७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्तरोन्नति र कालोपत्रे गर्न ढिलाइ

बझाङको निर्माणाधीन देवल विमानस्थल। तस्बिर : जगत/नागरिक

बझाङ – बझाङको देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ। ठेकेदारको लापरबाहीका कारण सो कार्यमा ढिलाइ भएको हो।

विमानस्थलको काममा ढिलाइ गरिँदा बझाङवासी सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। हवाईसेवाको अभावमा सुत्केरी महिला, बिरामी र दुर्घटनामा परेका कैयौं व्यक्तिले समयमै उपचार नपाएर ज्यान गुमाएका छन् भने पर्यटक जिल्ला भित्रिनबाट रोकिएका छन्।

विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने जिम्मा पाएको अमर कन्स्ट्रक्सनले २०७५ साउनमा १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरेको थियो। तर, धावनमार्ग पिच तथा कालोपत्रे गर्ने काम अझै पूरा गरेको छैन।

२०३५ सालमा निर्माण गरिएको कच्ची विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो। तत्कालीन माओवादी विद्रोहीले विमानस्थलको टावरमा दुईपटक बम विस्फोट गराई क्षतिग्रस्त बनाएपछि विमानस्थल बन्द भएको हो।

बझाङलाई बाहिरी जिल्लासँग जोड्ने एक मात्र सडक जयपृथ्वी राजमार्ग पटकपटक बन्द हुने गरेको र वैकल्पिक यातायातको रूपमा रहेको हवाई सेवा पनि एयरपोर्ट पिच नहु“दा सुचारु नभएका कारण बझाङवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन्।

बर्खाकोे समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण बिरामीहरूले बर्सेनि ज्यान गुमाउने गरेका छन् भने यात्रुहरूले पनि सास्ती भोग्दै आएका छन्। दुई वर्षयता जयपृथ्वी राजमार्ग पटकपटक गरी ५१ दिन अवरुद्ध भएको थियो। यस अवधिमा उपचारका लागि धनगढी लैजाँदै गरेका सातजना बिरामीले बाटैमा ज्यान गुमाउनुपरेको थियो।

यो समस्यालाई लिएर नागरिक अभियन्ता र सांसदहरू संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयमा पटकपटक डेलिगेसन गएपछि विमानस्थल कालोपत्रे गर्न रकम विनियोजन भएको थियो। पाँच करोड ५० लाखको लागतमा विमानस्थल कालोपत्रे गर्ने काम भइरहेको छ। तर, कालोपत्रे गर्ने जिम्मा पाएको अमर कन्स्ट्रक्सनले १५ महिनाभित्र काम सम्पन्न गर्न नसक्दा असोज २८ गते पुनः ६ महिनाका लागि म्याद थप गरिएको छ।

ठेकेदार कम्पनीले थप गरिएको ६ महिना (चैतभित्र) काम सम्पन्न गर्ने दाबी गरेको छ। निर्माण कम्पनीका प्रतिनिधि भरत न्यौपाने विभिन्न प्राविधिक कमजोरीका कारण समयमै काम सम्पन्न गर्न नसकिएको जनाउँदै आगामी चैतसम्म काम सकिने दाबी गरे।

बढीजसो बझाङ नेपालगञ्ज उडान सञ्चालन गर्ने विमान कम्पनीहरूले नेपालगञ्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएका कारण उडान बन्द गर्नुपरेको बताएका थिए। यद्यपि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई तीनवटा ट्वीनअटर फ्लाइट गर्न सकिने विमान कम्पनीहरूले बताउँदै आएका छन्।

विमानस्थल पुनः सञ्चालन भए सर्वसाधारणले सुविधा पाउनुका साथै जिल्लाको पर्यटन विकासमा पनि टेवा पुग्ने यहा“का बासिन्दाको आशा छ। उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले लामो समयदेखि विमानस्थल बन्द भएका कारण जिल्लामा आउने पर्यटकसमेत घटेको बताए।

उनले विमानस्थल सञ्चालनमा आए साईपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफालगायत दर्जनभन्दा बढी पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताए।

विमानस्थलको काम पूरा गर्न आफूले पटकपटक ठेकेदारलाई ताकेता गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

प्रकाशित: २ पुस २०७६ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App