coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेलकालाई ‘एग्रो टुरिजम सेन्टर’ बनाइने मन्त्री भुसालको प्रतिबद्धता

बाख्रा पालनको अवलोकन गर्दै मन्त्री घनश्याम भुसाल । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरको कान्छो नगरपालिका बेलकालाई ‘कृषि पर्यटन केन्द्र (एग्रो टुरिजम सेन्टर)’ बनाइने भएको छ। शनिबार नगरपालिकाले सञ्चालनमा ल्याएको कृषि अभियानको स्थलगत अनुगमन गर्दै संघीय कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले सो अभियानले अध्ययन केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको भन्दै एग्रो टुरिजम बनाउने आश्वासन दिएका छन्।

बिहान ७ बजेदेखि अवलोकनमा निस्केका मन्त्री भुसालले सुनसरी र सप्तरीसँग सीमा जोडिएको कोसी टप्पु क्षेत्रमा नगरपालिकाले चलाएको बृहत कृषि फार्मको स्थलगत निरीक्षण गरेका थिए। टप्पुको झण्डै ३ हजार ८ सय हेक्टर क्षेत्रफल जमिनमा लगाइएको तरकारीजन्य कृषि फारमको अवलोकन गरेका थिए। नगरपालिकामा आयोजित कार्यक्रममा मन्त्री भुसालले बेलकाले कृषिमा क्रान्ति ल्याउने संकेत गरेकोमा प्रशंसा गरे। कृषि अभियानले निरन्तरता पाइरहे बेलका देश कै कृषि अध्ययन केन्द्र बन्ने सम्भावना रहेको भन्दै त्यसका लागि संघीय सरकारले गर्न सक्ने सहयोगको प्रतिबद्धता उनले जनाए।

नेपालमा कृषिबाहेक कुनै पेशा व्यवसायबाट समृद्धि आउने संकेत आफूले नदेखेको मन्त्री भुसालले बताए। उनले इतिहासमा नेपाल पछि पर्नुको मुख्य कारण कृषि छाडेर अन्यत्र लाग्नाले भएको बताए। ‘हाम्रो भरपर्दो कृषि क्षेत्र चटक्क छाडेर अन्ततिर  मोडियौं, उर्वर भूमि र जमिन बाँझो छाडेर बरु विदेशियौं’ मन्त्री भुसालले देश गरिब हुनुको कारण खोतल्दै भने ‘कृषि छाडेपछि उद्योग, कलकारखाना विकास गरेको भए हुन्थ्यो त्यो पनि गरेनौं, त्यसैले हामी अहिलेसम्म पनि गरिब नै छौं।’

सय वर्षअघि नेपालसँगै छिमेकी राष्ट्रहरु भारत, चीन, श्रीलंकालगायत देशहरु उस्ताउस्तै थिए, उनीहरु अहिले विश्वका धनी र शक्तिशाली भएर विश्व हल्लाई रहदा हामी नेपाली त्यही अवस्थामा हुनुको कारण कृषिलाई अवहेलना गरेकाले भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा लाग्नुपर्ने भुसालको सुझाव थियो।

कार्यक्रममा नगरप्रमुख दुर्गाकुमार थापाले बेलकाले थालेको कृषि अभियान मुलुककै लागि उदाहरणीय होस् भन्ने आफूले चाहेको बताए। उनले नगरपालिका गठनको पहिलो वर्ष १० वटा बिभिन्न उत्पादनशील शीर्षकसहितको ५ वर्षे आवधिक योजना बनाइ, दोस्रो वर्ष ‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात’ भन्ने नारासहित नगरबासीलाई उत्पादनसँग जोडेर अघि बढेको बताए। तेस्रो वर्षदेखि उत्पादनको परिणाम आउन थालेकोले मकै र आलु निर्यात गरेको जानकारी दिँदै मेयर थापाले जनप्रतिनिधि समेतलाई उत्पादनमा जोड्न महिला जनप्रतिनिधि समूह गठन गरी अचार उद्योग सञ्चालन गर्न नगरपालिकाले सहयोग गरेको बताए।

युवा पलायन रोक्न नगरपालिकाले बिभिन्न तालिम दिएर ८ सय युवालाई स्वरोजगार बनाउदै उत्पादनमा जोडेको पनि मेयर थापाको भनाइ थियो। कार्यक्रममा मेयर थापा र उपमेयर रीताकुमारी चौधरीले नगर विकास, उद्यम, जमिन संरक्षणलगायत बिबिध विषय समेटिएको ९ बुँदे मागपत्र मन्त्री भुसाललाई हस्तान्तरण गरे। जसमा कोसी नदी उकासको जमिन कटान नियन्त्रण र संरक्षण, नगरपालिकामा राष्ट्रिय कृषि अध्ययन केन्द्र स्थापनाका लागि गुरुयोजना र डिपिआर निर्माण गर्न लगाएतको माग गरिएको छ।

मन्त्री भुसालले नगरपरिसरमै निर्मित एकतले पक्की उद्यम व्यवसायी तालिम भवनको उद्घाटन गर्नुका साथै नगरपालिकाकै सहयोगमा स्थानीय कृषक राजु तुलाधरद्वारा सञ्चालित बास्केट टनेल टमाटर खेतीको अवलोकन पनि गरेका थिए। बेलका आउने हरेक अथितिलाई अनिवार्य एउटा विरुवा रोप्न लगाउने प्रावधान अनुसार मन्त्री भुसाल र प्रदेश सांसद विमल कार्कीले नगरपरिसरमा एक/एक वटा बिरुवा रोपे।

 

प्रकाशित: ५ माघ २०७६ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App