१६ चैत्र २०८० शुक्रबार
अर्थ

बिचौलियाले अण्डा उत्पादक किसान मर्कामा

नेपालगन्ज-ठूला ब्यवसायी र बिचौलियाका कारण आफ्नो पेशा संकटमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन्। सरकारले अण्डाको मुल्य निर्धारण नगर्दा बिचौलियाले आम उपभोक्ता र साना किसानलाई मर्कामा पार्ने काम गरेको उनीहरुको भनाई छ। नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दियाले नेपालगन्जमा सोमबार गरेको पत्रकार सम्मेलनमा ब्यवसायीले यस्तो गुनासो गरेका हुन्।

 संघका अध्यक्ष ललितबहादुर जिसीले राज्यको मौनताले गर्दा  बिचौलियाले किसानसँग सस्तोमा अण्डा खरिद गरेर उपभोक्तालाई बजारमा महंगो मुल्यमा बिक्री गर्ने गरेको तितो यर्थात सुनाए। ‘बिचौलियाले हामीसँग ९ रुपैयाँमा अण्डा खरिद गर्छन्, तर उपभोक्ताले बजारमा १५ रुपैयाँमा किन्न बाध्य भईरहेका छन्,’ उनले भने ‘हामीले उनीहरुलाई ९ रुपैयाँमा दिन्छौं भने थोरै नाफा खाएर उपभोक्तालाई १३ रुपैयाँमा बेच्नुपर्छ।’ राज्यका निकायले बजार अनुगमन नगर्दा अण्डा ब्यापारमा मनोमानी नै चलेको पीडित किसान बताउँछन्।

 संघले ठूलो साईजको अण्डा प्रति क्यारेट २ सय ७५ र सानो साईजको अण्डा प्रति क्यारेट २ सय ५५ रुपैयाँ निर्धारण गरेपनि उपभोक्ताले बजारमा ठूलो साईजको अण्डा प्रति क्यारेट ३ सय ३० र सानो साईजको अण्डा प्रति क्यारेट ३ सय ५० रुपैयाँमा किन्न बाध्य छन्।

पोल्ट्री आत्मनिर्भर ब्यवसाय भएको बताउँदै उनले आफुहरुलाई उत्पादित बस्तुको उचित मुल्य दिनुपर्ने माग गरे। बिचौलियाले ठूला पोल्ट्री ब्यवसायीसँग मिलेर साना किसानलाई धरापमा पार्न खोजेको पीडित किसानको आरोप छ। बाँके र बर्दियामा ७० को हाराहारीमा अण्डा उत्पादन गर्ने साना लगानीका पोल्ट्री फर्म दर्ता भएपनि अहिले करिव ३० वटा मात्र सञ्चालनमा रहेको संघले जनाएको छ।

 बाँके र बर्दियामा करिव पोल्ट्री ब्यवसायमा करिव १ अर्व बराबरको लगानी रहेको बताइएको छ। ‘अण्डा उत्पादन गर्ने एक सय जति लेर्यस जातको कुखुरा पाल्न करिव १० लाख जति लगानी लगाउनुपर्छ,’ अध्यक्ष जिसीले भने। राज्यले अनुदान बाँड्नुभन्दा अण्डाको मुल्य निर्धारण गरिदिनुपर्ने बाँके र बर्दियाका अधिकांस किसानको माग छ। बिचौलिया र ठूला ब्यवसायीका कारण आफुहरु मर्कामा परेको भन्दै उनीहरु बिरुद्ध आन्दोलित हुनु परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले बताएका छन्।

 

प्रकाशित: ३० मंसिर २०७६ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App