९ आश्विन २०७७ शुक्रबार
अर्थ

तरकारी खेतीमा किसानको आकर्षण

टमाटर खेतीमा स्याहार सुसार गर्दै केवट परिवार। तस्बिर : नागरिक

भैरहवा - मर्चवार नेपालकै अन्न भण्डारको रुपमा परिचित छ। मुख्य तीनवटा गाउँपालिका मिलेर बनेको रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र मर्चवारका स्थानीयको मुख्य पेसा कृषि नै हो। वर्षौदेखि माटोमै जीवन बिताएका कृषकको माया माटोमै भएकाले परम्परागत कृषिलाई बिस्तारै आधुनिक र व्यवसायिकतर्फ मोड्दै गइरहेका छन्।

चारैतर्फ हरियो फाँट मात्र देखिने मर्चवार परम्परागत कृषि प्रणालीकै कारण अपेक्षाकृत रुपमा प्रगति हुन सकेको थिएन। मर्चवारका किसान परम्परागत कृषि प्रणालीबाट बिस्तारै आधुनिकतातर्फ लैजादै गर्दा अहिले अवस्था फेरिएको छ। खाद्यान्न र अन्नखेतीबाट जीविकोपार्जन चलाउँदै आएका मर्चवारका कृषक ज्ञान शिक्षा र प्रविधिलाई आत्मसाथ गरेकाले अन्न खेतीसँगै नगदेबाली खेतीतर्फ आकर्षित हुन थालेका छन्।

जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य भूभाग रहेको क्षेत्रमा कृषिबाट नै समृद्धिको बाटो पहिल्याउने प्रयास गर्दै छन्। सम्मरीमाई–६ त्रिवेनीयाका ७० वर्षीय सुमिरन केवट बाल्यकालदेखि नै परम्परागत अन्नखेती गर्दै आएका थिए। उनीसहित उनका चार छोराले अहिले नयाँ नयाँ प्रविधि र प्रणालीबाट अन्न खेतीसहित तरकारी खेतीमा होमिएका छन्। पहिले र अहिलेको खेतीमा धेरै परिवर्तन भएको छ, अहिले मेसिन प्रविधि भएकाले खेतीमा धेरै अन्तर छ। ‘पहिला उन्नत बीउबिजन तथा प्रणालीबारे जानकारी थिएन, अहिले विभिन्न औजारको माध्यमबाट सहज रुपमा खेती गर्न सकिन्छ,’ उनले भने, ‘पहिला र अहिलेको खेतीमा धेरै फरक आइसकेको छ।

सुमिरन मात्र होइनन् त्रिवेनिया टोलअन्तर्गत रहेका तीनवटै टोलका कृषक अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन्। केवट समुदायको बाहुल्यता रहेको यो तरकारी पकेट क्षेत्रमा ५० बढी घरधुरीले अन्नका साथै तरकारी खेती गर्दै आएका छन्। परम्परागत पेसाबाट अहिले युगमा खर्च धान्न पनि गाह्रो छ। अन्नबालीबाट ६ महिनामा पैसा आउथ्यो खर्च बढ्दै गएकाले सोको परिपूर्ति गर्न तरकारी खेतीबाटै जीविकोपार्जन पनि सहज भएको छ। ‘दैनिक रुपमा बिक्री हुने भएकाले खर्च कटाएर केही रकम बचाउन पनि सफल भएको छु,’ कृषक केवटले भने। यहाँ मात्र अहिले ९० बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ। धान र गँहु मात्र हुने यो क्षेत्रको खेतमा अहिले बाह्रै महिना तरकारी खेती गरिएको छ। मौसमअनुसार मटर, सिमी, ब्रोकाउली, टमाटर, बन्दा, लौका, करेला, बोडी, भिण्डी, घिरौला, मुलालगायत तरकारी खेती गर्दै आएका छन्।

पराम्परागत कृषि गर्दै आएको त्रिवेनिया टोलका कृषकलाई तत्कालीन जिल्ला कृषि विकास कार्यालयले तरकारी पकेट क्षेत्र घोषणा गरी केही अनुदान तथा सीप प्रदान गरेको थियो। २०७३ मा १० लाख ४१ हजारको लागतमा तरकारी संकलन केन्द्र स्थापना भएपछि यस क्षेत्रका कृषक तरकारी खेतीका लागि हौसिएका छन्। एउटै दरमा सबै किसानले तरकारी बिक्री गर्न पाउदा सहज पनि भएको छ, राम्रै मूल्य र बजार पाइरहेका कृषक रामसेवक केवट बताउँछन्। श्री समयमाई कृषि उपज बजारमा यस क्षेत्रका कृषक बिहान ९ बजेभित्र नै तरकारी बिक्री भइसक्छ। यहाँबाट दैनिक चार–पाँच पिकअप तरकारी बाहिरिन्छ भने मोटरसाइकल र साइकलमा पनि तरकारी गइरहन्छ। यसरी संकलन भएको तरकारी भैरहवा, बुटवललगायत नजिकको सहरमा बिक्रीका लागि पुग्ने गरेको छ।

कृषक तरकारी संकलन केन्द्रलाई दुई लाख ७५ हजारमा ठेक्का दिएका छन्। तर त्योमध्ये आधा रकम त संकलन केन्द्र भएका जग्गाधनिलाई नै बुझाउनु पर्ने उनीहरुको बाध्यता छ। निजी जग्गामा रहेको कारण सो रकम बुझाउनु परेको हुँदा समस्या आएको र स्थानीय तहलाई सार्वजनिक जग्गा व्यवस्थापन गरी तरकारी संकलन केन्द्र स्थापना गर्न कृषकले आग्रह गरेका छन्। यस अतिरिक्त बीउबिजन, मलखाद, विषादी लगायत सामग्री भारतबाट ल्याउनु पनि किसानको अर्को ठूलो समस्या हो। नेपालमा पर्याप्त बिउबिजन तथा मलखाद नपाइएका कारण अहिलेसम्म यी सबैका लागि भारतकै भर पर्नुपरेको छ। भारतबाट ल्याइएको बीउ गुणस्तरीय नहुने, सोचेअनुसारको प्रतिफल नदिने भएकाले समय समयमा ठूलो नोक्सानी बेहोर्नु परेको स्थानीयको गुनासो छ।

विगत तीन वर्षमा पकेट क्षेत्रभित्र १० वटा बोरिङ, सातवटा जिल पम्पसेट, स्प्रेयर मलखाद, बीउबिजनमा केही अनुदान आए पनि यो वर्ष केही पाइएको छैन। मलखाद बीउबिजनको सहजता र सिँचाइको पर्याप्त व्यवस्था नहुनु पनि समस्या रहेको छ। भारतबाट ल्याउँदा गुण्स्तरीय नहुने र बेला बेलामा ठगिने गरेको श्री समयमाई कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष समेत रहेका राम सेवक केवटको गुनासो गरे।

प्रकाशित: २६ माघ २०७६ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App