coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोठ/खोर सुधारमा आधारित अनुदान कार्यविधि स्वीकृत

नुवाकोट - व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यसहित विदुर नगरपालिकाले गोठ/खोर सुधारमा आधारित अनुदान कार्यविधि स्वीकृत गरेको छ। विदुर नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को स्वीकृत बजेट तथा कार्यक्रममा गाई/भैसी गोठ सुधार, बंगुरको खोर सुधार, कुखुरा खोर सुधार र प्रजननयोग्य बोयर बोका वितरण गरी कृषकलाई व्यावसायिक पशुपक्षीपालनतर्फ उन्मुख बनाउन उक्त कार्यविधि ल्याइएको हो।

नगरपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यले १३ वटै वडामा लागू हुनेगरी नगर कार्यपालिकाको बैठकबाट उक्त कार्यविधि छैटौं नगरसभाबाट स्वीकृत गरेको हो। यस कार्यक्रमले नगरपालिकाको १३ वटै वडामा छनोट भएका व्यावसायिक पशुपक्षी फर्मलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरिने मेयर सञ्जु पण्डितले बताए। मेयर पण्डितको अनुसार अनुदान रकम सम्बन्धित फर्मको खातामा पठाइनेछ।

अनुदान रकमअन्तर्गत गाइभैसी गोठ मर्मत सुधारका लागि प्रतिफर्म एक लाख, बाख्रा खोर सुधारका लागि प्रतिफर्म ८० हजार,  कुखुरा खोरका लागि (लेयर्स र लोकल) प्रतिफर्म ५० हजार, बंगुर खोर सुधार प्रतिफर्म ५० हजार, कालिज खोर सुधारतर्फ प्रतिफर्म ५० हजार रुपैयाँ प्रदान गरिने छ। प्रजननयोग्य बोयर बोकाको हकमा भने निश्चित मूल्यको २५ प्रतिशत रकम सम्बन्धित फर्मको कृषकले तिर्नुपर्ने मेयर पण्डितले बताइन्।

मेयर पण्डितका अनुसार एउटा फर्मले एकभन्दा बढी कार्यक्रममा आवेदन दिन पाउने छैनन् भने कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी वर्ष पनि निरन्तरता दिइनेछ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App