coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुल अलपत्र, ठेकेदार बेखबर

सेती नदी किनारमा पुल निर्माणका लागि बनाइएका पिलर तथा अलपत्र पुलको अवस्था। तस्बिर : जगत/नागरिक

बझाङ – सेती नदीको पानकोटमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीका कारण एक वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणका लागि पेश्की लिएका ठेकेदार लामो समयदेखि बेखबर भएका छन्।

सदरमुकाम चैनपुरसँग नदीपारिका साबिक २० गाविस हाल पाँच गाउँपालिका र जयपृथ्वी नगरपालिका–४ जोड्न सेती नदीमा निर्माण हुन लागेको पानकोट पक्की पुलको काम ठेकेदारले कामै नगरी एलिट कन्स्ट्रक्सनका मालिक योगेश पौड्याल ७० लाख रुपैयाँ पेस्की लगेर बेखबर भएपछि नदीपारिका स्थानीय यातायातबाट वञ्चित भएका हुन्।

ठेकेदारले निकै लापरबाही गरेको छ। काम अलपत्र छ सम्झौता गरेको एक वर्ष बित्न लाग्दा पनि कामको नाममा सिन्को उठाएको छैन। ठेकेदार र उनका मान्छेको अनुहारसमेत बझाङीले नदेखेको जयपृथ्वी नगरपालिका–५ का चन्द्रबहादुर सिंहको भनाइ छ।

सम्झौता भएको २०६५ चैतमा हो। त्यही समयमा जनप्रतिनिधि र नेताहरूले ठेकेदारले अब एक वर्षभित्र काम पूरा गर्नेछन् भन्ने विश्वाससहित फेसबुक स्टाटस लेखेका थिए। तर अहिले ठेकेदार बेपत्ता हुँदा सरोकारवाला सबै तैं चुप मैं चुप भएका छन्। नदी वारिपारि दुवैपट्टि पिच सडक निर्माणसमेत भइसकेको छ। पिच सडक भए पनि त्यसमा गाडी चढ्ने कहिले हो अत्तोपत्तो छैन। पुलका लागि नदी वारिपारिको दुवै पिलर जागृत निर्माण सेवाले दुई वर्ष पहिले नै बनाएकोे थियो।

सेती नदीमा पुल नहुँदा यातायात अभावमा सुत्केरी ब्यथा लागेका महिला तथा चोटपटक लागेका व्यक्ति निकै मारमा परेका छन्। त्यस्ता व्यक्तिलाई उपचार गराउन स्टेचर तथा डोको प्रयोग गरी बोक्दै अस्पताल लैजानुपर्ने भएकाले निकै समस्या भएको स्थानीयको गुनासो छ। सडक आयो, विकास हुन्छ घरआँगनबाटै गाडी चढेर जिल्लाभित्र र बाहिर जान पाइन्छ भन्ने आसले कमाइखाने खेतमा सडक निर्माण गर्न दिए पनि सेती नदीमा पुल नबन्दा पाँच वर्षदेखि न खेतमा अन्न फलाउन पाइयो न गाडी नै चढ्न पाइयो। पुल निर्माणको जिम्मा लिएको ठेकेदारको हाल कुनै अतोपतो नभएको जयपृथ्वी नगरपालिका–३ का जनकबहादुर ओलीले बताए।

‘समयमा काम नगर्ने ठेकेदारलाई कालो–सूचीमा राख्ने भनेर गृहमन्त्री रामबहादुर थापाले बोलेको पनि धेरै भएको छ। तर यो पुल जिम्मा लिने ठेकेदार कहाँ छन् अतोपतो छैन,’ उनले भने, ‘हामी गाउँमा विकास हुन्छ भन्ने आशले बसेका छौं। पुल नहुँदा नदीवारि गाडी नआएर हाम्रो गाउँमा मान्छेबाट ढुवानी गरिने भएकाले हरेक सामानको भाउ दोब्बर नै छ। गाडी गुडे केही सस्तो हुनुका साथै भारी बोक्नुपर्ने थिएन।

सेती नदीको पानकोटमा निर्माण हुन लागेको पुलको लम्बाइ ६९ मिटर रहेको छ। सो पक्की पुल अत्याधुनिक शैलीमा निर्माण हुने, फलाम र स्टिलबाट बनाइने भएकाले खिया नलाग्ने बताइएको छ। ‘मैले २०६५ साल चैतमा २०६७ साल जेठभित्र सम्पन गर्नेगरी भ्याटसहित नौ करोडमा सम्झौता गरेको हुँ,’ एटिल कन्स्ट्रक्सनका सञ्चालक योगेश पौड्यालले भने, ‘सबै सामान भारतबाट ल्याउनुपर्ने भएकाले ढिलाइ भएको हो।’

पुल निर्माणका लागि दुई करोड बराबरको निर्माण सामग्री भारतबाट खरिद गरी हेटौंडा औद्योगिक क्षेत्रमा ल्याएर राखेको पौड्यालको दाबी छ। उनले केही दिनभित्र बझाङ पुगेर काम सुरु गर्ने योजना रहेका पनि सुनाए। ‘कसैले सामान हेर्न मन छ भने हेटौंडा गएर हेर्दा हुन्छ,’ उनले भने। सो पुल निर्माणका लागि डोलिडाले आर्थिक सहयोग गरिरहेको छ।

पानकोट पुलजस्तै सेती नदीका निर्माणाधीन देवसैन पुल, तमैल पुल, झनाना पुल र रायल पुलको काम पनि सकिएको छैन। अलपत्र पुल छिटै निर्माण गर्न आफूले टेलिफोन गरेर र भेटेर ठेकेदारलाई पटकपटक दबाब दिएको प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले बताए। ती ठाउँमा काठे पुल निर्माण गर्न गाउँपालिका तथा वडाले ६० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरे पनि तीन महिनाभन्दा बढी सञ्चालन हुँदैनन्।

प्रकाशित: १६ पुस २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App