८ वैशाख २०८१ शनिबार
अर्थ

वित्तीय संस्था गाभिने क्रम बढ्दै

काठमाडाैँ - नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिमा मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई सेवा सुविधा थप गर्ने घोषणा गरेपछि वित्तीय संस्था गाभिने क्रम बढ्दै गएको छ।

बिनाधितो लघुकर्जा उपलब्ध गराउने उद्देश्यले स्थापना भएका ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थामध्ये केही संस्था एकअर्कामा गाभिइसकेका छन् भने अन्य साझेदार संस्थाको खोजीमा छन्। लघुवित्त वित्तीय संस्थालाई आर्थिक रुपमा सबल बनाउन चालु आवको मौद्रिक नीतिमार्फत स्वेच्छिक मर्जरमा जाने बाटो खुला गरेको नेपाल राष्ट्र बैँक बैँकले जनाएको छ। राष्ट्र बैँकका अनुसार मौद्रिक नीतिमा एकापसमा गाभिने लघुवित्त वित्तीय संस्थालाई थप सेवा सुविधा दिने घोषणा गरेपछि करिब आधा दर्जन वित्तीय संस्था गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् भने केही प्रक्रियामा छन्।

कालिका लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्थाले एकापसमा गाभिइ एकीकृत कारोबार सुरु गरिसकेका छन्। त्यसैगरी, नागरिक लघुवित्त र वोमी माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरु भइसकेको राष्ट्र बैँकले जनाएको छ। दाङको महिला सामुदायिक लघुवित्त र पोखराको जाल्पा लघुवित्त संस्था एकापसमा गाभिने भएका छन्। केही दिनअघि सम्झौता पत्रमा हस्ताक्षर गरेका यी दुई वित्तीय संस्था गाभिएपछि राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थामा परिणत हुनेछ। सम्झौताअनुसार दुई संस्था गाभिएपछि संस्थाको केन्द्रीय कार्यालय बुटवलमा रहने छ।

त्यस्तै कैलालीस्थित एनआरएन लघुवित्त, किसान लघुवित्त र काभ्रेको दिव्य लघुवित्त एकापसमा गाभिने भएका छन्। एनआरएन यसअघि रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तसँग गाभिएको राष्ट्र बैँकले जनाएको छ। त्यसैगरी, सहकार्य माइक्रोफाइनान्स र उन्नति माइक्रोफाइनान्स एक आपसमा गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने सूर्यादय लघुवित्त र त्रिलोक लघुवित्तको एकीकृत कारोबार आगामी शनिवारदेखी हुने भएको छ। स्वरोजगार लघुवित्त र जनकपूर लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। दुई वटा वित्तीय संस्था एक आपसमा गाभ्न सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको राष्ट्र बैँकले जनाएको छ।

त्यसैगरी, नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्थापनि एक आपसमा गाभिने भएका छन्। दुई संस्था एक आपसमा गाभ्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको वित्तीय संस्थाले जनाएका छन्। धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थापनि एक अर्कामा गाभिने प्रक्रियामा छन्। राष्ट्र बैँकका अनुसार ग्रामीण विकास लघुवित्त, घरेलु लघुवित्त, लक्ष्मी लघुवित्त, आशा लघुवित्तलगायत संस्था गाभिन साझेदार संस्था खोज्दैछन्। यी संस्था एकापसमा गाभिन साधारणसभाले पारित गरिसकेको छ। त्यस्तै मिर्मिरे, मिथिला, स्वस्तिक लघुवित्तलगायत वित्तीय संस्था एकापसमा गाभिन वार्षिक साधारणसभाले पारित गरिसकेको संस्थाले जनाएका छन्।

नयाँ तथा पुराना लघुवित्त वित्तीय संस्थालाई आर्थिक रुपमा सवल बनाई सर्वसाधारणको निक्षेप सुरक्षित गर्न गत वर्ष राष्ट्र बैँकलाई वित्तीय संस्था एकापसमा गाभ्ने–गाभिने विषयमा राष्ट्र बैँकलाई सुझाव पत्र दिएको नेपाल लघुवित्त बैँकर संघका पूर्वअध्यक्ष रामचन्द्र जोशीले बताए। ‘हाल प्रदेश स्तरका लघुवित्त संस्थाको चुक्ता पुँजी दुई करोड र राष्ट्रिय स्तरको १० करोड रुपैयाँ रहेको छ,’ उनले भने, ‘लघुवित्त वित्तीय संस्थाको लगानी र निक्षेपको आकार बढ्दै गएकाले प्रदेश स्तरका संस्थाको १० करोड र राष्ट्रिय स्तरका संस्थाको ४० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन सुझाव दिएका हाैा। हाल मुलुकभरी ८९ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App