१६ चैत्र २०८० शुक्रबार
अर्थ

निजी क्षेत्रलाई अर्थमन्त्रीको सान्त्वना

वीरगन्ज उद्योग वाणिज्य संघको ४४ औं साधारण सभामा सहभागी।

वीरगन्ज - अर्थमन्त्री युवराज खतिवडाले देशको आर्थिक क्षेत्रमा सुधारको दाबी गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघको ४४ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहने बताए। निजी क्षेत्रका गुनासा बिस्तारै घट्दै गएको दाबी गर्दै उनले यसलाई सुधारको संकेत बताए।सरकार राजस्व असुलीको लक्ष्य बढाउने बाहेक आर्थिक क्षेत्रको सुधारको लागि कार्य गर्न नसकेको भन्ने कुरासुहाउँदो नभएको बताउँदै उनले लगानीमैत्री राजस्व संकलन सरकारको ध्येय रहेको बताए।


व्यवसायीलाई थुनेर राजस्व उठ्ला भन्ने पक्षमा सरकार नरहेको प्रष्ट्याउँदै मन्त्री खतिवडाले निजी क्षेत्रलाई विश्वासमा लिएर विकास र आर्थिक उन्नतीको दिशामा अघि बढ्न चाहेको दाबी गरे।‘अपराधमा कसैलाई छुट हुन्न।अपराध गरेमा म पनि जेल जानुपर्छ,’ उनले भने, ‘पारदर्शी र व्यवस्थित कारोबार गर्ने व्यवसायी सशंकित हुनुपर्दैन, त्यस्ता व्यवसायीलाई साथ लिएर अघि बढ्न चाहेका छौं। राजस्व चुहावट नियन्त्रण ऐनमा पहिले ५० लाखसम्मको कसुर गर्दा बिगो र तीन वर्षसम्म कैदको व्यवस्था थियो। अब भने लाखसम्मको मुद्दा भए राजस्व अनुसन्धान विभागले नै सल्टाउन सक्ने बनाएका छौं ।’

कानुनलाई व्यवहारिक बनाएको दाबी गर्दै मन्त्री खतिवडाले जेल सजाय घटाएको, स्वविवेकीय अधिकार हटाएको र सामान्य मुद्दा राजस्व अनुसन्धान विभागले नै हेर्ने भएकाले अदालत जानु नपर्ने व्यवस्था गरिएको उनले बताए। सामान्य व्यावसायिक त्रुटीमा व्यवसायीले जेल सजाय नपाओस् भन्ने सरकारको धारणा रहेको उनले बताए। चोरी पैठारी बढेको र वैध व्यापार गर्ने व्यवसायीका लागि सहज वातावरण नभएको भन्ने गुनासो बढेपछि ‘भिसिटिएस’ (भेहिकल कार्गो ट्र्याकिङ सिस्टम) लागू गरिएको उनले प्रष्ट्याए।

त्यसैगरी मन्त्री खतिवडाले निजगढ काठमाडौं द्रुतमार्ग आउदो पाँच वर्षभित्र अर्थात २०८१ सम्ममा निर्माण सम्पन्न हुने बताए। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा प्रस्तावित दोस्रो (निजगढ) अन्तर्राष्ट्रिय विमानस्थल प्रस्तावित स्थानमै बन्ने उनले दाबी गरे। अहिले सरकार विश्वविद्यालय थप गर्ने मनस्थितिमा नरहेको बताउँदै प्रदेश सरकारले पनि प्रादेशिक विश्वविद्यालय स्थापना गर्नसक्ने व्यवस्था रहेकाले वीरगन्जमा विश्वविद्यालय निर्माणको प्रदेश सरकारमार्फत गर्न सुझाव दिए। संघको तर्फबाट उठाइएका मागप्रति आफू सकारात्मक रहेको उनले प्रतिक्रयिा दिए।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले निजगढ विमानस्थल निर्माण, सुरक्षाका लागि सिसिटिभी क्यामरा जडानका लागि बेग्लै बजेट, श्रम ऐन २०७४ संसोधन, सामाजिक सुरक्षा कोषमा श्रमिकलाई बाध्यात्मक भन्दा स्वेच्छिक आवद्धताको व्यवस्था, आयातित मालवस्तुमा प्रारम्भिक रुपमा भिसिटिएस लगाउँदै पाँच वर्षमा बिस्तारै अन्य कार्गोमा लगाउने, श्रमिकलाई अनिवार्य बैंक खाता तथा पान नम्बरको प्रावधान हटाउने, व्यवसायिक फर्म नवीकरणलाई सहज बनाउन, तयारी सामानको तुलनामा कच्चा पदार्थ आयातमा सहुलियत भन्सार दर, उद्योगलाई प्रिमियम दरको विद्युत् महसुल, तीन तहको सरकारबाट दोहोरो करको अन्त्यजस्ता माग राखेका थिए।   

अध्यक्ष केडियाको अध्यक्षतामा भएको कार्यक्रममा संसद प्रदिप यादव, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा आर्थिक पत्रकार नीरज पिठाकोटे, सागमा पर्साबाट स्वर्ण, कास्य र रजत पदक विजेता १० खेलाडी, निर्यातकर्ता उद्योगी तथा सामाजिक क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वलाई सम्मानित गरिएको थियो।

प्रकाशित: २७ पुस २०७६ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App