coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कतारमा नेपालीलाई रोक

काठमाडौं – श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ। कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतार सरकारले नेपाली कामदारलाई प्रतिबन्ध लगाएको सूचना त्यहाँस्थित नेपाली दूताबासमार्फत प्राप्त भइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक कुमार दाहालले कतारस्थित नेपाली दूताबासबाट प्रतिबन्ध लगाइएको सूचना प्राप्त भएकाले पुनः अर्को सूचना नआउँदासम्म श्रम स्वीकृति जारी नहुने बताए। ‘हामीले नरोके पनि गन्तव्य मुलुकले प्रतिबन्ध लगाएपछि अब कतारमा नेपाली कामदार जान सक्दैनन्,’ उनले भने।

कोरोना त्रासका कारण वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशतले गिरावट आएका बेला कतार सरकारको उक्त निर्णयले यो संख्या झनै घट्ने अनुमान गरिएको छ।

यसअघि कुबेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ। त्यस्तै दक्षिण कोरियाको हकमा भने विभागले हवाई उडान तालिकालाई एक महिना पछि सारेको छ। महानिर्देशक दाहालले कोरियाको हवाई उडान मार्चपछि हुनेगरी कार्यतालिका फेरबदल गरिएको बताए। फागुन १८ देखि कोरियामा हवाई उडान हुन सकेको छैन। सोही मितिमा ६५ युवा कोरिया उड्ने तयारीमा थिए।

कोरोनाको त्रास फैलिएसँगै विभिन्न गन्तव्य मुलुकले नेपाली कामदारलाई प्रतिबन्ध लगाउने क्रम बढेपछि अर्थतन्त्रमा गम्भीर असर पर्ने खतरा देखिएको छ। आर्थिक वर्ष ०७५/७६ मा आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। सोही वर्ष कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा रेमिटेन्सको हिस्सा २४.४ प्रतिशत थियो। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो ६ वर्षयता कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा रेमिटेन्सको हिस्सा २४ प्रतिशतभन्दा माथि रहँदै आएको छ। रेमिटेन्स घट्दा विदेशी मुद्रा सञ्चितिमा असर पर्छ। सञ्चिति घटे आयातित सामानको भुक्तानी दिन समस्या पर्छ।

कतार सरकारले नेपालसहित बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाएको जनाएको छ। नेपाली अधिकारीले भने अहिलेसम्म नेपालमा कोरोनाबाट कोही पनि संक्रमित नभएको बताउँदै आएका छन्।

कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको हरेक महिनामा १० हजार हाराहारीमा युवाले कतारमा कामका लागि जान श्रमस्वीकृति लिएको तथ्यांक छ। विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार माघमा ४८ हजार ६ सय ७४ ले श्रमस्वीकृति लिएकोमा १० हजार सात सय ६४ जना त्यहाँ गएका छन्।

आर्थिक वर्ष २०७५/७६ मा नयाँ र पुराना गरी पाँच लाख आठ हजार आठ सय २८ ले श्रमस्वीकृति लिँदा सर्बभन्दा बढी एक लाख ६१ हजार दुई सय १५ जना रोजगारीका लागि कतार पुगेका थिए। विगतका वर्ष सर्बभन्दा ठूलो गन्तव्य मलेसिया रहँदै आएकोमा अघिल्लो वर्ष करिब १६ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी रोकेपछि सबैभन्दा ठूलो गन्तव्य कतार बन्दै आएको छ।

हाल श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जान्छन्। ती मुलुकबाट आउने रेमिटेन्सको हिस्सा ७५ प्रतिशत हाराहारी रहँदै आएको छ। कोरोना त्रासका कारण नेपालीलाई प्रतिबन्ध लगाइएको अर्को गन्तव्य मुलुक कुबेतमा आर्थिक वर्ष २०७५/७६ मा २५ हजार नौ सय ९६ जना रोजगारीमा गएका थिए।

विभागका अनुसार चालु आर्थिक वर्षको माघमा श्रम स्वीकृति लिएर कुबेत जानेको संख्या दुई हजार दुई सय ९८ छ । वैदेशिक रोजगार व्यवसायीहरू विश्वभरि फैलिरहेको कोरोना त्रास तत्काल नहट्ने हो भने विदेश जानेको संख्या शून्यमा झर्न सक्ने बताउँछन्। केही दिनयता रोजगारदाता कम्पनीले श्रमिकको माग नै गर्न छाडेको व्यवसायी बताउँछन्।

विदेसिएका युवाको संख्या र भित्रिएको रेमिटेन्स
आर्थिक वर्ष    विदेसिनेको संख्या    रेमिटेन्स (अर्बमा)    जिडिपी हिस्सा (प्रतिशत)
२०७१/७२    ५,१२,८८७    ६१७.३    २९.०
२०७२/७३    ४,१८,७१३    ६६५.१    २९.६
२०७३/७४    ६,५८,९७८    ६९५.५    २६.३
२०७४/७५    ६,५५,०००    ७५५.१    २४.९
२०७५/७६    ५,०८,८००    ८७९.३    २५.४
२०७६/७७ ( ६ महिना)     २,६०,०००    ४४७.२    
स्रोत: नेपाल राष्ट्र बैंक

प्रकाशित: २७ फाल्गुन २०७६ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App