७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोरोना प्रभाव, पर्यटकले समेत खुलेर होली खेलेनन्

काठमाडौं - फागु पूर्णिमाका दिन हिँड्नसमेत मुस्किल पर्ने राजधानीको बसन्तपुर र ठमेल क्षेत्र यो वर्ष भने कोरोनाका कारण निकै शान्त देखियो। विश्वभर फैलिएको कोरोना भाइरसकोे त्रासले भीडभाडमा नजान र पानीसहितको होली नखेल्न प्रशासनले गरेको अपिलका कारण उक्त क्षेत्रमा यसअघिका वर्षजस्तो चहलपहल नदेखिएको हो।

प्रशासनद्वारा फागुलक्षित मेला, उत्सव र सांगीतिक कार्यक्रममा समेत रोक लगाइएपछि विदेशी पर्यटकले समेत खुलेरै मनाउँदै आएको होली पर्व यो वर्ष खल्लो जस्तै देखियो। विगतका वर्षहरुमा होलीको अवसर पारेर उपत्यकाका वसन्तपुर, इन्द्रचोक, असन, दरबारमार्ग, पाटन तथा भक्तपुर दरबार क्षेत्रमा पर्यटकले भरिभराउ हुने तथा समूहमा रहेर विदेशीले समेत नेपालीसँगै होली मनाउने गरेका भए पनि यो वर्ष उक्त दृश्य यदाकदामा मात्रै सीमित रह्यो।

विगतका वर्षमा अनुहारमा सिल्भर पेन्ट (सेतो पेन्ट) लगायर होली खेल्न वसन्तपुर पुग्ने युवा जमातसमेत देख्न मुस्किल भयो यो वर्ष। दिनको मध्यतिर थोरैको संख्यामा वसन्तपुर क्षेत्रमा चहलपहल देखिए पनि उपस्थित प्रायः सबैले संक्रमणको त्रासले मास्क लगाएका थिए। त्यस्तै, विगतका वर्षमा लोला, पिचकारीसहित होली खेल्न वसन्तपुर पुग्ने गरेको भए पनि यो वर्ष भने उपत्यकामै पानीरहित होली खेलिएको छ। रङ, अबिर र पानीले सडक समेत रंगिन देखिने विगतको काठमाडौंका भित्री गल्लीमा समेत यो वर्ष कोरोना त्रासदीले निकै कम चहलपहल गरायो।

त्यसो त संसारभर बढ्दै गएको कोरोनाको संक्रमणका कारण नेपाल आउने पर्यटकको संख्यामा समेत कमी आएदेखि राजधानीका पर्यटकीय क्षेत्र तथा प्रमुख व्यापारिक क्षेत्र सुनसान बन्दै गएका छन्। त्यसैको प्रभाव आज विदेशीको आगमनमा निर्भर ठमेल क्षेत्रमा पनि देखिएको छ। पर्यटकको चहलपहल कम हुँदै गएपछि उक्त क्षेत्रको व्यापारमा समेत कमी आएको छ।

विगतको वर्षहरुमा १० हजारभन्दा बढी ह्याप्पी होली लेखिएका प्रिन्टिेड टी–सर्ट बेच्ने गरेको बताउने ठमेलका व्यापारी राजमान डंगोल यो वर्ष भने एक हजार टी–सर्टसमेत मुस्किलले बिक्री भएको बताए। यसअघिका होलीमा होटेलबाट नै त्यस्ता प्रकारका टी–सर्टको अग्रिम बुकिङ हुने गरेको सुनाउने उनी यो वर्ष भने कतैबाट अर्डर नआउँदा खिन्न देखिन्छन्। ‘पोहरमात्रै उनले काठमाडौंका तारेसहित तीन होटलका विदेशी ग्राहकलाई टी–सर्ट सप्लाई गरेका थिए। ‘आम्दानी पनि व्यापारअनुसार ठिकै भएको थियो,’ उनले भने, ‘तर, यो वर्ष भने पर्यटक नै देखिँदैनन् के को व्यापारमा नाफा कमाउनु।’

ठमेल मात्र होइन राजधानीका बानेश्वर, त्रिपुरेश्वर, कीर्तिपुरलगायत क्षेत्रमा विगतका वर्षमा उल्लासमय वातावरणमा होली खेलिने भए पनि यो वर्ष भने ती क्षेत्रसमेत पर्यटकको चहलपहलमा कमी देखिएको छ। पाटनस्थित मंगलबजारमा रङको व्यापार गर्दै आएका भारतीय व्यापारी पंकजलालका अनुसार यो वर्ष गत वर्षभन्दा निकै कम मात्रामा रङको व्यापार भएको छ।

गत वर्षका होलीमा भारतबाटै रङ मगाएर बिक्री गरेको सुनाउने उनी यसपालि बालबालिकाले समेत होलीमा संयमता अपनाएको अनुभव सुनाउँछन्। होलीको दिन रङ किन्नेहरुको भिडभाड रहने उनको पसलमा समेत कोरोनाले असर पुगेको उनले सुनाए।

‘यो वर्ष वयस्कले मात्रै होइन बालबालिकाले समेत होलीमा खुुलेर खेल्न पाएनन्। उनले भने, ‘अभिभावकले बालबालिकालाई समेत पानी खेल्न रोकेका कारण व्यापार शान्त हुन पुगेको हो कि ?’ रङको पर्वका रुपमा मानिने होलीको प्रमुख आकर्षण नै रङ भए पनि यो वर्ष रङ तथा अबिरको औसत व्यापार सून्य रहेको उनको भनाइ छ।

पाटन क्षेत्र घुम्न आउने पर्यटकको संख्यामा समेत केही दिनयता निकै चहलपहल कम भएको पाटन दरबारस्थित टिकट काउन्टरका कर्मचारीको भनाइ छ। विशेषतः नेपालको संस्कृति मन पराउने चिनियाँ, कोरियालीलगायत पर्यटकको संख्यामा कमी आएको उनीहरुको भनाइ छ। सरकारले चैत ५ गतेसम्म परीक्षा सक्न निर्देशन दिएकाले धेरै विद्यार्थी परीक्षाको तयारीमा लागेका कारण पनि होली शान्त देखिएको धेरैको अनुमान छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App