coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यापारिक केन्द्रमै चहलपहल घट्यो

काठमाडाैँ - विश्वभर फैलिरहेको प्राणघातक नोभेल कोरोना भाइरस (कोभिड–१९) को त्रासले राजधानीको व्यापारिक एवं पर्यटकीय क्षेत्र न्युरोड, ठमेल र दरबारमार्ग सुनसान बन्दै गएका छन्।

पछिल्लो समय ती क्षेत्रमा चहलपहल निकै घटेको सम्बद्ध व्यवसायीले बताए। नेपालमा उक्त भाइरस संक्रमण फेला नपरे पनि हल्लाको असरले पर्यटकीय र व्यावसायिक क्षेत्र सुनसान बनेका हुन्। वसन्तु ऋतुको सुरुआतसँगै पर्यटकले भरिभराउ हुने क्षेत्र सुनसान बनेपछि व्यापारीलाई लगानी डुब्ने चिन्ताले सताएको छ। पछिल्लो समय बजारमा विदेशीको मात्रै नभएर स्वदेशीको समेत चहलपहल घटेको व्यापारीको अनुभव छ। ‘गर्मीयामको सुरुआतमा हुनुपर्ने व्यापार, व्यवसायलाई कोरोनाले खायो,’ महाबौद्धका होलसेल व्यापारी उमाशंकर तिवारीले भने, ‘लाखौं लगानीको माल उतै (चीनतिर) रोकिएको छ। यता मान्छेको भीड कम हुँदै गएको छ।’ गर्मी मौसममा लगाउने कपडा आउन नपाएपछि केही व्यापारी पसल बन्द गर्ने मनस्थितिमा पुगेको उनले बताए।

उत्तरको केरुङ तथा तातोपानी नाकामा सामान रोकिएको र पसलमा समान सकिँदा ग्राहक घट्दै गएकाले बैंकको ब्याज तिर्नसमेत कर्जा लिनुपर्ने अवस्था आएको तिवारीको भनाइ छ। ‘कोरोनाको प्रभावले न्युरोड मात्रै नभएर चिनियाँ सामान बिक्री गर्ने ठाउँका व्यापारीसमेत पीडित बनेका छन् भन्दै मन बुझाउँछौं,’ उनले बताए। असन क्षेत्रमा व्यवसाय गर्दै आएका भारतीय नागरिक बसन्त राठौरले होलीको समयमा राजधानी सुनसान देखिँदा व्यवसायमा नकारात्मक असर परेको बताए। २२ वर्षदेखि न्युरोडमा व्यवसाय गर्दै आएको दाबी गर्ने उनी होलीको समयमा यस्तो सुनसान पहिलोपटक देखेको बताउँछन्। ‘हर्ष र उल्लाससहित रङको पर्व मनाउन दुई दिनमात्रै बाँकी रहँदा व्यवसायको हालत यस्तो छ,’ उनले भने।

अन्य समयको तुलनामा अहिलेको कारोबार ४० प्रतिशत हाराहारी रहेको उनको भनाइ छ। ‘वसन्त ऋतुको सुरुआतसँगै समूह बनाएर आउने पर्यटक नदेखिएको महिनौं भइसक्यो,’ उनले भने, ‘अहिले त नेपालीसमेत सडकमा देखिन छाडे।’ भाइरसको त्रास आम नागरिकमा धेरै रहेको उनी बताउँछन्। भाइरसको त्रासले विदेशी पर्यटक कम आएको र युरोपेलीसमेत पछिल्लो समय कम हुँदै गएको ठमेलका पर्यटन व्यवसायी राजकुमार क्षेत्रीले बताए। उनले भने, ‘पर्यटकको चहलपहल हुनुपर्ने, ट्रेकिङको बुकिङ आउनुपर्ने हो। तर खोइ ? यस्तै ताल हो भने यो वर्ष भाडा तिर्नसमेत मुस्किल हुन्छ।’ पछिल्लो समय ताइवान, भारत, कोरिया, जर्मनी, जापान लगायत मुलुकबाट आउने पर्यटकको चहलपहल निकै घटेको ठमेलमै भेटिएका ट्याक्सी चालक राम हुमागाईंले बताए।

२२ वर्षदेखि ब्यापार गर्दै आएका व्यवसायीले होलीको समयमा यस्तो सुनसान पहिलोपटक अनुभव गरेकाे सुनाए।

‘सरकारले पाँच देशबाट आउने पर्यटकलाई आउन दिएको छैन भन्ने सुनिन्छ,’ उनले भने, ‘आफ्ना नागरिकलाई भीडभाडमा नजान र संक्रमणप्रति सचेत हुन सुझाव दिएपछि ट्रिप पाउनै गाह्रो भएको छ।’ यात्रु नपाउँदा दिनभर कुरेर बस्ने गरेको उनले सुनाए। विगतमा यो बेला उस्तै परे पाँच हजार रूपैयाँसम्म बचाउने गरेका उनले अहिले परिवारको दैनिक खर्च व्यवस्थापनमा समेत समस्या आएको बताए। पर्यटक सुनसान जस्तै बन्दै गएपछि ठमेलका केही होटल व्यवसायीले ५० प्रतिशत छुटसहित कोठा उपलब्ध गराएका छन्। तैपनि ग्राहक नआएको उनीहरूको भनाइ छ। दुई महिनापहिले बुकिङ गरिएका कोठा रद्द हुने क्रम बढेपछि होटल व्यवसायी आफ्ना कर्मचारीलाई तलब दिन समस्या हुने अवस्थामा पुगेको नाम नछाप्ने सर्तमा ठमेलको होटल चिङफिङको व्यवस्थापन तहका एकजना अधिकारीले बताए।

राजधानीका तारेदेखि पर्यटकस्तरीय होटलसम्मको अवस्था उस्तै रहेको व्यवसायीको भनाइ छ। अहिले होटललाई चाहिने सामानको मूल्यसमेत अकासिएको व्यवसायीको भनाइ छ। बजारमा सर्जिकल मास्क, सेनिटाइजर लगायत वस्तुको समेत अभाव देखिन थालेको छ। काठमाडौंमा विद्युतीय बस चलाइरहेको सुन्दर यातायातले समेत ज्वरो नापेर मात्र यात्रा गराउने जानकारी गराएको छ। बुद्ध एयरले ज्वरो आएको बेला यात्रा नगर्न र टिकट रद्द गर्न सुझाएको छ विश्वभर आतंक मच्चाइरहेको नोवेल कोरोना भाइरस फैलिन सक्ने जोखिमलाई हेरेर स्थानीय प्रशासनले राजधानीका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। मेला, पर्व उत्सव नमनाउन पनि प्रशासनको सुझाव छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App