८ वैशाख २०८१ शनिबार
अर्थ

भन्सार राजस्व लक्ष्यभन्दा ३२ प्रतिशत कम

वीरगन्ज भन्सारको आइसिपी नाका। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - राजस्व असुलीको भारको हिसाबले मुलुकको प्रमुख भन्सार रहेको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन। फागुनको पहिलो सातासम्म यस कार्यालयले निर्धारित लक्ष्यअनुसार एक खर्ब २६ अर्ब ६५ करोड २३ लाख आठ हजार असुल गर्नुपर्ने थियो। तर यसको ६७.३३ प्रतिशत मात्र वीरगन्ज भन्सारले राजस्व उठाउन सकेको छ।

कार्यालयको तथ्यांकअनुसार यहाँस्थित साबिक वीरगन्ज इनर्वा नाका र आइसिपी नाका दुवै गरेर ८५ अर्ब ६५ करोड १७ लाख ७५ हजार मात्र राजस्व असुली भएको छ। जानकारका अनुसार राजस्व असुली खस्किनुमा विभिन्न कारणमध्ये नेपाली बजारमा पछिल्लो समय देखा परेको वित्तीय असहजता नै मुख्य कारण देखिएको छ। सरकारी नियमहरु फेरिएर निजी क्षेत्रले नयाँ लगानी अपेक्षित रुपमा नगर्दा वित्तीय कारोबार पनि अपेक्षित किसिमले हुन सकेको छैन। नयाँ कानुनका राजस्वसम्बन्धी नियम, सामाजिक सुरक्षा कोष र श्रमसम्बन्धी विविध प्रावधानले उद्योगी व्यापारी डराएका छन्। नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य गणेशप्रसाद लाठका अनुसार उद्योगी व्यापारीमा कारोबारप्रतिको उत्साह मरेको छ।

त्यस्तै नयाँ लगानीमा राष्ट्र बैंकले जारी गरेका नयाँ नियमअनुसार कर्जा प्रवाह घटेको जानकार बताउँछन्। ‘बजारमा पैसा नै छैन, बैैंकमा छ। ऋण प्रवाह हुन पाएको छैन, पैसा भए पो मानिसले खर्च गर्छ,’ आर्थिक मामिलाका जानकार मानिने वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाले भने, ‘यसको प्रभाव समग्र बजार प्रणालीमा परेको छ, त्यसकारण भन्सार राजस्व घट्नु स्वभाविक हो ।’ उनले यसलाई विश्वमै देखिएको समस्याको प्रभाव भएको बताए। ‘पहिले जग्गाको कारोबार फस्टाएको बेला सर्वसाधारणमा खर्च गर्ने क्षमता पनि धेरै थियो, अहिले जग्गाको कारोबारमा एकखाले सिथिलता आएको छ,’ सिकारियाले भने, ‘बजारले आफैं पनि आफ्ना अघिल्ला कमजोरी सच्याउने गरेको छ। त्यस अर्थमा यो समान्य कुरा पनि हो ।’

राजस्व असुली खस्किनुमा विभिन्न कारणमध्ये नेपाली बजारमा पछिल्लो समय देखा परेको वित्तीय असहजता

नेपाली बजारमा प्रभाव परेको बताइएअनुसार तथ्यांक पनि देखिन्छ। भन्सारको तथ्यांकमा अधिक राजस्व दिने वस्तुको सूचीमा रहँदै आएका सामानको आयात घटेको देखिन्छ। यसलाई सिकारियाले माग घटेको रुपमा अथ्र्याए। तथ्यांकअनुसार मोटरसाइकल, जिप कार र भ्यान, एमएस बिलेट, सिमेन्ट क्लिंकर, टेम्पो, एच.आर. सिट, अन्य बस ट्रकका चेसिस, डबल–क्याब पिकअप गाडी, ट्रक, मिनी ट्रक, पत्थर कोइला, एलपी ग्यास, टेलिभिजन पार्टस, स्टिल वायर रड इन क्वायल तथा एमएससम्म, सिआर सिट, टेलिभिजन ब्ल्याक एन्ड ह्वाइट, आल्मोनियम फ्वायल, सिंगल–क्याब पिकअप गाडी, ट्र्याक्टरलगायत वस्तुमा भन्सार राजस्व तुलनात्मक रुपमा घटेको छ। राजस्वको प्रमुख स्रोत रहेको पेट्रोलियम इन्धनको आयात भने यथावत रुपमा उच्च छ।

त्यस्तै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसक्दा पनि त्यसको असर बजारको अवस्थामा परेको विश्लेषण गरिएको छ। विकास निर्माणका काम भए निर्माण सामग्रीको खपत हुने र त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App