coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अपूरो तयारीमा उत्कृष्ट अपेक्षा

पोखरा - २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ बुधबार (जनवरी १) सुरु हुँदैछ। सन् २०१९ मा अनुमानित १२ लाख (२०१९ को अन्तिम तथ्यांक आइनसकेको) विदेशी पर्यटक नेपाल भित्रिएकामा आठ लाख बढाएर २०२० मा २० लाखको लक्ष्य पूरा गर्ने ध्याउन्नमा सरकार छ। सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी नेपाल भित्रिएका थिए।

१२ लाखको आगमनलाई ह्वात्तै बढाएर २० लाख पु-याउने त्यत्ति ठूलो महत्वाकांक्षी योजना सरकारले बनाए पनि अहिलेसम्मको तयारीका आधारमा लक्ष्य पूरा गर्न भने त्यति सहज नभएको पर्यटन क्षेत्रका जानकारको भनाइ छ। अहिलेकै पूर्वाधार, प्रचारप्रसार र प्याकेज तथा वर्षभरि गरिने कार्यक्रमको क्यालेन्डरका आधारमा आगामी वर्षको लक्ष्यप्राप्ति फलामको चिउरा चपाएसरह हुने पर्यटन व्यवसायी बताउँछन्।

सरकारले लक्ष्य हासिल खासै समस्या नरहेको दाबी गरिरहँदा व्यवसायी भने सरकारी भनाइमा विश्वस्त छैनन्। व्यवसायी भन्छन्, ‘अहिलेकै प्रचारप्रसार, प्रवद्र्धन, वर्षभरिमा गरिने कार्यक्रमको क्यालेन्डर र पूर्वाधारका आधारमा सरकारी लक्ष्य हासिल सहज छैन।’ सरकारले २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य घोषणा गर्दा पर्यटन व्यवसायी निकै उत्साही भए पनि भ्रमण वर्ष सुरु हुनै लाग्दा पनि दमदार संकेत नपाउँदा व्यवसायी निराश छन्।

अहिलेसम्म गतिलो तयारी केही देखिन्न। अब गरिने तयारीले २०२० को उपलब्धी हासिल गर्न कठिन छ, बरु सन २०२१ लाई फाइदा पुग्छ। 

व्यवसायी भन्छन्, ‘पर्याप्त समय कामै नगरी गुजारेर अन्तिममा हतारका साथ औपचारिक शुभारम्भको तयारीले लक्ष्य पूरा हुँदैन,’ नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा भन्छन्, ‘२० लाख विदेशी पर्यटकको सरकारी लक्ष्य पूरा गर्न उति सहज छैन। किनकि अहिलेसम्म गतिलो तयारी केही देखिन्न। अब गरिने तयारीले २०२० को उपलब्धि हासिल गर्न कठिन छ। बरु सन् २०२१ लाई फाइदा पुग्छ।’

सापकोटाका अनुसार सन् २०२० को नेपाल भ्रमण वर्ष घोषणा गरेको धेरै पहिल्यै हो। त्यो हिसाबले पनि सन् २०२० मा गरिने कार्यक्रम र प्रवद्र्धनात्मक गतिविधि पहिल्यै सार्वजनिक हुनुपर्ने हो। तर अहिलेसम्म न सरकारले कार्यक्रम सार्वजनिक गरेको छ, न पर्यटन क्षेत्रले नै। ‘योजना नबनेका होइनन्, मूर्त रुप दिन ढिलाइ भएको हो,’ उनले भने। सापकोटाका अनुसार सन् २०२० को लक्ष्य पूरा गर्न सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय बजारमा प्रचारका गतिविधि गर्नुपर्ने थियो। तर अहिले पनि प्रचारप्रसारको सुर छैन। ‘एक वर्षपछि नेपाल घुम्ने योजना विदेशी पाहुनाले वर्ष दिनअघि नै बनाउँछन्। तर हामीले उनीहरुको त्यो योजनामा आकर्षण थप्न सकेनौं। अब गरिने आकर्षणले तत्कालभन्दा दीर्घकालीन फाइदा हुन्छ।’ पर्यटनमा कुनै पनि समयमा गरिने प्रवद्र्धनले लाभ दिने भए पनि तोकिएको लक्ष्य भेट्न भने समयमै काम गर्नुपर्ने उनको भनाइ छ।

‘२०१९ को तुलनामा २०२० मा के फरक छ भनेर हामीले सन्देश अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकेनौं,’ उनले भने, ‘अहिलेसम्मको तयारी हेर्दा २०१९ भन्दा २०२० खासै अन्तर देखिन्न।’ २०२० मा नेपाल घुम्न जाँदा पर्यटकले पाउने सहुलियत, आकर्षण, प्याकेजबारे पहिल्यै थाहा पाउनुपर्ने उनले बताए। ‘हामी योजना बनाउँछौं, कार्यान्वयन गर्दैनौं,’ उनले भने। पर्यटकीय क्षेत्र पोखराले समेत आफ्नो प्याकेज अहिलेसम्म सार्वजनिक नगर्दा २०२० को प्रतिफलप्रति व्यवसायी नै विश्वस्त हुन नसकेको सापकोटाको भनाइ छ। नेपाल भ्रमण वर्ष २०२० बाट व्यवसायीले पर्याप्त अपेक्षा गरे पनि त्यसको सुरसार नदेखिएको सापकोटाले बताए।

नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेशका सह–संयोजक अग्निप्रसाद कँडेल वार्षिक कार्यक्रम गर्ने तयारीमा जुटे पनि सबै टुंगो नलागिसकेको बताउँछन्। २०२० मा २० लाख विदेश पर्यटक भित्र्याउने भनेर दुई वर्षअघि नै कार्यक्रम घोषणा गरे पनि अन्तिम समयसम्म लम्बेतान प्रक्रियामै अल्मलिएको उनले बताए। ‘वर्षभरि गरिने कार्यक्रम र प्याकेज ल्याउन ढिला मात्र होइन, अति नै ढिला भएको छ,’ उनले भने, ‘तयारीको पर्याप्त समय गुजारेर हामी अहिले हतारमा काम गर्दैछौं।’

कँडेलले २०२० मा कहाँ र कहिले के कस्ता कार्यक्रम गर्ने भन्ने प्रस्ताव तयार पारिसके पनि यकिन भइनसकेको बताए। बुधबार हुने गण्डकी प्रदेशको शुभारम्भमा केही कार्यक्रम घोषणा गरिने उनले बताए। २०२० मा केही नयाँ पदमार्ग सञ्चालनमा ल्याउने, गतिला गन्तव्यको प्रवद्र्धन गर्ने लगायत योजना समेटेर अघि बढ्ने तयारी भएको कँडेलले जानकारी दिए। 

पर्यटन बोर्डका पदाधिकारी पनि २०२० को लक्ष्य र योजनाप्रति उतिसारो आशावादी छैनन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हालेको बोर्डले नै प्रवद्र्धनका कार्यक्रममा ढिलासुस्ती भएको बताउने गरेको छ। ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गर्दादेखि नै काम हुनुपर्ने हो। तर ढिलाइ भएको छ,’ बोर्डका एक उच्च अधिकारीले भने।

ती अधिकारीका अनुसार खासमा सरकारले सन् २०१८ मा नै नेपाल भ्रमण वर्ष मनाउने योजना बनाएको थियो। तर तयारी नपुगेको भन्दै दुई वर्षपछि धकेलेर २०२० मा पु¥याएको हो। २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक ल्याउन सकिने लक्ष्य सरकारले सार्वजनिक गरे पनि त्यसअनुसार गति नदिएको ती अधिकारीको भनाइ छ। ‘२०२० मा लक्ष्य पूरा गर्न सकिने देखेरै सरकारले दुई वर्ष पछाडिका लागि योजना धकेलेको हो,’ उनले भने, ‘तर त्यसमा पनि सरकार असफल भएको छ। किनकि दुई वर्ष ढिलाइको कार्यक्रमको तयारी पनि निकै नै फितलो छ।’

ती अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्ष (०७५÷७६) मा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालबारे प्रचार हुनै सकेन। अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारका लागि त्यो वर्ष १७ करोड ३१ रुपैयाँ रकम विनियोजन गरे पनि ढिला गरी बजेट स्वीकृत भएको तथा प्रक्रियागत समस्या परेको भन्दै खर्च भएन। भारतका टिभी तथा एफएम रेडियो, चीनको टिभी, बिबिसी, सिएनएन, रोयटर्स, ट्रिप एडभाइजर, लोन्ली प्लानेटमा प्रचारका लागि त्यो रकम खर्चने योजना थियो।

आव ०७६/७७ मा पनि सिएनएन, बिबिसी, ट्रिप एडभाइजर, लोन्ली प्लानेट, भारतीय र चिनियाँ सञ्चार माध्यममा नेपालबारे प्रचार गर्न झन्डै १३ करोड बजेट विनियोजन गरिएको छ। ‘अघिल्लो आव अन्तर्राष्ट्रिय सञ्चार माध्ययमा प्रचारप्रसार गर्ने भने पनि बजेट खर्च हुन सकेन,’ बोर्डका ती वरिष्ठ अधिकारीले भने, ‘अहिलेसम्म अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारको सुरुसार नै छैन। प्रचार नभई पर्यटक आउँदैनन्।’

ती अधिकारीका अनुभवमा ध्वजाबाहक नेपाल एयरलाइन्सको नयाँ गन्तव्य खोज्ने भनिए पनि यो बीचमा उडान विस्तार भएन। नेपाल वायुसेवा बलियो बनेर युरोपका मुलुकका उड्नै सकेको छैन भने नेपाली हवाई कम्पनीमाथिको कालोसूचीको दाग पनि हटेको छैन। ‘भरपर्दो हवाई सञ्जाल पनि विस्तार हुन सकेको छैन,’ उनले भने, ‘नेपाल जोड्ने गरी नयाँ एयरलाइन्स थपिए पनि ती हवाईजहाज पर्यटकभन्दा पनि नेपाली कामदारलाई लैजाने र ल्याउने योजनामा आएका छन्। हामीले ती हवाई कम्पनीबाट पर्यटक आउने अपेक्षा नगर्दा हुन्छ।’

भारतीय सहर र नेपाल जोड्ने गरी जेट एयरवेज बन्द भएपछि त्यसको ठाउँ पनि नेपाल वायुसेवाले लिन नसकेको उनले बताए। ‘नेपाल र भारतका लागि जेट एयरवेजको उडान निकै नै महत्वपूर्ण थियो। पर्यटक ल्याउनेमा जेट एयरवेजको ठाउँ राष्ट्रिय ध्वजाबाहकले लिन सकेन,’ उनले भने, ‘जेट एयरवेजको अन्तर्राष्ट्रिय सञ्जाल बलियो थियो। जेट बन्द भएसँगै नेपालको अन्तर्राष्ट्रिय पर्यटकीय सञ्जाल पनि कमजोर भयो।’ नयाँ एयरलाइन्स काठमाडौं आउन पनि यहाँको फ्युल र ग्राउन्ड ह्यान्डलिङ महँगो भएको गुनासो गर्दा त्यसको मार पर्यटनमा पर्ने उनले बताए।

‘२०२० पर्यटक ल्याउनका लागि प्रचारप्रसार हुनै सकेन। नयाँ प्रोडक्ट केही भएन,’ ती अधिकारीले भने, ‘पर्यटकको बसाइ अवधि बढाउने योजनै छैन। विदेशी पर्यटकलाई किन नेपाल आउने भन्ने नै कारण नै देखाउन सकिएन। बाह्रै मास सगरमाथा र अन्नपूर्ण क्षेत्र देखाएर मात्र पर्यटक आउने होइन। नयाँ गन्तव्य देखिएनन्।’

पर्यटनमन्त्री योगेश भट्टराई भने २० लाख पर्यटक भिœयाउन पर्याप्त तयारी रहेको दाबी गर्छन्। विदेशबाट आउने पर्यटक गनेर २० लाख पु-याउने र त्यसका लागि हवाई मार्ग मुख्य रहेको उनले बताए। ‘एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढेको छ,’ उनले भने, ‘अब पहिलेभन्दा बढी संख्यामा जहाज पार्किङ गर्न र बढी समय सञ्चालन गर्ने क्षमता राख्छ, त्यसले पर्यटक आगमनमा सघाउँछ।’ सन् २०१८ को तुलनामा २०१९ मा पर्यटक आगमन प्रतिशतमा केही कमी हुुनुमा काठमाडौं–दिल्ली उडान गर्दै आएको जेट एयरवेज, काठमाडौं–क्वालालाम्पुर उड्ने एयर एसियाले पनि उडान बन्द गर्दा मार परे पनि अरु वायुसेवाले नेपालसम्म हवाई सेवा विस्तार गर्दा सहज हुने उनले बताए। विगतमा बर्सेनि २५ प्रतिशतको दरले वृद्धि भइरहेको पर्यटक आगमन २०१९ मा१०–१५ प्रतिशतमा झरे पनि २०२० मा त्यो प्रतिशत अकासिने उनले बताए।

‘एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल २४ घन्टा सञ्चालनको क्षमता राख्छौं। नयाँ एयरलाइन्स पनि नेपाल आउन चाहेका छन्। कपितयले काठमाडौंसम्म उडान सुरु गरे,’ भट्टराईले भने, ‘भिस्तारा एयरलाइन्सले नेपालसम्मको उडान थपेको छ। एयर एसियालाई पनि नेपालमा उड्न भनेका छौं। हिमालय एयरलाइन्सले चीनमा र नेपाल वायुसेवाको पनि उडान विस्तार हुँदैछ।’

सन् २०२० को मध्यमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा पर्यटक आगमन थपिने उनले बताए। ‘दुनियाँका चर्चित गन्तव्य सूचीमा नेपालका ठाउँ परेको भन्दै विदेशी सञ्चार माध्यमले प्रचारप्रसार गरेका छन्,’ उनले भने, ‘त्यसबाहेक भारत र चीनले पनि पाहुना पठाउने आश्वासन दिएका छन्।’ नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ पनि प्रवद्र्धनात्मक कार्यक्रम हुने र डिसेम्बर ३१ मा विश्वका २० अग्ला भवनमा नेपालको र भ्रमण वर्षको झन्डा फहराउने कार्यक्रम हुँदा पर्यटक भिœयाउने लक्ष्यमा साथ मिल्ने मन्त्री भट्टराइले बताए।

प्रकाशित: १५ पुस २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App