१६ चैत्र २०८० शुक्रबार
अर्थ

मर्जरका लागि राष्ट्र बैंक गुहार्दै वाणिज्य बैंक

काठमाडाैं -  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी वृद्धि आठ अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएपछि बैंकहरु मर्जरका लागि दौडधुपमा लागेका छन्। केही वाणिज्य बैंकहरुले हकप्रद सेयर निष्कासन, नगद र बोनस सेयर जारी चुक्ता पुँजी पु-याइसकेका छन् भने पाँचवटा बैंकले मर्जरका लागि संस्था नभेटेको भन्दै खोजिदिन राष्ट्र बैंकसँग आग्रह गरेका छन्।

राष्ट्र बैंकका अनुसार एकअर्कामा गाभिन बैंकको खोजी गर्न सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी, सेञ्चुरी, सिभिल र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले आग्रह गरेका छन्। स्रोतका अनुसार सिटिजन्स र सिभिल बैैंक व्यापार वृद्धिका लागि मर्जरमा जान इच्छुक रहेका छन्। त्यसैगरी, पुँजी वृद्धि गर्न सफल भए पनि व्यापारमा प्रतिस्पर्धा गर्न नसकेको एनसिसी बैंकले पनि मर्जरको बाटो रोजेको हो।

कुमारी बैंक मर्जर प्रक्रियामा गई व्यापार वृद्धि गर्न चाहन्छ भने सेञ्चुरी बैंकलाई अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे परेकाले मर्जरको बाटो रोजेको राष्ट्र बैंक स्रोतले जनाएको छ। स्रोतका अनुसार आन्तरिक व्यवस्थापनको चाहना बमोजिम एनबी बैंक मर्जरमा जान लागेको हो। त्यसैगरी, नेपाल बंगलादेश (एनबी) बैंकका सेयरधनी र व्यवस्थापक समूह पनि मर्जरका लागि सहयोग माग्दै राष्ट्र बैंक पुगेको स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुदृढीकरणका लागि आर्थिक वर्ष ०७२/७३ मा मर्जर र चुँक्ता पुँजी वृद्धि नीति ल्याएको थियो। हाल मुलुकभर २८ वटा वाणिज्य बैंक रहेका छन्। यी बैंकले मुलुकभर तीन हजार आठ सय ८४ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएका छन्।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष ०६७/७७ को असार मसान्तसम्म कूल चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबार ऋण जारी गर्नुपर्ने छ। चालु आवको कात्तिक २७ गतेसम्म आठ वाणिज्य बैंकले २० अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न स्वीकृति लिइसकेको राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र जारी गरेको शतप्रतिशत रकम बैंकले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ।

 

प्रकाशित: २६ मंसिर २०७६ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App