६ वैशाख २०८१ बिहीबार
अर्थ

डिजाइन नबन्दै रुख काट्न हतार

काठमाडौं - कंलकी–चाबहिल सडक निर्माणको अहिलेसम्म डिजाइन पनि तयार भएको छैन। कुन मोडाप्लिटीमा निर्माण हुने भन्ने पनि टुंगो लागेको छैन। ढल तथा अन्य बाँकी कामले  गति लिएको छैन। तर काठमाडौं चक्रपथ सुधार योजनाले पूर्वतयारीबिनै धमाधम रुख काट्दा काठमाडौं फेरि उजाडिँडै गइरहेको छ। योजनाको अनुसार अहिले तीन प्लटमा छुट्ट्याएर रुख कटान कार्य तीव्र गतिमा भइरहेको छ। कंलकीदेखि गोपीकृष्ण हल चाबहिलसम्मको ११.६ किलोमिटर सडक विस्तार गर्ने क्रममा दुई हजार ९६ रुख कटान गर्नुपर्ने हुन्छ। वातावरणविद् भूषण तुलाधार चक्रपथ सुधार योजनाले सडकको डिजाइन र नक्सा बिनै रुख कटान गरेको बताउँछन्।

‘पहिला सडकको डिजाइन तयार पारेर रुख कटान गरेको भए धेरै रुख जोगाउन सकिन्थ्यो,’ उनले भने, ‘तर योजनाले हचुवाकै भरमा रुख कटान गरेर पर्यावरण बिगार्ने काम गरिरहेको छ।’ वातावरणविद् तुलाधारले विकास निर्माणको काम हचुवाको भरमा नभई योजनाबद्ध र शृखंलाबद्ध ढंगले गर्नुपर्ने बताए। ‘फुटपाथका लागि पनि रुख चाहिन्छ,’ उनले भने, ‘सडक आसपास हुने रुखबाट २५ प्रतिशत वायुप्रदूषण रोक्न मद्दत गर्ने अध्ययनले देखाएको छ। भूमिगत पानीको पनि रिजर्भ गर्छ। त्यसैले रुख बचाउनुपर्छ।’ 

काठमाडौं चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले रुख सडक विभागले रेखाकंन गरेको सीमाक्षेत्रको मात्रै रुख कटान गर्दै आएको बताए। ‘हामीले जंगलमा गएर रुख फँडानी गरेका होइनौं,’ उनले भने, ‘सडक विभागले रेखांकन गरेको भित्रैको मात्रै गरेका हौं।’ आयोजना प्रमुख रिमालले चिनियाँ पक्षले सडक क्लियर नगरेसम्म काम नगर्ने सर्त राखेकाले पनि अहिले साइट क्लियरको काम गरिरहेको दाबी गरे।

आयोजनाका अनुसार सडक विस्तारको लागि बिजुलीको पोल सार्ने, ढल लगायतको काम तीव्र गतिमा भइरहेको बताए। ‘हामीले आठ लेनको सडक विस्तारको लागि तीव्र गतिमा साइट क्लिरेन्सको काम गरिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म बिजुलीका पाँच सय पोल सारिसक्यौं। साढे दुई सय जति सार्न बाँकी छ।’ चिनियाँ पक्षले साइट क्लियर नगरेसम्म काम नगर्ने भनेकाले साइट क्लियर लगायतको काम तीव्र गतिमा गरिरहेको उनले बताए।


आयोजना प्रमुख रिमालले अहिले सडकमा रहेका रुख कटान गरे पनि सडक निर्माण सम्पन्न भएपछि फेरि वृक्षरोपण गरिने बताए। आयोजनाका अनुसार सडक खण्डमा रहेका रुख कटानको जिम्मेवारी नेपाल वन निगम लिमिटेडलाई दिइएको थियो। निगमका विभागीय प्रमुख रामचन्द्र भट्टले अहिले कंलकी–चाबहिल सडक खण्डमा रुख कटानको कार्य तीव्र गतिमा भइरहेको बताए।

‘तीन खण्डमा छुट्ट्याएर रुख कटानको काम भइरहेको छ,’ उनले भने, ‘कंलकीदेखि राधाकृष्ण सत्संगसम्म र चक्रपथदेखि चाबहिलसम्मको रुख कटान भइरहेको छ।’ निगमका अनुसार पहिलो प्लटमा सात सय ५५ रुखमध्ये आधा दर्जन मात्रै कटान गर्न बाँकी छ। दोस्रो प्लटमा विद्युतीय पोलको कारणले काम सुरु हुन सकेको छैन। तेस्रो प्लटमा आठ सय सात रुखमध्ये तीन सय ७० वटा कटान गरिएको छ। प्रमुख भट्टले कटान गरिएका रुख गोठाटारस्थित स्टोरेजमा राखेर लिलाम गरिने बताए। आयोजनाका अनुसार उक्त सडक खण्डमा रहेका रुखबाट १८ हजार ६ सय क्युबिक फिट गोलिया हुनेछ।

त्यसैगरी, ५३ चक्टा दाउरा हुनेछ। उक्त रुख कटानको ठेक्का दक्षिणकाली फर्निचर उद्योगले पाएको हो। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले चक्रपथ निर्माणको लागि चिनियाँ पक्षसँग समन्वय भइरहेको बताए। ‘साइट क्लियरको काम सक्नेबित्तिकै सडक कसरी अघि बढाउने भन्ने सहमति हुनेछ,’ उनले भने, ‘हामीले जतिसक्दो छिटो साइट क्लियर गर्न लागेका हौं।’ योजनाले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ दुवैतर्फ ३१–३१ मिटरभित्र परेका घर–टहरा, घुम्ती, बिग्रिएका सवारी साधन, सडकमा जथाभावी राखिएका हार्डवेयर तथा निर्माण सामग्री हटाउन निर्देशन दिइसकेको छ।

यसअघि चिनियाँ पक्षले २०१८ जुनसम्म उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो। तर विविध कारणले नेपाली पक्षले अहिलेसम्म उक्त अवरोध हटाउन सकेको थिएन। सडक विभाग वैदेशिक समन्वय महाशाखाले गोंगबु र महाराजगन्जमा दुईवटा अन्डरपासलाई डिपिआरमा समेट्न चिनियाँ पक्षलाई अनुरोध गरेको बताए।

‘नयाँ बसपार्क र महाराजगन्जमा अन्डरपास अत्यावश्यक छ,’ योजना प्रमुख रिमालले भने, ‘चिनियाँ पक्षलाई डिपिआरमा अन्डरपास समेट्न आग्रह गरिरहेका छौं।’ चीन सरकारले यसअघि कोटेश्वर–कंलकी सडक खण्डमा आठ लेनको सडक र कंलकीमा अन्डरपास  निर्माण गरेको थियो। २७ किलोमिटर चक्रपथमध्ये पहिलो चरणमा १०.३९ किलोमिटर विस्तार सम्पन्न भइसकेको छ। अब झण्डै १७ किलोमिटर सडक निर्माण गर्न बाँकी छ।

प्रकाशित: २४ मंसिर २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App