रामपुर– बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ।
नगरका १० वटै वडामा एक वडा एक प्राविधिक छनोट गरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ। बाहिरबाट बिषादी प्रयोग भएका तरकारीले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनलाई बढावा दिन रामपुर नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम पनि सञ्चालन गरेको छ। नगरको एक वडा एक उत्पादन कार्यक्रम सहज र प्रभावकारी बनाउन वडा वडामा प्राविधिक परिचालन गरिएको हो।
कृषि व्यवसायमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बालीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए।
सो कार्यक्रम अन्तर्गत वडा नं १ मा कागति, वडा नं. २ मा मौरी, खुर्सानी, गोलभेँडा, वडा नं. ३ मा अदुवा, एभोकाडो, आलु, वडा नं ४ मा काक्रो, बन्दा तथा वडा नं ५ मा गोलभेंडा र केराका लागि छनोट गरिएको छ। त्यस्तै वडा नं ६ मा आलु, मौरी र केरा, वडा नं. ७ मा घिरौला, करेला, कागती, वडा नं ८ मा सिमी र सुन्तला, वडा नं ९ मा कफी, अदुवा र वडा नं.१० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनका लागि छनोट गरिएको छ। नगरले पकेटक्षेत्र निर्धारण गरेका वडामा एक वडा एक उत्पादन कार्यक्रम सुरु भएका छन्। कृषकलाई विभिन्न जातका तरकारीका बिरुवा वितरण, तालिम, कृषि सामग्री सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको नगरप्रमुख रमणबहादुर थापाले बताए।
‘मानवलाई स्वस्थ बनाउन, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बाहिरबाट रामपुर बजारमा भित्रने बिषादी प्रयोग भएका तरकारी निरुत्साहित अभियान सफल बनाउन एक वडा एक प्राविधिक परिचालन सुरु गरेका छौं,’ नगरप्रमुख थापाले भने। अहिले वडा कार्यालयले तरकारीका बीउविजन वितरण गर्ने, कृषि सामग्री वितरण तथा कृषकलाई तरकारी लगाउने नयाँ प्रविधिसम्बन्धी तालिम, गोष्ठी जस्ता कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। एक वडा एक प्राविधिक कार्यक्रमअन्र्तगत रामपुर नगरपालिकाको वडा नं १ मा लुना अर्याल, २ मा क्षितिज बिक्रम खाँण, ३ मा सुरक्षा ढकाल, ४ मा युवराज नेपाली, ५ मा सुनिता बस्नेतलाई जिम्मेवारी दिइएको छ। त्यस्तै वडा नं ६ मा सिमा खनाल पाठक, ७ मा चन्द्रकला अर्याल, ८ मा सुजता अधिकारी, ९ मा रोशन जिसी, १० मा दीपेन्द्र तिमिल्सिनालाई खटाइएको छ।
दुई दिन कृषि शाखा रामपुरले क्षमता अभिवृद्धि तालिम दिएर सम्बन्धित वडा कार्यालयमा एक वडा एक प्राविधिक कर्मचारी खटाइएको कृषि शाखा प्रमुख तथा नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले बताउनुभयो। व्यवसाय दर्ता तथा निरीक्षण, पसल, उद्योग, कृषि, पशुपक्षी तथा उद्योग निरीक्षण गर्ने, नगरपालिकामा दर्ता भएको नभएको, नवीकरण भए नभएको लगायतका विवरण सङ्कलन गर्ने गरी उनीहरुलाई जिम्मेवारी दिइएको सूचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो। एक वडा एक प्राविधिकले कृषि र पशुपक्षी प्राविधिक सहयोग, नगरपालिका तथा वडाको काममा सहजिकरण गर्नेछन्। आर्थिक विकास परियोजना अन्तर्गत एक वडा एक प्राविधिक कर्मचारी छनौट गरी नगरपालिकाले परिचालन गरेको हो। मौसमी समयमा प्रयाप्त तरकारी उत्पादन भए पनि बेमौसमी उत्पादन भने कमै मात्रामा हुन्छ।
विशेषगरी यहाँ आलु, लहरेबाली, बन्दा, काउलीलगायत तरकारी उत्पादन हुने गर्छन्। यहाँ ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको छ। बुटवललगायत बाहिरी बजारबाट हप्तामा २० देखि ४० टनसम्म तरकारी रामपुर बजारमा भित्रने गरेको कृषि शाखा कार्यालयले जनाएको छ। लागत र परिश्रमअनुसार मौसमी समयमा तरकारीले बजार मूल्य नपाउँदा कृषकले खेतबारीमै कुहाएर फाल्ने गरेको पाइएको छ। नगरपालिकाले यहाँ उत्पादन नहुने कृषि उपजबाहेक अउत्पादनलाई निरुत्साहित गर्ने भएको हो। कच्चा सामग्री भएकाले लामो समयसम्म टिकाउन नसक्दा कृषकले नोक्सान बेहोर्नुपरेको छ। अब भने बाहिरी बजारबाट भित्रने तरकारी निरुत्साहित भएको खण्डमा स्थानीय उत्पादनले बजार पाउनेछ।
यो कार्यक्रमअन्तर्गत प्राविधिक सेवा सहज रुपमा पाउन थालेपछि किसानहखुशी भएको स्थानीय कृषक गौतमबहादुर सुनारले बताउनुभयो। नगरपालिकाले गत पुस १ गतेदेखि बाहिरबाट आयातित तरकारी निरुत्साहित अभियान कार्यक्रम शुरू गरेको हो। रासस
प्रकाशित: २६ माघ २०७६ ०२:३३ आइतबार