८ वैशाख २०८१ शनिबार
अर्थ

भेडेटारबाट जिपलाइन सफल परीक्षण, शनिबारदेखि सुरु

धरान–४ भेडेटारमा गरिएको जिपलाइनको सफल परीक्षण। तस्बिर : नागरिक

धरान - पूर्वका पर्यटन व्यवसायीलाई उत्साहित बनाउने गरी धरानको भेडेटार क्षेत्रमा व्यवसायिकरुपमा जिपलाइन सञ्चालनमा आउने भएको छ। कोरोना भाइरस (कोभिड १९)को कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायीलाई साहसिक खेल पर्यटन जिपलाइनले उत्साह दिने अपेक्षा गरिएको छ।

पूर्वको पर्यटकीयस्थल धरान–४ स्थित भेडेटारमा सुरु हुने जिपलाइनको उद्घाटन शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ। भेडेटारबाट धरान–४ कै देवीथानसम्म ६ सय ५० मिटर लम्बाइको यो जिपलाइनको परीक्षण सफल भइसकेको छ। यो जिपलाइन वल्र्डवाइड ग्रुप नेपाल प्रालि धरान–४ ले सञ्चालनमा ल्याउन लागेको हो। केदारबहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतले तीन करोड लागतमा जिपलाइन सञ्चालनमा ल्याएका हुन्। थापा र भण्डारी यसअघि काभ्रेको धुलिखेलमा सञ्चालनमा रहेको जिपलाइनका पनि सञ्चालक हुन्। ‘कानुनी प्रक्रियादेखि सबै तयारी, परीक्षण पूरा भइसकेको छ, शनिबार औपचारिक उद्घाटन हुनेछ,’ सञ्चालक थापाले भने।

यो जिपलाइनमा ३० देखि ४० सेकेन्डसम्म साहसिक पर्यटकले अनुभव लिन सक्नेछन्। यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी तीन प्रकारको रहेको थापाले जानकारी दिए। क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि दुई हजार रुपैयाँसम्म पर्नेछ। क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ। कपल जिपलाइनमा दुईजना आफ्नो साथीसँग अँगालो मारेर खेलिन्छ। धुलिखेलमा यो निक्कै रुचाइएको पनि थापाले बताए। ‘धरानमा दैनिक दुई सयजनालाई जिपलाइन खेलाउने लक्ष्य छ,’ उनले थपे।

नेपाल भ्रमण वर्ष २०२० स्थगित भएपछि निराश बनेका पर्यटन व्यवसायीलाई साहसिक खेल पर्यटन जिपलाइनले उत्साह दिने अपेक्षा

जिपलाइनमा कम्तीमा आठ वर्षदेखि माथि उमेर समूहकालाई खेलाउने कम्पनीले जनाएको छ। विदेशमा पाँच वर्षका बच्चाले जिपलाइन गरेर रेकर्ड कायम गरेका छन्। धरानमा आफ्नो अभिभावकसँग आठ वर्षसम्मकालाई जिपलाइन गराउने सञ्चालकले बताएका छन्। धुलिखेलमा ७५ वर्षका वृद्धले र ६८ वर्षकी वृद्धाले पनि जिपलाइनको मजा लिइसकेका छन्। ‘साहसिक पर्यटक तीन प्रकारमध्ये कुन खेल्ने हो, त्यसअनुसार तौल लिएर मात्र गराउछौं,’ सञ्चालक भण्डारीले भने, ‘प्रेसर भएकालाई गराउन हुँदैन।’ धरानमा तत्काल धुलिखेलबाट प्रशिक्षण पाएका अनुभवी प्राविधिक नै हुनेछन्। पछि धरानमा नै तालिम दिलाएर यहीँकालाई रोजगारी दिने पनि उनले खुलाए।

जिपलाइन गर्ने साहसिक पर्यटकलाई कानुन बमोजिम पाँच लाख रुपैयाको बिमा पनि गरिएको कम्पनीले जनाएको छ। यद्यपि, जिपलाइनमा प्रयोग गरिएका सामग्री अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त र सफल कम्पनीको भएकाले सुरक्षाको चिन्ता नरहेको सञ्चालकको दाबी छ। उनका अनुसार जिपलाइनको तारको भार क्षमता ११ हजार किलोग्रामको छ भने सेफ्टी बेल्ट (हार्नेस)को भार क्षमता २२ देखि २७ सय किलोग्रामको छ। यस्तै, क्याराबिनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुनेछ। ‘हामीसँग वर्ल्ड टेस्टेड कम्पनीको सामान छन्, त्यसैले कुनै समस्या छैन,’ थापाले भने, ‘दुबईमा भएको संसारकै लामो जिपलाइनमा प्रयोग भएको कम्पनीकै सामान यहाँ ल्याएका छौं।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App