६ वैशाख २०८१ बिहीबार
अर्थ

एक महिनाभित्रै डिपिआर बन्ने

काठमाडौं - कुल ६ सय ३५ मेगावाटको जलाशययुक्त दूधकोसी आयोजनाको अपडेटेड विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्रै तयार हुने भएको छ। आयोजनाले डिपिआर बनाइरहेको परामर्शदाता कम्पनीले एक महिनाभित्रै डिपिआर बुझाउने जनाएको छ। दूधकोसी जलविद्युत् कम्पनी लिमिटेडका आयोजना प्रमुख बसन्तध्वज श्रेष्ठले परामर्शदाता कम्पनीले जनवरीभित्रै डिपिआर बुझाउने बताए।

‘आयोजनाको अपडेटेड डिपिआर लगभग तयार भइसक्यो,’ उनले भने, ‘परामर्शदाता कम्पनीले एक महिनाभित्रै बुझाउने तयारी गरिरहेको छ।’ इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए–एनइडब्लुइसीको जेभीले अपडेटेड डिपिआर तयार पार्ने जिम्मेवारी पाएको थियो।

उक्त कम्पनीलाई सन् २०१६ मा १८ महिना लगाएर डिपिआर अध्ययन गर्ने जिम्मेवारी तोकिएको थियो। तर बीचैमा आयोजनाको क्षमता बढाएपछि प्रतिवेदन निर्माणमा केही ढिलासुस्ती भएको थियो। आयोजना प्रमुख श्रेष्ठले सन् २०२० सम्म व्यवस्थापकीय काम सम्पन्न गरेर सन् २०२१ भित्र आयोजनाको ठेक्का गर्ने तयारी रहेको बताए। ‘डिपिआर तयार भएसँगै लगानीकर्ता खोज्ने काम अघि बढाउनेछौं,’ उनले भने, ‘यो आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्न लागेका छौं।’ एसियाली विकास बैंक (एडिबी) आयोजना बनाउन इच्छुक देखिएको पनि उनले बताए।

‘यो आयोजनाको डिपिआर अध्ययन एडिबीकै सहयोगमा भएको हो,’ उनले भने, ‘निर्माणमा समेत उसले चासो देखाएको छ। तर अहिलेसम्म निर्माण गर्ने सम्झौता भएको छैन।’ नेपाल विद्युत् प्राधिकरणले लगानीका लागि एडिबीसँग विभिन्न चरणमा वार्ता गरेको पनि श्रेष्ठले बताए। ‘एडिबीले लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ, तर कुन मोडालिटीमा निर्माण गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन,’ उनले भने, ‘अबको केही समयभित्रै टुंगो लगाउने लक्ष्य राखेका छौं।’

श्रेष्ठका अनुसार अन्यको तुलनामा यो आयोजनाबाट दैनिक १२ घन्टा पूर्ण क्षमतामा बिजुली निकाल्न सकिन्छ। ‘यो आयोजनाबाट सुक्खा याममा पनि दैनिक १२ घन्टाभन्दा धेरै समय बिजुली उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘निर्माण सम्पन्न भएपछि सुक्खा याममा हुने विद्युत् अभाव परिपूर्ति हुन्छ।’ आयोजनाले वार्षिक ३५८६ गिगावाट घन्टा बिजुली उत्पादन गर्नेछ। यो आयोजनाबाट सुक्खा याममा ११८४ गिगावाट आवर र बर्खामा २१७७ गिगावाट आवर बिजुली उत्पादन हुनेछ। आयोजनाले ९.६ प्रतिशत आर्थिक प्रतिफल दिने बताइन्छ। विस्तृत डिजाइन प्रतिवेदनमा आयोजनाको ड्याम २२० मिटर अग्लो निर्माण गर्नुपर्ने उल्लेख छ। १३.३ किलोमिटरको हेडरेस टनेल हुनेछ। यो आयोजना खोटाङ र ओखलढुंगा जिल्लामा अवस्थित छ। काठमाडौंबाट आयोजनाको ड्यामसाइट एक सय ४० किलोमिटर टाढा पर्छ। दूधकोसी आयोजनाको विद्यृत्गृह पूर्ण रुपमा भूमिगत हुनेछ। भूमिगत विद्युतृगहबाट चार सय मेगावाट बिजुली उत्पादन गरिनेछ। अर्को युनिटबाट दुई सय ३५ मेगावाट उत्पादन गरिनेछ।

आयोजनाको लागत एक खर्ब ५५ अर्ब रुपैयाँ हुने अनुमान छ। सरकारले यो आयोजना सन् २०२१ मा निर्माण सुरु गरी सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसबाट उत्पादन हुने बिजुली ४०० केभीको एक सय पाँच डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेर ढल्केबर सबस्टेसनमा जडान गरिनेछ।

६ लाख रुख कटान गर्नुपर्ने

यो आयोजना निर्माण गर्दा करिब ६ लाख रुख कटान गर्नुपर्ने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार अहिले यसको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ। आयोजना प्रमुख श्रेष्ठले आयोजनाको सम्पूर्ण संरचना निर्माण गर्दा करिब ६ लाख रुख कटान गर्नुपर्ने बताए। ‘वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएसँगै जग्गा अधिग्रहणको काम सुरु गर्नेछौं,’ श्रेष्ठले भने, ‘करिब १३ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ।’   

आयोजना निर्माणको क्रममा करिब एक सय ७० घर मात्रै विस्थापित हुनेछन्। जग्गा अधिग्रहणमा १० अर्बभन्दा धेरै लाग्ने आयोजनाले जनायो। अहिलेसम्म आयोजना प्रभावित क्षेत्रको जग्गाको मुआब्जा दर निर्धारण हुन सकेको छैन।

 

प्रकाशित: २० पुस २०७६ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App