशबाट आएका यात्रुमाथिको निगरानी विशेष बनाएको तर्क गर्छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार केही देशमा १४ दिन क्वारेन्टाइनमा बसेकामा समेत कोरोनासंक्रमण देखिएकोे पुष्टि भएको छ। नेपालको सन्दर्भमा संक्रमित देशबाट नेपाल आएका पर्यटकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ कि छैन वा उनीहरू कहाँ–कहाँ गए भन्नेसमेत सरकारलाई थाहा छैन।

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App