७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५ हजारले अवलोकन गरे पोल्ट्री एक्स्पो

नेपाल पोल्ट्री एक्स्पो २०२० मा राखिएकाे एक स्टल। तस्बिर : नागरिक

चितवन - पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ। नेपाल पोल्ट्री महासंघद्वारा आयोजित चितवन एक्स्पो सेन्टर, प्रदर्शनीमार्ग भरतपुरमा शुक्रबारदेखि सञ्चालन भएको थियो।

पोल्ट्रीजन्य उत्पादनका प्रविधिबारे नेपालका पोल्ट्री उद्यमीलगायत कृषकलाई जानकारी दिने उद्देश्यले उत्पादक र वितरक कम्पनीको सहभागितामा प्रदर्शनी सञ्चालन भएको महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए। ‘प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको यस पटकको एक्स्पोमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायिकीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगका लागि आवश्यक नवीन प्रविधिसमेत प्रदर्शन गरिएको थियो,’ उनले थपे।

नेपालको कुखुरापालन क्षेत्रका सरोकारवाला (पोल्ट्री भ्यालु चेन) अन्तर्गतका करिब १५ हजारले प्रदर्शनी अवलोकन गरेको मिश्रको भनाइ छ। ‘यो अवसरमा आदानप्रदान भएको ज्ञान र सीपले नेपाली पोल्ट्री कृषकद्वारा उत्पादित वस्तु कम लागतमै पनि अन्तर्राष्ट्रिय स्तरको पोल्ट्री उत्पादन हुने अपेक्षा गरिएको छ। जसबाट आम उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन पाउने सुनिश्चितता हुने आशा गरेका छौं,’ उनले थपे। प्रदर्शनीमा अवलोकनकर्ताको बढी चासो पोल्ट्री क्लोज्ड हाउस, ब्रोइलरको प्यारेन्ट स्टक, दानाका कच्चा सामग्री, दानाका एन्टी–बायोटिक फ्री औषधि, भ्याक्सिन, कोल्ड रुमलगायत सामग्रीमा देखिएको मिश्रले जानकारी दिए। ‘विश्वव्यापीरकणको प्रभाव नेपालमा पनि देखिँदो छ। यही भएर यहाँका पोल्ट्री सरोकारवालाले उपभोक्तालाई गुणस्तरीय पोल्ट्री उत्पादन उपलब्ध गराउने प्रविधि, मेसिनिरी र औषधिमा बढी ध्यान केन्द्रित गर्दै कम्पनी र वितरकसँग बैठक र छलफल गरेका पायौं,’ मिश्रले थपे।

प्रदर्शनीस्थलमा भेटिएका बुल्गेरियास्थित एसके पिएसडीका कमर्सियल डाइरेक्टर हर्बर्ट सामसोमले पछिल्ला वर्षमा नेपाली पोल्ट्री उद्यमी रासायनिकभन्दा पनि प्राकृतिक कच्चा सामग्रीको अधिकतम प्रयोगबाट गुणस्तरीय दाना बनाउने अभियानमा लागेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘विगतमा जस्तो दाना बनाए पनि हुन्छ भन्ने उद्यमी कुखुराको दानाका लागि नेचुरल प्रोटिनलाई प्राथमिकता दिन थाल्नु भएको छ। यसका लागि हाम्रो कम्पनीले पनि युरोपियन स्टान्डर्डको नेचुरल प्रोटिन सप्लाई गर्दै आएका छौं,’ उनले थपे। प्रदर्शनीमा आइएमई मोटर्सले  भित्र्याएको रेफ्रिजरेटरजडित लाइट भेहिकल्सप्रति कोल्ड स्टोर र मासु व्यवसायीले रुचि देखाएका थिए। पशु सेवा विभागमातहतको एनिमल क्वारेन्टाइनले कुुखरालगायत अन्य पशुको मासु ढुवानीमा रेफ्रिजरेटरजडित सवारी साधनको व्यवस्था हुनु पर्ने नीति ल्याउन लागेकोले व्यवसायीहरु आकर्षित भएका हुन्।

सो सवारी सधान अवलोकन गर्दै रहेका काभ्रे ब्रोइलर सप्लायर्स, बनेपाका सञ्चालक राजेन्द्र थापाले भने, ‘एकातिर स्थानीय सरकारहरुले पनि मासुको ढुवानीमा कडाई गर्दैछन्। संघीय सरकार पनि क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउँदैछ। यही भएर पनि रेफ्रिजरेटर भएको सवारी साधन आवश्यक भइसक्यो’, उनले भने। प्रदर्शनीकै अवसरमा नेपालका पशु चिकित्सक(भेटेरिनरियन)हरुको संस्था नेपाल भेटेरिनरी एसोसियसन, नेपाल पोल्ट्री महासंघ र नेपाल भेटेरिनरी काउन्सिलको संयुक्त आयोजनामा पहिलो पटक ‘पोल्ट्री पाठशाला’ सम्पन्न छ। चार दिनसम्म चलेको पाठशालामा व्यावसायिक कुखुरापालनमा स्वास्थ्य, रोग, खोप, जैविक सुरक्षा, ब्रिडर पोल्ट्री व्यवस्थापन र चल्ला उत्पादनलगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरुको कार्यपत्र र अन्तक्र्रिया रहेको महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए।

चितवनमा दोस्रो पटक आयोजित प्रदर्शनीको नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उद्घाटन गर्दै विदेशी प्रविधिबारेमा जानकारी लिने र प्रयोग गर्ने तरिका सिक्ने आधार प्रदर्शनी बनेको बताएका थिए। सो अवसरमा उनले भने, ‘नेपालको विकास गर्ने प्रयासमा नयाँ योगदान गर्ने आधार बनेको प्रदर्शनीले पोल्ट्री क्षेत्रमा भएका अनुसन्धान र अनुभवलाई एकआपसमा साटासाट गर्ने वातावरण पनि बन्न पुगेको छ’, दाहालले थपे। दाहाललाई चितवनका पोल्ट्री उद्यमीहरुले पोल्ट्री उद्योगकाबारेमा ‘जानिफकार’ नेता मान्दै आएका छन्। यही भएर पोल्ट्रीका हरेक ठूला कार्यक्रममा दाहाल नै प्रमुख अतिथि हुँदै आएका छन्। कार्यक्रममा दाहालले देशलाई आत्मनिर्भर बनाउन पोल्ट्री क्षेत्रले महत्वपूर्ण योगदान दिइरहेको पटक–पटक दोह¥याउँदै भने, ‘पोल्ट्री व्यवसायका क्षेत्रमा विभिन्न अनुसन्धान तथा अन्वेषण गर्ने, त्यसको प्रयोग गर्दै उत्पादकत्व वृद्धि गर्ने र देशलाई आत्मनिर्भर बनाउने कामलाई पोल्ट्री क्षेत्रबाटै टेवा मिलिरहेको छ’, उनले थपे।

महासंघका अध्यक्ष तथा अविनाश पोल्ट्री ग्रुपका अध्यक्ष गुणचन्द्र बिष्टले नेपालमा अझै पनि पोल्ट्रीलाई व्यावसायिक बनाउने खालका नीतिहरु नबनेको र बनेका नीतिहरु पनि कार्यान्वयन गर्न नसकिने खालका रहेको दृष्टान्त दिए, ‘कृषि सुधार शुल्कका नाममा लिएको शुल्क यसैमा नलगाएर अन्यत्र खर्च भइरहेको छ। व्यावसायिक पोल्ट्री प्रबर्द्धनको नीति बनाउनका लागि प्रमुख अतिथिज्यूले पहल गरिदिनुपर्‍यो’, नेकपा अध्यक्ष दाहाललक्षित गर्दै बिष्टले भने। वर्तमान सरकारले कुखुराको दाना बनाउन अत्यावश्यक कच्चा सामग्री मकै र भटमासको पीनाको आयातमा विगतदेखि पाउँदै आएको छुट खारेज गरेर कृषि सुधार शुल्कबापत ५ प्रतिशत पुरै तिर्नु पर्ने नीति ल्याएको हो।  विगतका सरकारहरुले स्वदेशी दाना उद्योगहरुलाई बचाउन र नेपालमै मकै, भटमास पर्याप्त उत्पादन नहुँदासम्मलाई यो शुल्कमा ३ दशमलव ४० प्रतिशत छुट दिएर १ दशमलव ६० प्रतिशतमात्रै असुल्ने गरेको थियो।

प्रदर्शनीमा दुई सयभन्दा बढी स्टलहरुमार्फत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताईवान, इजरेल, बंगलादेशलगायतका कम्पनीहरुले विकास गरेका नवीनतम प्रविधि तथा उत्पादनहरुबारेमा जानकारी दिएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको प्रदर्शनीमा सहकार्य रहेको थियो। यस्तै, नेपाल भेटरीनरी काउन्सिल, नेपाल भेटेरिनरी एसोसियसन, नेपाल औषधि उत्पादक संघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल पशुपंछी औषधि व्यवसायी संघ, नेपाल पशुपंछी औषधि पैठारीकर्ता संघ, नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसियसन, नेपाल लाइभष्टक हेल्थ सर्भिसेज टेक्निसियन एसोसियसन, नेपाल कखुरा व्यवसायी मञ्च र नेपाल कुखुरा बजार व्यवस्थापन संघले पनि सहकार्य गरेका थिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App