४ वैशाख २०८१ मंगलबार
अर्थ

लघुवित्तको चर्को ब्याजलाई निरुत्साहित गर्न, ऋण दिँदै नगरपालिका

गोरखा- पालुङटार नगरपालिकाले दुई प्रतिशत ब्याजदरमा नगरवासीलाई व्यापार, व्यवसाय गर्न ऋण दिन थालेको छ। गत वर्ष एक करोड ५० लाख, चालु वर्ष वडा कार्यालय अन्र्तगत ५० लाख र नगरपालिकाले एक करोड गरी तीन करोड रुपैयाँ स्वरोजगार बन्नेहरुलाई बितरण गर्ने नगर प्रमुख दिपकबाबु कंडेलले बताए।

‘शुक्रबार नौ जनालाई बितरण गर्‍यौँ, गत वर्ष बजेट छुट्याएर पनि कार्यविधि नहुँदा बितरण गर्न सकिएन’ नगरप्रमुख कंडेलले भने ‘यो वर्ष एक सय ५० जनालाई स्वरोजगार बनाउने लक्ष्य छ।’ कृषि सहकारी, सामुयिक रुपमा खेती गर्दै आएका किसान, बिदेशबाट फर्किएका युवा, महिला, जनजाती, दलित समुदायलाई प्राथमिकतामा राखेर व्यवसायको अवस्था र आकारलाई ध्यान दिएर ऋण दिईने नगरपालिकाले जनाएको छ।

लघुवित्त संस्थाहरुले सहकारी, समुहहरुलाई चर्को ब्याजदरमा ऋण दिने र कमाएको पैसा ब्याज तिर्न ठिक्क हुने भएपछि लघुबित्तको चर्को ब्याजलाई निरुत्साहित गर्न सहुलियतमा ऋण दिएको नगरप्रमुख कंडेलले बताए। पछिल्लो समय पालुङटार नगरपालिकामा पनि लघुवित्तबाट ऋण लिने समुह र सदस्य बिस्तार गर्ने क्रम ह्वातै बढेको छ। धितो नभएका, आर्थिक अवस्था कमजोर भएका र स्थानीय स्तरमैै केही व्यवसाय गर्न चाहनेहरुलाई लघुवित्तले अधिकतम १६ र सेवा शुल्कलगायत थपेर २० प्रतिशतसम्म ब्याजमा ऋण लगानी गर्ने गरेका छ।

‘कमजोर आर्थिक अवस्था भएकाको ऋण लिनु बाध्यता हो, कमाएको सबै पैसा ब्याजमा सकिन्छ’ नगर प्रमुख कंडेलले भने ‘निमुखालाई न्याय, बिपन्नलाई आय’ अभियान थालेका हौँ।’ पहिलो चरणमा ४० जनालाई ऋण दिने योजना नगरपालिकाको छ। व्यवसायको आकार हेरेर एकदेखि १० लाखसम्म एक व्यक्तिले ऋण पाउनेछन्। उक्त ऋण तीन वर्षभित्र चुक्ता गर्नुपर्छ। दुई प्रतिशत ब्याज भने ऋण लिएका मध्येबाट असल ऋणीका लागि र उनीहरुको पेसा व्यवसाय सञ्चालनमा सहयोग गर्न तालिम, प्रशिक्षणमा खर्च हुनेछ।

ऋण लिन चाहनेले नगरपालिकाले सूचना प्रकाशित गरेपछि वडा कार्यालय मार्फत आवेदन दिनुपर्छ। पेसा व्यवसायको स्थलगत अध्ययनपछि मागसमेतलाई आधार बनाएर वडा कार्यालयको सिफारीसमा नगरपालिकाले प्रमाणित गरेपछि ऋण दिईने कार्यविधिमा उल्लेख छ। तीन वर्षभित्र ऋण चुक्ता नगरेको खण्डमा वडा र नगरबाट पाउने सबै सेवा सुविधाबाट ऋणी बञ्चित हुनेछन्। उक्त ऋण दिने सुविधाले पालुङटार नगरपालिकामा अन्यत्रबाट आयात गर्नुपर्ने खाद्यान्न घट्ने र आफैँमा आत्मनिर्भर बनाउन मद्धत नपुग्ने उपप्रमुख पम्फा बसेलले बताइन्।

जन्मने बित्तिकै एक हजारसहित बैंक खाता
पालुङटार नगरपालिकाले बच्चा जन्मिएलगत्तै शिशुको नाममा बैंक खाता खोलिदिने भएको छ। नगरभित्रका हरेक बालवालिकाको बैंकमा खाता खोलेर नगद एक हजार रुपैयाँ जम्मा गरिदिने अभियान थालेको नगरप्रमुख दिपकबाबु कंडेलले बताए।

यो सुविधा भने पालुङटार नगरपालिका भित्रका स्थायीवासीले मात्र पाउनेछन् भने बच्चा स्वास्थ्य संस्थामा जन्मेको हुनुपर्ने छ। हाल घरमै हुने असुरक्षित गर्भपतनलाई न्यूनिकरण गर्न यो अभियानले मद्धत पुग्ने अपेक्षा नगरपालिकाको छ। ‘स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरी चेतनाको स्तर बढाउन यो अभियानले मद्धत पुग्छ’ नगरप्रमुख कंडेलले भने।

५ बर्षभित्र सम्पूर्ण नगरवासीलाई बैंकको पहुँचमा पुर्‍याउने र वित्तिय साक्षरता अभिबृद्धि गराउने उदेश्यले यो अभियान चलाइएको नगर प्रमुख दीपकबाबु कडेंलले बताए। ३५ दिनभित्रै जन्मदर्ता गराउने बानीको बिकास गर्ने योजना नगरपालिकाको छ। अहिले हरेक महिना जन्मिएका बच्चा मध्ये ५० प्रतिशतले मात्रै ३५ दिनभित्र जन्मदर्ता गराउने गरेका छन्।

बैंक खाताले जन्मदर्ता समयमै गराउनेको संख्या र बानीको बिकास हुने नगर उपप्रमुख पम्फा बसेलले बताइन्। यो अभियान पालुङटार ४ बाट प्रभु बैंकमा खाता खोलेर सुरु भइसकेको छ। नगरपालिकाले चालु वर्ष १० लाख बिनियोजन गरेको मध्ये करिब चार लाख मात्रै खर्च हुने अनुमान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। यसले बैंकमा सर्वसाधारण नागरिकको पनि पहुँच पुग्ने अपेक्षा नगरपालिकाको छ।

प्रकाशित: २२ मंसिर २०७६ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App