coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तरकारीमा आत्मनिर्भर बन्ने प्रयास

खजुरा- ‘कृषि पेसा घाटामा जाँदैन । मनग्ये आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ,’ तरकारी खेतीबारे कुरा गरिरहँदा लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटार एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ । त्यो २० देखि २५ रुपैयाँमा बिक्री भए पनि एक बिघाबाट करिब १० लाख आम्दानी हुन्छ । खर्चको प्रतिशत धेरै भएर आम्दानी कम देखिएको हो । ज्याला, बीउ, विषादी, उपकरण र बजारमा सहयोग भए कृषि क्षेत्रले आर्थिक वृद्धि गर्ने तर्क राख्छन् खजुरा गाउँपालिका किसान लालबहादुर खत्री ।

खत्री अहिले ६१ वर्षका भए । खजुरा ‘ए’ गाउँमा उनको दुईतले घर छ । घरको भित्ता र रुखमा मौरीका घार छन् । घरको तल्लो तलामा एउटा माउन्टेन बाइक राखिएको छ । केही पर गएपछि बदेल, कुखुरा र बाख्राको खोर देखिन्छ । त्यसको करिब ५० मिटर पर टमाटर खेती गरिएको छ । जहाँ तीन बिघामा आधुनिक तरिकाले टमाटर खेती गरिएको छ । त्यसको नजिकै एक बिघामा आलुखेती छ । गाउँमा प्रायःले थोरै जमिनमा तरकारी खेती गर्छन् । त्यो खेती आफ्ना लागि मात्र हुन्छ ।

जमिन भएर पनि त्यसको प्रतिफल लिन नसक्नु बाँके, बर्दियालगायत तराईका थुप्रै जिल्लाका किसानको समस्या हो । बजार, उपकरण, प्रविधि अभाव नेपाली किसानले भोगिरहेका मुख्य समस्या हुन् । जसले नेपालको कृषिलाई व्यावसायिक बन्न चुनौती दिइरहेको छ । कृषि क्षेत्रमा थुप्रै चुनौती छन् । तर, चुनौतीभित्रै केही किसानले सम्भावनाको खोजी गरे । चुनौतीसँग जुध्न धेरै प्रयास गरे । लगनशील भएर आफ्नो क्षमता देखाए । चुनौतीलाई पन्छाउदाकोे परिणाम अहिले देखिन थालिसकेको छ । जसले लाल बहादुरको परिचयमा अर्को पदवी थपिदियो, ‘व्यावसायिक किसान’ ।

गाउँमा उनको परिचय बदलिरहेको छ । विगतमा कृषि पढेर जेटिए भएका थिए । केही वर्ष शिक्षक । कृषि विकास बैंकमा नाम निकालेर काम गर्न थालेपछि खजुरामा उनको परिचय बैंकर बन्यो । बैंकबाट अवकाश लिएको चार वर्ष पुगिसक्यो । अहिले उनको परिचय बाँकेमा व्यावसायिक कृषक बनेको छ ।

गाउँमा तरकारी खेतीबारे केही सिक्नु परे उनकोमा आउने गर्छन् गाउँले । बिहीबार खजुरा गाउँपालिका–२ ‘ए’स्थित उनको घरमा पुग्दा गाउँबाट केही पर पर्ने गौरिनगरमा जगत शाही र लिलकुमारी महतो भेटिए । भर्खरै तरकारी खेती सुरु गरेकी जगतले टमाटर खेतीमा किरा लागेपछि त्यसको निधानको उपाय सोधिरहेकी थिइन लाल बहादुर खत्रीसँग ।

खत्रीको बुझाइमा कृषि क्षेत्रमा अहिले व्यावसायिकताको आधार तयार हुँदैछ । भविष्यमा कृषि क्षेत्रले देशको अर्थतन्त्रलाई बलियो बनाउनेमा उनी ढुक्क छन् । त्यसका लागि आउने युवा पुस्ताले कृषिको नेतृत्व गर्नुपर्ने उनको सुझाव छ । गत वर्ष उनले १८ सय क्विन्टल टमाटर बिक्री गरे । यस वर्ष करिब २५ सय क्विन्टल टमाटर बिक्री गर्ने लक्ष्य छ । टमाटर बिक्री गर्ने क्रम सुरु भइसकेको छ । अहिले प्रतिकिलो ४० रुपैयाँका दरमा उनले नेपालगन्जमा टमाटार पुर्‍याइरहेका छन् । नेपालगन्जमा त्यही टमाटार ८०–९० रुपैयाँमा बिक्री हुन्छ । बजार भाउले मनमा पीडा हुने गरेको बताउँछन् उनी । नेपालको कृषि उत्पादन बिचौलियाका कारण मारमा परिरहेको छ । यसको नियगमन गर्ने निकाय छैन । सरकारले पनि यसमा चासो दिएको छैन । जसका कारण नेपालको अर्बौं रकम भारत र तेस्रो मुलुक गइरहेको छ ।

खत्रीजस्तै केही मिहेनती किसानले बाँकेलाई तरकारीमा आत्मनिर्भर बन्न सघाइरहेका छन् । खत्रीका अनुसार तरकारीमा उनको गाउँ मात्र होइन नेपाल आत्मनिर्भर हुँदैछ । खत्रीको भनाइलाई जिल्लास्थित कृषि कार्यालयको तथ्यांकले पनि पुष्टि गर्छ ।

चार वर्षअघि बाँकेको कुल जनसंख्या चार लाख ९१ हजार तीन सय १३ रहेको थियो । प्रतिव्यक्तिलाई दैनिक तीन सय ग्राम तरकारी चाहिन्छ । यो अनुपातमा दैनिक बाँकेको जनसंख्यालाई १४७.३९ मेट्रिक टन तरकारी चाहिन्छ भने वार्षिक ५३ हजार सात सय ९७ मेट्रिक टन तरकारी आवश्यक पर्छ । बाँकेमा अहिले ६ हजार सात सय २९ हेक्टर जमिनमा तरकारी खेती गरिने गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार उक्त जमिनमा ७४ हजार १३ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । उत्पादित तरकारी जिल्लामा खपत गरेर पनि बाहिरी जिल्ला निर्यात गरिन्छ । हाल जिल्लाका लागि आवश्यक ५३ हजार सात सय ९७ मेट्रिक टन खपत गरेर उत्पादित बाँकी २० हजार दुई सय २१ मेट्रिक टन तरकारी बाहिरी जिल्लाका साथै भारतीय बजारसम्म निर्यात हुने गरेको कृषि विकासको तथ्यांकले देखाएको छ । र यो बढ्दो क्रममा छ ।

उत्पादन बढ्दै गए पनि किसानका समस्या भने घटेका छैनन् । नेपाली उत्पादनले भारतीय बजारसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । भारतमा किसानलाई पानी निःशुल्क उपलब्ध छ । बीउ, मल, उपकरण र बजारमा सरकारले सहयोग गरेको छ । किसानको लागत खर्च कम छ । उत्पादन धेरै हुन्छ । नेपाली बजारमा पनि भारतीयकै प्रभाव छ । यसको प्रत्यक्ष मारमा छन् सीमावर्ती क्षेत्रमा कृषि पेसामा संलग्न । बिहानै भारतीय बजारबाट साइकल, रिक्सा, टोकरीमा तरकारी ल्याएर बिक्री गरेको देखिन्छ । भन्सार नतिरी ल्याइएको उक्त तरकारीमा अत्यधिक विषादी हुने गरेको हुन्छ ।

भारतीय बजारसँग प्रतिस्पर्धा गरेर पनि नेपालका केही किसानले राम्रो आम्दानी गरिरहेका छन् । सरकारले संरक्षण दिए कृषिमा आत्मनिर्भर हुन सकिने लालबहादुर बताउँछन् । ‘नेपाली किसानको प्रमुख समस्या बजार नै छ । बिचौलियाको हातमा छ बजार,’ खत्री भन्छन्, ‘किसानले सहि मूल्य पाउँदैनन् । बिचौलियाले ठ्याक्कै आधा रकम एक दिनमा आम्दानी गर्छन् । उपभोक्ताले महँगोमा किन्नु परेको छ । सरकारले सहयोग गरे नेपाल छिट्टै तरकारीमा आत्मनिर्भर हुनसक्छ ।’

बजारमा देखिएका समस्या पन्छाउँदै जाने हो भने कृषि क्षेत्रले खजुराका जनताको भविष्य उज्ज्वल देखिन्छ । खत्री भन्छन्, ‘युवा कृषिमा आउनुपर्छ । विदेश गएका युवालाई कृषिमा लगाउन सक्नुपर्छ । सरकारले सकेजति गर्न सकेको छैन । तर बाटो कोरेको छ । भविष्यमा राम्रो हुनेछ । त्यसका लागि किसानले व्यावसायिक सोचका साथ मिहेनत गर्न छाड्न हुन्न ।’
 

प्रकाशित: २२ मंसिर २०७६ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App