२७ श्रावण २०७७ मंगलबार
अर्थ

बाख्रापालनमा रमाउँदै काका भतिजा

बाख्रा हेरचाह गर्दै पराजुली कृषि तथा बाख्राफर्मका सञ्चालक सन्तोष पराजुली र नविन पराजुली । तस्बिर:दमन राई/नागरिक

खोटाङ – सेवा सुविधाको खोजीमा सहर पसेका मानिस हत्तपत्त गाउँ फर्कन चाहँदैनन्। तर, खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा कमेरेगाउँका सन्तोष पराजुली र नविन पराजुली तराईबाट गाउँ फर्किएर बाख्रापालनमा व्यस्त बनेका छन्।

सहरबाट गत वर्ष गाउँ फर्किएका काका सन्तोष र भतिज नविन हाल कमेरेगाउँमा बोयर र खरी जातको बाख्रापालनमा रमाइरहेका छन्। परम्परागत तरिकाले बाख्रापालन गर्दै आएको पराजुली काका भतिजले दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पाँच लाख उपलब्ध गराएपछि गत चैतमा पराजुली कृषि तथा बाख्राफर्म स्थापना गरेर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।

गाउँपालिकाको अनुदानबाट एउटा बोयर जातको बीउ बोका ल्याएर उनीहरुले बोयर जातकै पाठापाठी उत्पादन गरिरहेका छन्। हाल उनीहरुको व्यवस्थित खोरमा खरी जातको माउ बाख्रा, खरी जातकै बोकालगायत गरी ७० बाख्रा पालिएका छन्। त्यस्तै बोयर जातको २० वटाभन्दा बढी पाठापाठी बिक्रीका लागि तयार भएको छ। बोयरका केही पाठापाठी बिक्री गर्न थालिएको सन्तोषले बताए। बोयरको पाठापाठी प्रतिकिलो एक हजार पाँच सय रुपैयाँका दरले बिक्री भइरहेको पराजुली परिवारले जनाएको छ। विभिन्न ठाउँबाट बोयर जातका पाठापाठीको माग आउन थालेको छ।

नविन उदयपुरको गाईघाटमा बसाइ सरेको १२–१३ वर्षपछि गाउँ फर्किएका हुन्। विराटनगर पुष्पलालचोक बस्दै आएका उनका काका सन्तोष पनि पाँच वर्षपछि गाउँमा फर्किएका हुन्। त्यसबीचमा नविनले आठ–नौ वर्ष कतारमा बिताए। सन्तोषले पनि सात वर्ष दुबईमा बिताए। वैदेसिक रोजगारीमा लामो समय विदेशमा रहेका काका भतिज आफ्नै गाउँमा बाख्रापालन गर्ने निश्कर्षमा पुगेका हुन्। ‘सबैलाई गाउँमा केही गर्न सकिन्न। विदेश वा सहर नै जानुपर्छ भन्ने धारणा छ। जसका कारण गाउँका खेतीयोग्य जमिन बाँझिइरहेको छ,’ नविनले भने, ‘बाँझिएको जग्गा जमिनलाई सदुपयोग गरेर गाउँमै आम्दानीमुलक काम गरौं भन्ने सल्लाह गरेर तराईबाट गाउँ फर्किएका हौं।’

व्यावसायिक बाख्रापालनका लागि उनीहरुले तीनतिर बरन्डा, भित्र ठूलो हल, बोका र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठा भएको घरजत्रै व्यवस्थित खोर बनाएका छन्। गाउँपालिकाको पाँच लाखसहित १० लाख लगानीमा सुरु गरिएको बाख्रापालनमा हालसम्म २० देखि २१ लाख खर्च भइसकेको छ। ‘सहरभन्दा गाउँमा सम्भावना छ। गाउँमा नहुने केही छैन,’ नविनले भने, ‘श्रम गरे गाउँमै आयमुलक काम गर्न सकिन्छ भनेर अरु युवालाई पनि शिक्षा दिने हाम्रो जोड हो।’
बाँझिएको जग्गा कजाउन नविन परिवारलाई छाडेर एक्लै गाउँ आएका छन्। सन्तोष भने श्रीमतीसहित गाउँ आएका हुन्। तीनजना कमेरेगाउँमा सँगै बस्छन्। बिहानदेखि बेलुकासम्म बाख्रालाई खोलेपानी दिन, घाँस हाल्न र घाँस काट्नमै उनीहरु व्यस्त हुन्छन्। पराजुली परिवारले सुधारिएको मलखादमा जम्मा गरिएको बाख्राको मललाई तरकारी खेतीमा उपयोग गरिरहेका छन्। बाख्राको मल उपयोग गर्न सुन्तला र कागती खेती पनि विस्तार गरेका छन्।

उनीहरुले खोरको जमिनमा ढलान गरेर खसीबाख्राको मुत्र संकलन गर्ने र तरकारी खेतीमै उपयोग गर्ने तयारी गरिरहेको बताए। बाख्रापालनका लागि उनीहरुले नेपियर, स्टाइलो, सुडान, किम्बु, पटमिरो, एपिल, बकाइनोलगायत प्रजातीका घाँस खेती पनि लगाएका छन्। ‘बाख्रापालनलाई व्यवस्थित गर्न थप ५०–६० रोपनी जग्गामा घाँसखेती गर्ने तयारी गरिरहेका छौं,’ सन्तोषले भने, ‘यसका लागि सिँचाइ पोखरी निर्माणको काम भइरहेको छ।

त्यस्तै गाउँपालिकाकै अनुदानमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सुनगाभा कृषि तथा पशुपालन फर्मले पनि बोयर जातको बाख्रा उत्पादन गरिरहेको छ। बाख्रापालनमा किसानलाई आत्मनिर्भर बनाउनका लागि अन्य पाँच कृषक समूहलाई पनि बोयर जातको बीउ बोका वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। गाउँपालिकाले याम्खाको हरियाली कृषक समूह, छोरम्बुको जनजागरण कृषक समूह, बतासेको हरियाली कृषक समूह, सछितापोखरीको तृतियाभञ्ज्याङ कृषक समूह र टेम्माको सकृय सहभागिता कृषक समूहलाई हेटौंडाबाट बोयर जातको बोका ल्याएर वितरण गरेको थियो।

 

प्रकाशित: १५ मंसिर २०७६ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App