२३ जेष्ठ २०७७ शुक्रबार
अर्थ

रेशमकिरा खेतीमा आकर्षण घट्यो

धादिङ – एक समय रेशमकिरा खेतीका लागि निकै चर्चित धादिङ जिल्लामा त्यसको आकर्षण घट्दै गएको छ। व्यावसायिक रुपमा रेशमखेती गरिँदै आए पनि पछिल्ला वर्ष रेशम खेतीमा आकर्षण सून्य बनेको छ।

सयौं किसानले रेशम किराको खेती गरेर जीविकोपार्जन मात्रै चलाएका थिएनन् व्यावसायिक रुपमा रेशमकिरा खेती गरेर लाखौं कमाएका समेत थिए। तर २०७२ को विनाशकारी भूकम्पपछि रेशमकिरा खेती गर्ने किसान सून्य अवस्थामै पुगेका छन् भने यो खेती गर्नको लागि किसानहरुमा पनि आकर्षण घटेको छ।

थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भए पनि यस व्यवसायलाई अगाल्ने किसानह विविध कारणले अन्य पेसातर्फ लागेर किसानको संख्या घट्दै गएको छ। यसमा अन्य व्यवसायजस्तो आम्दानीको स्तर नबढेका कारण किसान अन्य पेसा व्यवसायमा लाग्ने गरेका छन्।

सेवाग्राही नै नहुँदा कर्मचारी फुर्सदिला

सरकारी प्रोत्साहन र किसानको पनि दृढ संकल्प नहुँदा रेशम खेती ओझेलमा पर्दै गएको किसान बताउँछन्। किसानलाई आवश्यक प्राविधिक सहयोग र अनुदान एकदमै न्यून हुँदा रेशम खेती संकटमा पर्न थालेको किसानहरुको भनाइ छ।

सरकारले रेशम खेती प्रवद्र्धनका लागि धादिङको धुनीवेसी नगरपालिकामा स्थापना गरेको ‘रेशम किरा प्रजनन् पिढी विज कोया स्रोत केन्द्र’समेत कामबिहीन बनेको छ। स्रोत केन्द्रका कर्मचारीसमेत पर्याप्त काम नपाएर फुर्सदिला भएका छन् भने केन्द्रमा रहेको करोडौंको संरचनासमेत प्रयोगविहीन बनेको छ।

केन्द्रले रेशम किराको खेती गर्न चाहने किसानका लागि लार्भा उपलब्ध गराउने, किराका लागि आवश्यक पर्ने किम्बु नर्सरी राख्न सहजीकरण गर्ने तथा प्राविधिक सहयोग उपलब्ध गराउने काम गर्दछ तर, सेवा लिनका लागि कोही किसान नै नआउने भएपछि कर्मचारीसमेत फुर्सदिला बनेका छन्। एकै सिजन धादिङ जिल्लामा ११ टनसम्म कोकुन (कोया) उत्पादन हुने ठाउँमा अहिले वार्षिक रुपमा पनि मुस्किलले ५० देखि ७० किलोसम्म मात्रै उत्पादन हुने गरेको छ।

कुनै समय धादिङको सलाङ नलाङ र भल्टार क्षेत्र रेशम किराको खेतीका लागि प्रख्यात  थियो। अहिले केन्द्रको सम्पर्कमा धादिङ जिल्लाका १० किसान रहे पनि उनीहरु कसैले पनि यो सिजन रेशमकिराको खेती नगरेको प्रजजन पिढी वीज कोया स्रोत केन्द्रका प्रमुख बाली संरक्षण अधिकृत गोविन्द पोखरेलले बताए। ‘विनाकाशकारी भूकम्पपछि यो खेती ठप्पै भएको छ,’ उनले भने, ‘नुवाकोटमा केही किसानले अझै खेती गरिरहेका छन् भने धादिङमा पनि आउदो सिजनदेखि सुरु हुन्छ।’

२०७२ सम्म धादिङका किसानले यसको व्यावसायिक खेती गर्दै आएका थिए।  भूकम्पका कारण किरापालन गर्दै आएका किसानको किरा पाल्ने घर भत्किएको, किरा सबै मरेको जस्ता समस्याले गर्दा पुनः किरापालन गर्न सुरु गर्न नसक्ने अवस्था भएपछि अहिले स्रोत केन्द्र नै संकटमा परेको छ।

बजारीकरणको समस्या, दुःख अनुसार नाफा नहुने, सरकारको नीति नियममा पनि रेशमखेतीका लागि अनुदान लगायत अन्य सहयोग नपाउने हुन थालेपछि यो खेती गर्दै आएका किसान अन्यत्रै मोडिएका हुन्। कपडा उद्योगका लागि धागो उत्पादन गर्ने भए पनि रेशमखेती गरेर उत्पादित धागोले आयातित धागोसँग प्रतिस्पर्धा गर्न नसक्दा यो खेती गर्ने किसान घट्दै गएका हुन्।

नुवाकोट र धादिङ जिल्लामा रेशम खेती प्रवद्र्धनका लागि स्थापना गरिएको स्रोत केन्द्रले अहिले दुई जिल्लामा गरी करिब ४५ किसानलाई सेवा दिँदै आएको छ। हाल धादिङ जिल्लामा रेशम किराको कोकुन (कोया) उत्पादन वार्षिक मुस्किलले ५० देखि ७० किलो मात्रै छ। पाँच वर्षअघि एकै सिजनमा ११ टनसम्म कोकुन उत्पादन हुने गरेको थियो।

रेशम किरालाई किम्बुको पात ख्वाई पालिने हुँदा रेशम किरापालन सुरु गर्नुभन्दा डेढ–दुई वर्ष पहिलेदेखि रेशम किराले खाने आहारको रुपमा किम्बुको खेती गर्नुपर्छ। किम्बु खेती गर्दा सर्वप्रथम बिरुवा उत्पादन गर्नुपर्छ। किम्बु नर्सरीका लागि सरकारले ५० प्रतिशतसम्म अनुदान दिने गरेको भए पनि किसानले चासो दिन छाडेपछि रेशमखेती नै संकटमा परेको हो।

नेपालमा रेशम खेतीको विकास कार्य २०३२ देखि कृषि विभागअन्तर्गत व्यावसायिक किट विज्ञान आयोजनाको रुपमा थालनी गरिएको थियो। तराई क्षेत्रमा यसका लागि करिब १००–७५० मिटर र पहाड सात सय ५० मिटरदेखि एक हजार पाँच सय मिटरमा अवस्थित भूभागमा उपयुक्त मानिएको छ। रेशम खेतीका लागि चाहिने मिल्दो वातावरण तथा उपयुक्त भुभाग हुँदाहुँदै पनि हाम्रो देशमा यसको खेती र व्यवसाय फस्टाउन सकिरहेको छैन।

सरकारले रेशम खेती गरी ग्रामीण क्षेत्रका किसानको आयस्तर उकास्नका लागि लाखौं रकम खर्चिदै आएको भए पनि धादिङमा भने अन्य खेतीको तुलनामा यो खेती खासै प्रभावकारी नभएको पाइएको छ।

प्रकाशित: ९ मंसिर २०७६ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App