१६ चैत्र २०८० शुक्रबार
अर्थ

उर्जामा युएईको सहुलियत कर्जा

काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन प्रयोजनका लागि एक अर्ब १३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ। युएईको अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फन्ड फर डेभलपमेन्ट अन्तर्गत एक करोड अमेरिकी डलर कर्जा उपलब्ध गराउने घोषणा गरेको हो।

एक करोड अमेरिकी डलरको नेपाली बजार मूल्य अहिले एक अर्ब १३ करोड रुपैयाँ हुन आउँछ। नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सहयोग स्वीकार गरेका हुन्। साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले उक्त सहुलियत कर्जा स्वीकार गर्दै उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गर्ने बताए। आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच प्रतिस्पर्धा भएको थियो।  

सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेन्ट लुसिया, माल्दिभ्सका साथै एन्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए। उक्त फन्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने सम्मेलनमा सहभागी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले जानकारी दिए।

मन्त्री पुनले नेपालका लागि यो सहयोग महत्वपूर्ण रहेको भन्दै मध्यपूर्वका लगानीकर्तालाई नेपालको नवीकरणीय र अन्य पूर्वाधार निर्माण कार्यमा सहकार्यका लागि आह्वान गरे। ‘यो सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना लागू गरी ऊर्जा र प्रांगारिक मल उत्पादन गर्नमा केन्द्रित गर्नेछौं,’ उनले भने, ‘यो परियोजना सञ्चालन गरेसँगै स्थानीय स्तरमा रोजगारीसमेत सिर्जना हुनेछ।’

मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत् क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दीर्घकालीन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न सकिने सम्भवना रहेको बताए। ‘हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ,’ उनले भने, ‘हाल २५ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्।’

मन्त्रालयका अनुसार ६ सय मेगावाट सौर्य ऊर्जा निर्माणको क्रममा छ। १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेका छन्। ८८ प्रतिशत जनताको विद्युत्मा पहुँच पुगेको छ। त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय ऊर्जा (साना जलविद्युत् आयोजना, सोलार) बाट भएको छ।

प्रकाशित: २८ पुस २०७६ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App