१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटक बढे,होटलको अकुपेन्सी बढेन

काठमाडाैँ - चीनको वुहान प्रान्तबाट फैलिएको नोवल कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० प्रभावित भएको छ। कोरोनाको बढ्दो संक्रमणबीच फेब्रुअरीमा नेपाल आउने पर्यटक भने पोहोरको तुलनामा बढेको सरकारी तथ्यांकले देखाउँछ।

होटल व्यवसायमा ८० प्रतिशत अकुपेन्सी घेटेको सम्बद्ध व्यवसायीले दाबी गरे पनि गत फेब्रुअरीमा पोहोरको सोही तुलनामा हवाई मार्गबाट झन्डै दुई प्रतिशत बढी पर्यटक आएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ। भारतबाहेक अन्य मुलुकका बढी पर्यटक आउने भनेको हवाई मार्गबाटै हो। गत वर्ष फेब्रुअरीमा ७५ हजार ६ सय ३४ पर्यटक हवाईमार्गबाट नेपाल आएकोमा यो वर्ष ७७ हजार ६४ जना भित्रिएका छन्। विभागका अनुसार यो वर्ष जनवरीमा हवाई मार्गबाट ६५ हजार नौ सय ८३ पर्यटक नेपाली भत्रिएका थिए। जनवरीमा हवाई र स्थलमार्गबाट गरी कुल ७९ हजार ६ सय ८६ पर्यटक नेपाल आएको तथ्यांक छ।

जनवरीको तुलनामा फेब्रुअरीको संख्या झन्डै १२ हजारले बढी भए पनि पर्यटनसम्बद्ध व्यवसायी भने कोरोनाका कारण होटल व्यवसायमा ठूलो घाटा बेहोनुपर्ने बताइरहेका छन्। सन् २०२० को पहिलो महिना र पोहोर फेब्रुअरीको तुलनामा यसपालि फेब्रुअरीमा नेपाल आउने पर्यटक बढे पनि होटल व्यवसाय भने सुनसान जस्तै बनेको व्यवसायीको दाबी छ। होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम महासचिव विनायक शाहका अनुसार तथ्यांकले बढी पर्यटक नेपाल आएको देखाए पनि संक्रमणको डरले समूहमा आउने पर्यटक रोकिादा होटल व्यवसायमा लगानीको जोखिम बढेको छ।

‘एकातिर अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने पर्यटकको तथ्यांक बढेकोे देखिन्छ, अर्काेतर्फ अन्तर्राष्ट्रिय उडानमा झन्डै ५० प्रतिशत हवाई यात्रु घटेका छन्,’ नागरिकसँग उनले भने, ‘पर्यटक आगमनले मात्रै व्यवसायलाई नाफामा लैजान सक्दैन। होटल व्यवसायलाई जिवन्त राख्न विभिन्न एनजिओ, आइएनजिओ तथा कूटनीतिक तहबाट हुने सभा, सम्मेलनजस्ता कार्यक्रम हुनुपर्छ। त्यस्ता कार्यक्रम प्रभावित हुँदा होटल क्षेत्रले नोक्सानी भोगिरहेको छ।’ कोरोनाका कारण पहिले बुकिङ भएका होटलका कोठादेखि सभासम्मका कार्यक्रम रद्द हुँदा देशभरका होटलमा समस्या देखिएको उनको भनाइ छ। ‘समूहमा आउने खर्चालु देशका पर्यटक संक्रमणबाट सजग बन्दा पर्यटन मात्रै नभएर देशको अर्थतन्त्रमै दुष्प्रभाव परिसकेको छ,’ उनले भने।

यसपालि फेब्रुअरीमा नेपाल आउने पर्यटक बढे पनि होटल व्यवसाय भने सुनसान जस्तै बनेको व्यवसायीको दाबी

संक्रमणमुक्त देशका नागरिक निर्धक्क भएर घुम्ने अवस्था नरहेको र नेपाल आएकाले पनि संक्रमण फैलन सक्ने डरले बसाइ छोट्याउँदा व्यवसाय प्रभावित बनेको उनले बताए। वसन्त ऋतुसँगै सुरु हुने ट्रेकिङको सिजनमा नेपाल आउन चाहने पर्यटकमध्ये संक्रमण नभएका देशबाट बढी घाटा भोग्नुपरेको समेत उनले बताए। विश्व स्वास्थ संगठनले समेत नेपाल संक्रमणको खतरामा रहेको बताएपछि व्यवसायमा अझ गिरावट आएको अनुभव उनले सुनाए। ‘चिनियाँ पर्यटक नेपाल आउन छाडेका छन्। कोरोनोको त्रासले अन्य मुलुकका पर्यटकको नयाँ बुकिङमा समेत असर परेका कारण होटलमा कार्यरत कर्मचारीलाई ज्याला दिन समेत समस्या देखिएको छ,’ शाहले भने।

कोरोनाको प्रभावले व्यवसायमा देखिएको जोखिम कम गर्न तथा अन्य पर्यटकीय बजार खोज्न होटल व्यवसायी छलफलमा जुटेको उनले बताए। भुटान, ताइवान, भारत, श्रीलंका तथा युरोपेली मुलुकबाट आएका बुकिङ समेत रद्द हुँदा होटलको सेवा प्रभावित बनेको शाहको भनाइ छ। कोरोनाको असरले पर्यटन तथा हवाई क्षेत्रमा अर्बौंको नोक्सानी भोग्नुपरेको अवस्थामा संक्रमणको दुष्प्रभावबाट व्यवसाय बचाउन व्यवसायीलाई सरकारको साथ आवश्यक रहेको उनले बताए। एउटा समूह आउँदा १० देखि १५ कोठा बुक हुने गरेको शाह बताउँछन्। भाइरसकै कारण होटलमा हुने कार्यक्रम प्रभावित बन्दा व्यवसायीले लिएको ऋण, कर्मचारीको पारिश्रमिक र सरकारी कर तथा बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुग्ने उनले बताए।

कोरोनाका कारण विदेशी पर्यटकमा प्रभाव रहे पनि आन्तरिक पर्यटनमा जोड दिए होटल क्षेत्रलाई राहत हुन सक्ने उनको अनुमान छ। आम मानिसमा रहेको मनोवैज्ञानिक त्रास कम नभएसम्म होटल व्यवसायमा सुघार हुनेमा शंका रहेको शाह बताउँछन्। नेपालमा अहिलेसम्म कोरोना संक्रमित नभेटिए पनि होटलहरूलाई भने मिडिया भाइरस लागेकोे उनको गुनासो छ। सरकारले ट्राभल एडभाइजरी लागू गराएर पहिला स्वदेश त्यसपछि मात्रै विदेश धुम्ने नीति लागू गरे आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र त्यसबाट होटल क्षेत्रलाई राहत हुने उनको अपेक्षा छ।

नाम नछाप्ने सर्तमा राजधानीको पाँचतारे होटल सम्बद्ध एक कर्मचारीले होटलमा हुने सभा सम्मेलन मात्रै नभएर नेपालीले समेत कार्यक्रम गर्न छाडेकाले असर थपिँदै गएको सुनाए। सरकारले सभा, सम्मेलन नगर्न र अत्यावश्यक बाहेक अन्य देशको यात्रा नगर्न सूचना जारी गरेका कारण स्वदेशभित्रै हुने कार्यक्रम प्रभावित बनेको उनले बताए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App