७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘सरकार - सहकारी साझेदारी’

काठमाडाैँ - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छन्।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताइन्। उनले भनिन्, ‘विकासको बाधक बनेका कानुन राखेर प्रगति हुँदैन। यस वर्ष हामी सहकारीमैत्री कानुन निर्माणमा सक्रिय हुनेछौं।’ उनले सहकारीले उद्यमशील समाज निर्माणका लागि उद्यमशीलता र व्यावसायिकतातर्फ अग्रसर हुनुपर्ने धारणा राखिन्। ‘अब आफ्नो विकासले आफैं असुरक्षित हुने अवस्था अन्त्यका लागि पनि सहकारीले फरक ढंगले विकासको अवधारणालाई अगाडि ल्याउनुपर्छ,’ उनले भनिन्।

उनले सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्नुपर्ने बताउँदै एक घर एक सदस्य र एक सहकारी एक रोजगारी भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। सहकारी रोजगारी सिर्जना गर्ने थलो बन्नसक्ने उनले बताइन्। गरिबी निवारणका माध्यमका रुपमा सहकारीलाई अगाडि सारिएको बताउँदै उनले भनिन्, ‘गरिबी निवारणका माध्यमका रुपमा भूमिलाई स्रोत, सहकारीलाई माध्यम र गरिबी अन्त्य गर्ने लक्ष्य लिएर मन्त्रालय अगाडि बढ्ने उद्देश्य रहेको छ।’

उनले सन् २०३० भित्र नेपालको गरिबी सून्यमा झार्ने लक्ष्य रहेको बताए। उनले सहकारीको संख्या घटाउनका लागि मर्ज गर्ने र निस्कृय रहेकालाई खारेज गर्ने तयारीमा मन्त्रालय रहेको बताए। अन्तर–सहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई महत्व दिइएको उनको भनाइ छ। उनले अन्तर–सहकारी चेक सटही कार्यलाई समेत छिटो निस्कर्षमा पु-याउने जानकारी दिइन्। ‘सहकारीमा लगातार एउटै नेतृत्वमा रहने विषयलाई पनि निरुत्साहित गर्नुपर्छ। नयाँ नेतृत्वको विकासमा विशेष ध्यान दिनुपर्छ,’ उनले भनिन्।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आर्थिक वर्ष ०७५/७६ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सहकारी सामाजिक व्यवसाय भएकाले यसको केन्द्रबिन्दु सदस्य हुने बताइन्। त्यसैगरी लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले प्रस्तुत गरेका थिए। सो कार्यक्रममा मन्त्री अर्यालले सहकारीका लागि दिगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको सार्वजनिक गरेकी थिइन्।

महासंघका अध्यक्ष बडालले सहकारी अभियानको ब्याज सार्वजनिक गरेका थिए। कार्यक्रममा पूर्वमन्त्री बालकृष्ण खाँड, सांसद पशुपचि चौलागाई, सल्लाहकार गणेश शाह, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसिए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, रजिष्ट्रार टोकराज पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए।

आगामी चारवर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयनसमेत गर्ने छ। निर्वाचन २५ पुसमा हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य तथा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन्। त्यसैगरी राष्ट्रिय सहकारी महासंघको साधारणसभामा भाग लिन आएका पर्वत जिल्ला सहकारी संघका अध्यक्ष महेन्द्रजंग लामिछानेको गोंगबुबाट पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको कार्यालय आउँदै गर्दा असामयिक निधन भएकामा सभाले श्रद्धाञ्जली व्यक्त गरेको थियो।

प्रकाशित: २५ पुस २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App