७ वैशाख २०८१ शुक्रबार
अर्थ

निजी क्षेत्रको आशा र भरोसाको सम्बाहक बन्न मेरो उम्मेदवारी: ढकाल

राजधानीमा बुधबार आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उद्यमी चन्द्रप्रसाद ढकाल। तस्बिरः नागरिक

काठमाडौं - उद्यमी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि बागलुङ उद्योग वाणिज्य संघले गृहजिल्लामा गरेको प्रस्ताव स्वीकार गरेका ढकालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उम्मेदवारीलाई औपचारिकता दिएका हुन्।

महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, बहालवाला उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित विभिन्न जिल्ला तथा प्रदेशका अध्यक्ष, वस्तुगत तथा एसोसिएटका अध्यक्षको उपस्थिति रहेको समारोहमा उम्मेदवारी घोषणा गरेका ढकालले सबै उद्योगी, व्यवसायीको पक्षमा काम गर्न आफू उम्मेदवार बनेको बताए। ‘निजी क्षेत्रको आशा र भरोसाको सम्बाहक बनेर काम गर्न उम्मेदवारी दिएको हुँ,’ ढकालले भने, ‘सबैको मनोबल सधैं उँचो बनाउने काममा लाग्नेछु।’ निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघलाई अझ बलियो र सबल बनाउन उम्मेदवार बनेको उनले धारणा राखे।

महासंघको साधारणसभा चैत २८ र २९ गते हुँदैछ। महासंघको विधान अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन्। तसथै वरिष्ठ उपाध्यक्षको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ। अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन्। वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले यसअघि विराटनगरबाट उम्मेदवारी घोषणा गरिसकेका छन्।

समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार भन्ने नारासहित उम्मेदवारी घोषणा गरे। निजी क्षेत्रको दरिलो उपस्थितिबिना राज्यको पहलमा मात्र देश समृद्ध बन्न नसक्ने उनले बताए। ‘राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यत्ति द्रुत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ,’ ढकालले भने, ‘राज्य निजी क्षेत्रको लगानीको एउटा साझेदार हो।’

कार्यक्रममा निजी क्षेत्र समृद्धि यात्राको दरिलो खम्बा भए पनि सरकारबाट अपेक्षाकृत सहयोग नपाएको उनले बताए। ‘मुुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ,’ उनले भने, ‘निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकेको छैन।’

ढकालले राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र मुलुकमा सम्मृद्धि ल्याउन सहयोग पुग्ने दाबी गरे। ढकालले आर्थिक विकास र समृद्धिको प्रमुख सम्बाहक, निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनमा अनवरत काम गरिरहेको बताए। सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि राज्य संयन्त्रमा कमजोरी देखिएको बताए। ‘निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो,’ उनले भने।

स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्ने बताए। ढलकाले उद्योग वाणिज्य महासंघ जस्तालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने धारणा राखे। निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन भएको दाबी गर्दै जनतालाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको उनले बताए।

औद्योगिक र व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी रहेको उनको धारणा थियो। ‘उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज र सुलभ बनाउनुपर्नेछ,’ उनले भने, ‘सरकारी प्रक्रिया, समय र झन्झटलाई छोट्ट्याउनु पर्छ।’ छिमेकी मुलुकमा निर्यात व्यापार बढाउन उद्योग ग्राम, विशेष आर्थिक क्षेत्रसहित सडक, विद्युत् लगायत पूर्वाधार आवश्यक रहेको उनको भनाइ छ। राज्यका निकायले जबरजस्ती कर नउठाई पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्ने उनको धारणा थियो। ‘निजी क्षेत्रलाई करको बोझमा दबाउने व्यवस्था हटाउनु पर्छ,’ उनले भने, ‘दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्छ।’

ढकालले भावी अध्यक्ष शेखर गोल्छाको पनि प्रशंसा गरे। ‘हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं,’ उनले भने, ‘उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ।’

बागलुङको अमलाचौरमा जन्मिएका ढकाल दुई कार्यकाल सदस्य हुँदै उपाध्यक्ष बनेका हुन्। ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिसहोम मिडिया प्रालिका प्रवद्र्धक हुन्। कार्गो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायत दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी गरेका छन्। नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष ढकाल लगानी बोर्डमा आमन्त्रित सदस्य छन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App