coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एक महिनापछि माग आउन थाल्यो

विराटनगर - भारतले प्रशोधित पाम तेल आयातको बाटो खोलेपछि भारतीय व्यापारीले नेपाली निर्यातकर्तालाई तेल माग गर्न थालेका छन्। पाम तेलमा अवरोध भएको एक महिनापछि भारतीय आयातकर्ताले तेल माग गर्न थालेका हुन्।

भारतबाट पाम  तेलको माग आउन थालेपछि आफ्नो उद्योगले उपलब्ध गराउनसक्ने तेलको परिणमबारे नेपाली निर्यातकर्ता उद्योगहरूले विवरण पठाइरहेको उद्योगीहरूले बताएका छन्।  एक महिना पहिले भारतले एक्कासी प्रशोधित पाम तेल आयातमा रोक लगाएपछि नेपाली उद्योगहरूको अबौंको तेल अलपत्र परेको थियो। भारत निकासीका लागि भन्सार जाचपास भइसकेको तेलसमेत नाकामै रोकिएको थियो।

अझै पनि भन्सार तिरिसकेको तेल नाकामै रहेको पशुपति खाद्य उद्योग सञ्चालक पवनकुमार सारडाले बताए। सारडाका अनुसार निकासीका लागि भन्सार जाँचपास भएको तेल भन्सारमै छ। उद्योगमा राख्ने ठाउ नभएपछि जहाँ जस्तो अवस्थामा तेल रोकिएको थियो। एक महिनासम्म त्यही अवस्थामा राख्न आफूहरू बाध्य भएको उनले बताए। उद्योगको ट्यांकरमा क्षमता अनुसार तेल भरिइसकेका कारण भन्सार पुगेको तेल फिर्ता ल्याउन नसकिएको हो। उद्योग र  नेपालतर्फको भन्सारमा प्रशोधित तेल अलपत्र परेको छ। यस्तै तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल पनि कलकत्ता बन्दरगाह र भारततर्फको भन्सारमै रोकिएको छ। ‘उद्योगसँग थप तेल भण्डारण गर्ने क्षमता नभएका कारण भारतले प्रतिबन्ध लगाउँदा जहाँ जस्तो अवस्थामा तेल रोकिएको थियो अझैसम्म पनि त्यही अवस्थामा तेल अलपत्र परेको छ,’ सारडाले भने।

पाम तेलमा अवरोध भएको एक महिनापछि भारतीय आयातकर्ताले तेलको माग गर्न थालेका हुँन् ।

भारत सरकारको पछिल्लो निर्णयले उद्योगीलाई राहत मिलेको सारडाले बताए। उनले भने, ‘भारत सरकारको पछिल्लो निर्णयले पाम तेल निर्यात हुने आशा पलाएको छ।’  भन्सारमा रोकिएको तेल दुई–चार दिनभित्रै निर्यात हुने सम्भावना रहेको सारडाले बताए। हामीले निर्यातका लागि तयारी अवस्थामा रहेको तेलको विवरण भारतीय खरिदकर्तालाई पठाइसकेका छौं,’ सारडाले भने, ‘उनीहरूले पनि सरकारसँग तेल आयातका लागि अनुमति मागिसकेको खबर आएको छ।’ भारत सरकारले स्वीकृति दिएपछि नेपालबाट पाम तेल पुनः निर्यात हुन थाल्ने उनले बताए।   

विराटनगर भन्सार कार्यालयका अनुसार भारतीय नीतिका कारण भन्सारमा रोकिएको पामतेल निकासीको सम्भावना बढेको छ। हालसम्म तेल निकासी सुरू नभए पनि चाँडै नेपालबाट प्रशोधित तेल भारत निर्यात हुने विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम  पौडेलले बताए। ‘भारतीय आयातकर्ताले सरकारसँग अनुमति माग्न थालेका कारण चाँडै भन्सारमा रोकिएको पाम तेल निकासी हुनेछ,’ प्रवक्ता पौडेलले भने। पूर्वसूचनाबिनै भारतले तेल आयात रोकेपछि नेपाली तेल उत्पादकको सात अर्बभन्दा बढी लगानी जोखिममा परेको थियो। गत वर्षदेखि नेपाली तेल उद्योगले तेस्रो मुलुकबाट क्रुड पाम आयल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका थिए। पाम तेलको निर्यातका कारण नेपालको व्यापार घाटासमेत कम हुँदै गएको थियो। विराटनगरका पाँचवटा तेल उद्योगले पामको तेल प्रशोधन गरी निर्यात गर्दै आएका थिए। पाम तेल निर्यात हुन थालेपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा अन्य चारवटा उद्योग पनि सञ्चालनमा आउने क्रममा रहेका थिए।

विराटनगरका बाबा, श्रीराम, स्वस्तिक, क्वालिटी, पशुपतिलगायत तेल उद्योगले दैनिक एक हजार मेट्रिक टन तेल निर्यात गर्दै आएका थिए। यस्तै वीरगन्जका पनि आठवटा उद्योगले पाम आयल निर्यात गर्दै आएका थिए। भारतको नयाँ नीतिका कारण नेपालको मुख्य निर्यात हुने वस्तुमा परेको पाम तेलको निकासी एक महिनादेखि ठप्प भएको छ। पाम तेलको निर्यात केही समयका लागि मात्रै भए पनि खुला गर्न नेपालका उद्योगीले सरकारलाई दबाब दिँदै आएका थिए। पूर्वसूचनाबिनै तेल आयात रोक्दा नेपाली उद्योग समस्यामा पर्ने भएकाले भारतसरकारसँग कुटनीतिक पहल गर्न मोरङ व्यापार संघ र  उद्योग संगठन मोरङले सरकारलाई बारम्बार आग्रह गरेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए। गत वर्ष विराटनगर नाकाबाट मात्रै चार अर्बको पामको तेल निर्यात भएको थियो। चालु आर्थिक वर्षको पाँच महिनामै साढे चार अर्ब बढीको तेल निकासी भइसकेको विराटनगर भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App