६ वैशाख २०८१ बिहीबार
अर्थ

पानी परीक्षण गर्ने मिनी ल्याब सञ्चालन

नुवाकोट - नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त देश बनाउने राष्ट्रिय लक्ष्यलाई टेवा पु-याउन वातावरण जनस्वास्थ्य संस्था (एन्फो) तथा डिकोन नेपालद्वारा विदुरमा पानी परीक्षण गर्ने मिनी ल्याब सञ्चालनमा ल्याएको छ। सर्वसाधारणले प्रयोग गर्ने पानीको मुहान, संकलन ट्यांकी, धारा तथा कुवाको पानीको गुणस्तर जाँच गराउन जिल्लामै पहिलो पटक मिनी ल्याब सञ्चालनमा ल्याइएको हो। उक्त ल्याबमा खानेपानी परीक्षण सम्बन्धी तालिम प्राप्त प्राविधिकद्वारा पानी परीक्षण गरिने र नेपाल सरकारको खानेपानी गुणस्तर मापदण्ड अनुसारको २७ प्रकारको गुणस्तर परीक्षणमध्ये प्रमुख १३ प्रकारका सेवा उपलब्ध गराइने डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्यले बताए।

शाक्यका अनुसार पानीको धमिलोपन, पिएच रंग, फलाम, क्लोराइड, नाइट्रेड, कडापन, एमोनिया, क्याल्सियम, म्याग्नेसियम, क्लोरिन अवशेष, इ–कोली र कोलफर्म उक्त ल्याबमा परीक्षण गरिनेछ। ‘प्रत्येक नागरिकले उपभोग गर्ने पानी कम्तिमा पनि वर्षमा दुई पटक परीक्षण गर्नुपर्छ भन्ने छ। तर, जिल्लामा पानी परीक्षण गर्ने ल्याव नहुदा समस्या हुदै आएको थियो। मानव स्वास्थ्यमा केही समस्या आएमा र पानी परीक्षण गर्नुपरे राजधानीसम्म धाउनुपर्ने अवस्था थियो। समय लाग्ने र खर्च बढी लाग्ने हुँदा पानी परीक्षण गर्न खासै अभ्यास देखिएन,’ शाक्यले भने, ‘पूर्ण सरसफाइयुक्त देश बनाउने लक्ष्यमा रहेको छ सरकार।

वातावरण सफा हुनुअघि मानव स्वास्थ्य स्वस्थ हुनु आवश्यक छ। स्वच्छ पानीले मानिसलाई स्वस्थ राख्न सहयोग गर्छ। त्यसैले जिल्लाका सबै नागरिकलाई पानीको परीक्षण गराउन आग्रह गर्दै ल्याबसमेत सञ्चालनमा ल्याएका हौं।’ घरायसी प्रयोजनका लागि १३ प्रकारकै सेवा लिएमा एक हजार १५ सय, उपभोक्ता समितिका लागि एक हजार ६ सय र व्यवसायी संघसस्था तथा कार्यालयका लागि एक हजार सात सय रुपैयाँ शुल्क लाग्नेछ। विशेषगरी पानीको आधारभूत तीन प्रकारका कोलिफर्म, एमोनिया र फलाम परीक्षण गरेमा  घरायसी प्रयोजनलाई दुई सय ५०, उपभोक्ता समितिलाई तीन सय र व्यवसायी संघसस्था तथा कार्यालयका लागि तीन सय ५० रुपैयाँ शुल्क लाग्नेछ।

मिनि ल्यावले प्रदान गर्ने सेवा औपचारिक रुपमा सुरु भएको जानकारी गराउन आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले हरेक नागरिकले स्वच्छ पानी उपभोग गर्न पाउनु अधिकारको कुरा भएकोले आफूले कस्तो पानी पिइरहेको छु भन्ने जानकारी गराउन समेत सहयोग पुगेको बताए। उनले जिल्ला वाहिरका नागरिकहरु नुवाकोट भित्रदा स्वच्छ पानी उपभोग गर्न पाइन्छ भन्ने आभास दिलाउनु पर्ने बताएका छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App