१६ चैत्र २०८० शुक्रबार
अर्थ

हवाई प्रतिस्पर्धाले आन्तरिक यात्रुलाई राहत

श्री एयरलाइन्सको उडानबाट पोखरा विमानस्थलका उत्रिदै यात्रु। फाइल तस्बिर ः नागरिक

पोखरा - पोखरा–काठमाडौं रुटमा यतिबेला आन्तरिक यात्रुले प्रतिव्यक्ति दुई हजार आठ सय रुपैयाँमा उड्न पाउँछन्। खासमा यो रुटमा अधिकतम भाडा पाँच हजार ५० रुपैयाँसम्म पर्दथ्यो। यात्रु चाप बढ्दा यो रुटका यात्रुले हत्तपत्ति सस्तोमा टिकट पाउँदैनथे। अनि जहिल्यै गुनासो हुन्थ्यो– ‘पोखरा–काठमाडौं रुटमा कहिल्यै सस्तो टिकट पाँइदैन।’

यात्रु चाँप बढेको बेला हवाई कम्पनीले पनि सधैंजसो महंगोमा टिकट बेच्न पाएका थिए। सस्तोमा टिकट पाउन नसक्दा धेरै यात्रु हवाई यात्रा गर्नबाट हच्किन्थे पनि। तर यतिखेर भने झन्डै आधा मूल्यमा हवाई टिकट पाइने गरेको छ। यसले आन्तरिक हवाई यात्रुको संख्या ह्वात्तै बढाएको एयरलाइन्सले बताएका छन्।

काठमाडौं–पोखरा रुटमा भने प्रायजसो सस्तोमा टिकट पाइन्थ्यो। अहिले यो रुटमा दुई हजार दुई सय रुपैयाँसम्ममा यात्रुले यात्रा गर्न पाउँछन्। कुनैबेला काठमाडौं–पोखरा रुटमा भाडा घटेर एक हजार सात सय रुपैयाँसम्म झरेको थियो। काठमाडौं–पोखरा रुटको अधिकतम भाडा पनि पाँच हजार ५० रुपैयाँ नै हो।

पोखरा–काठमाडौ–पोखरा रुटमा सस्तोमा हवाई टिकट पाइनुमा मुख्य दुईवटा कारण रहेको एयरलाइन्स कम्पनी बताउँछन्। पहिलो कारण हो, पर्यटकीय सिजन भए पनि यतिबेला पोखरा आउने विदेशी पाहुना छैनन्। कोरोना भाइरसको त्रासका कारण चिनियाँ पाहुना आउनै पाएनन् भने अरु विदेशी पनि नेपाल आउन हच्किएका छन्। विदेशी यात्रु नभएपछि आन्तरिक यात्रुको भरमा मात्र जहाजले उडान भरिरहेका छन्। आन्तरिक यात्रु पनि खचाखच नहुँदा सिट खाली राख्नुभन्दा सस्तोमा भए पनि उडान गर्न उचित ठानेर एयरलाइन्सले कम भाडादरमा उडान भरिरहेका छन्।

उडान संख्या पहिलेकै आकारमा कायम राखिरहँदा यात्रु अभाव भएको एक एयरलाइन्सका पोखरास्थित स्टेसन म्यानेजरले बताए। यो बेला भाडा सस्तिनुको अर्काे कारण हो– ठूला आकारका जहाजको उडान प्रतिस्पर्धा। केही वर्ष अघिसम्म साना आकारका जहाज उडान हुँदा हवाई कम्पनीलाई केही सहज थियो। ३० सिटसम्मका जहाजबाट यती र ४२ सिटसम्मका जहाजबाट बुद्धले यात्रा गराउँदै आएका थिए। ती बाहेक १८ सिट क्षमताका जहाज पनि उडानमा थिए। कम सिट क्षमताका जहाज उडाउँदा सहजै भरिभराउ हुन्थे। अनि सिट खाली नभएको भन्दै यात्रुले महंगोमा भए पनि टिकट खरिद गर्दथे।

तर, अहिले आन्तरिक उडानमा सबैभन्दा बढी ८० सिट क्षमतासम्मका जहाजबाट यो रुटमा उडान भइरहेका छन्। यतिसम्म कि बुद्ध एयरले त पोखरा–काठमाडौं रुटका सबै उडानमा ७२ सिट क्षमतायुक्त एटिआर ७२ जहाजले मात्र उडान गरिरहेको छ। बुद्धसँग ४२ सिट क्षमताका एटिआर ४२ जहाज हुँदाहुँदै पनि ७२ सिट क्षमताका जहाज मात्र उडाएको छ। केही दिन अघिदेखि काठमाडौं–पोखरा उडान गरिरहेको श्री एयरलाइन्सले ८० सिट क्षमताको जहाज प्रयोग गरिरहेको छ। त्यसबाहेक बुद्ध र यतीले ७२ सिट क्षमताका जहाजबाट उडान गरिरहेका छन्। बढी सिट क्षमताका जहाजबाट उडान गर्दा यात्रु अभाव भएर रित्तै उडान गर्नुपर्ने अवस्थालाई टार्न हवाई कम्पनीले धेरै यात्रु तान्नका लागि कम दरमा भए पनि उडान गरिरहेका छन्। ठूला जहाजको त्यो प्रतिस्पर्धाको फाइदा यात्रुले पाएको ती म्यानेजरको भनाइ छ।

‘विदेशी पर्यटक छैनन्। विदेशी नभएपछि आन्तरिक यात्रुको भरमा उडान गर्नुपरेको छ,’ उनले भने, ‘आन्तरिक यात्रु पहिले भन्दा केही बढे पनि सतप्रतिशत अकुपेन्सी ओगट्दैनन्। अनि सिट खाली राख्नुभन्दा सस्तोमा उडाएर भए पनि बढी यात्रु तान्न खोजिएको हो।’ अहिले भाडादर आधामा झर्दा आन्तरिक यात्रुलाई निकै सहज भएको उनले बताए।

प्रायः चार प्रकारको भाडादर कायम गर्ने हवाई कम्पनीले यतिबेला सबैभन्दा सस्तो भनिएको मुल्यबाट पनि घटेर यात्रु बोकिरहेका छन्। कतिपय हवाई कम्पनीले तोकेको सबैभन्दा सस्तो भाडा ३५ सय रुपैयाँ हाराहारीमा रहे पनि त्यो भन्दा पनि तल झरेर झनै सस्तोमा यात्रुलाई उडाइरहेका छन्। यसको तत्काल फाइदा भने आन्तरिक यात्रुलाई पुगेको छ। भाडादर घट्ने क्रमसँगै यतिबेला एयरलाइन्सले सस्तो मूल्य नै तोक्न नसकेको एयरलाइन्स पदाधिकारी बताउँछन्। ‘कुन मूल्यलाई सस्तो भन्ने ? बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बराल भन्छन्, ‘यात्रु अभाव छ। कति भाडा घटाउने भन्ने नै निश्चित छैन। त्यही भएर सस्तो भन्ने नै रहेन।’

यात्रु कम तर, सिट संख्या बढी हुँदा आन्तरिक यात्रुले सस्तोमा यात्रा गर्न पाएको बराल बताउँछन्। बरालका अनुसार अझै पनि काठमाडौंबाट पोखरा आउने भन्दा पोखराबाट काठमाडौं जाने यात्रु धेरै छन्। त्यही कारणले दुवै रुटमा एकैखाले भाडादर कायम हुन सकेको छैन। ‘कुनै पनि कम्पनीले उडान घटाएका छैनन्। पहिलेकै आकारमा उडान राख्दा यात्रु भने अभाव छ,’ बरालले भने, ‘यात्रु कम, सिट बढी छन्। अनि रित्तै उडाउनु भन्दा सस्तोमा भए पनि आन्तरिक यात्रुलाई उडाउँदा सबैलाई राहत मिल्छ।’ यतिबेला विदेशी पाहुनाको सिजन भए पनि विदेशीको आगमन सून्य झैं रहेको उनले बताए।

‘विदेशी पाहुना हुन्थे भने यति सस्तोमा हवाई सेवा सम्भव थिएन। तर, विदेशी छैनन्, आन्तरिक यात्रु पनि खचाखच छैनन्,’ बरालले भने, ‘आन्तरिक यात्रु तान्ने प्रतिस्पर्धाले पनि हवाई भाडा कम भएको हो।’ अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा आन्तरिक यात्रुका कारण हवाईजहाजको अकुपेन्सी अनुपात ८० प्रतिशत हाराहारीमा रहेको उनले बताए। ठूला आकारका जहाज उडान गर्दा सिट भरिन समस्या हुने उनले बताए। ‘सिट पर्याप्त छन्, तर, माग छैन,’ उनले भने, ‘त्यसैले मूल्य घटाएको हो।’

श्री एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धर ठूला आकारका जहाज उडान गर्दाको फाइदा आन्तरिक यात्रुलाई हुने बताउँछन्। ‘सिट बाँकी रहेपछि मूल्य घटाएर भए पनि यात्रु तान्ने प्रयास हुन्छ,’ उनले भने, ‘पोखरा घुम्नलायक गन्तव्य भएकाले आन्तरिक यात्रु पनि बढी छन्। यो बेला विदेशी पाहुना अभाव हुँदा सस्तोमा आन्तरिकले सेवा पाएका छन्।’ यो बेला पर्यटन बजार खस्किदो रहेकाले पनि सस्तोमा आन्तरिक यात्रुले सेवा पाएको मानन्धरले बताए।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ ठूला जहाजको उडान प्रतिस्पर्धा बढ्दा र विदेशी पाहुना अभावमा आन्तरिक यात्रुले सस्तोमा सेवा पाएको बताउँछन्। ‘केही महिना अघिसम्म पोखरा–काठमाडौं रुटमा हवाई सिट पाउन मुस्किल हुन्थ्यो। तर, अहिले आधा मूल्यमा आन्तरिक यात्रु आउजाउ गर्न पाएका छन्,’ श्रेष्ठले भने, ‘ठूला जहाजको कारणले पनि यो अवस्था आएको हो। साना जहाज भर्न सहज हुन्थ्यो र सिट पाउन मुस्किल थियो। अहिले एकैपटक ८० यात्रु जुटाउन हवाई कम्पनीलाई पनि सहज छैन। अनि रित्तो जहाज उडाएर मात्र पनि भएन। त्यसैले मूल्य घटेको हो।’

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App