१६ चैत्र २०८० शुक्रबार
अर्थ

करोड लगानीमा कालिज फर्म

वीरेन्द्रनगर–१४ को गोठीकाँडामा स्थापना गरिएको कालिज फर्म, फर्मभित्रका कालिजलाई चारो दिँदै कर्मचारी। तस्बिरःनगेन्द्र/नागरिक

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरका डिकेन्द्र ढकाल, सन्दीप ढकाल र गणेश पौडेल सरकारी जागिरे हुन्। डिकेन्द्र भेरीगंगा नगरपालिका र सन्दीप गुर्भाकोट नगरपालिकाका अमिन हुन्। गणेश मेहलकुना अस्पतालका खरिदार हुन्। उनीहरुको परिचय सरकारी जागिरेमै सीमित छैन। तीनै जना मिलेर कर्णाली प्रदेशमै पहिलो पटक व्यवसायिक कालिज फार्म सुरु गरेका छन्।

वीरेन्द्रनगर–१४ मा डेढ विघा जमिन भाडामा लिएर तीनै जनाले एक करोड रुपैयाँको लागतमा काजिल फार्म सुरु गरेका हुन्। गोठीकाँडामा स्थापना गरिएको ‘माउण्टेन वाईल्ड फुड प्रोडक्ट प्रालि’मा अहिले चार सयको हाराहारीमा कालिज छन्। सञ्चालक सन्दीप ढकालका अनुसार बेल्जियम र फ्रान्समा पाइने प्रजातिका कालिजहरु फर्ममा राखिएका छन्। ‘बेल्जियम र फ्रान्समा पाइने कालिजको प्रजाति पोखराबाट ल्याएका हौं’, उनले भने, ‘अहिले विक्री गर्ने समय भएको छ।’

कालिज नौलो मानिने प्रजाति भने होइन। तर, यसको उपलब्धता भने कमै मात्रामा हुन्छ। जंगली पंक्षी कालिज उपलब्ध गराउने व्यवसाय पनि नेपालमा एकदमै कम छन्। गोठीकाँडामा रहेको माउण्टेन वाईल्ड फुड प्रालि नेपालको तेस्रो कालिज फर्म हो। यसअघि पहिलो काठमाडौं र दोस्रो पोखरामा सञ्चालनमा आएका छन्। ‘परम्परागत व्यवसायको सट्टा केही नयाँ गरौं भन्ने सोचका साथ कर्णालीमै पहिलो पटक कालिज फर्म सुरु गरेका हौं,’ डिकेन्द्र ढकालले भने, ‘सरकारी जागिरबाट बचेको समय फर्ममा खर्चिने गरेका छौं।’ नयाँ व्यवसाय भएकाले चुनौति पनि उत्तिकै रहेको उनले बताए।

‘कालिजका विषयमा हामीले धेरै अध्ययन गर्‍यौं, युट्युबहरु हेर्‍यौं,’ अर्का सञ्चालक गणेश पौडेलले भने, ‘नयाँ व्यवसाय चुनौतिपूर्ण भएपनि दीर्घकालिन सोच राखेर सुरु गरेका हौं।’ कालिजलाई ‘रिङनेक’ प्रजाति भनिन्छ । यो प्रजातिको कालिज बेल्जियम र फ्रान्सबाट पोखरा आउने र आफूहरुले पोखराबाट ल्याउने गरेको ढकालले जानकारी दिए। ढकालका अनुसार यो कालिजको एकदिने चल्ला सुर्खेतसम्म पुर्‍याउँदा प्रति चल्ला एक हजार पाँच सय रुपैयाँ परेको छ।

कालिज बिक्रीका लागि बजारको अभाव नरहेको उनले बताए। ‘प्रदेशमै पहिलो पटक कालिज फर्म सञ्चालन गरिएकाले बजारको समस्या छैन,’ उनले भने, ‘प्रदेश बाहिरका ठूला शहरहरुमा पनि सजिलै खपत गर्न सकिन्छ।’

अन्य पंक्षी भन्दा कालिजको मूल्य महँगो पर्छ। अहिलेसम्म किलोका रुपमा बिक्री गर्ने प्रचलन नभएकाले यसलाई बेच्दा सिंगो कालिजको मूल्य तोकेर बेच्नुपर्ने हुन्छ। यो क्षेत्रमा एउटा कालिजलाई पाँचदेखि आठ हजारसम्म मूल्य पर्ने पौडेलले बताए। हाल एक विगाह क्षेत्रफलमा सञ्चालन गरिएको यो फर्ममा तीन जनाले नियमित रोजगारी पाएका छन्।

एक जनालाई स्थायी रुपमा कर्मचारी राखिएको र अन्यलाई आवश्यकता अनुसार दैनिक ज्यालादारीमा ल्याउने गरिएको उनले बताए। अहिलेसम्म यो व्यवसायका लागि बिमाको कुनै नीति नै नबनेकाले केही जोखिम भने छ।


 

प्रकाशित: २५ मंसिर २०७६ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App